सम्पादकीयआइतबार, भाद्र १६, २०७०
वैद्यको खतरनाक बाटो
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र सरकारपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्रबीचको वार्ता नाटकीय रूपमा असफल भएपछि मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशवादी सहित अधिकांश दलको ४ मंसीरको निर्वाचनप्रतिको अडान व्यावहारिक रूपमै प्रकट भएको छ भने वैद्य नेतृत्वको माओवादी सहितको ‘३३ दल’ निर्वाचन भाँड्ने घोषणा गरेर राष्ट्रपतिसँग परिस्थिति सम्हाल्न आग्रह गर्न पुगेका छन् ।
नाममा धेरैको विमति रहे पनि वैद्य माओवादीले उठाएको ‘गोलमेच’ प्रकृतिको राजनीतिक सम्मेलनमा आम सहमति जुटेको वेला वार्ता किन असफल भयो भनेर अहिले खोजी हुन थालेको छ । जबकि, गत संविधानसभाले संविधान बनाउन नसकेको पृष्ठभूमिमा संविधानको अन्तर्वस्तुमा सहमति गरेर निर्वाचनमा जाने सहमति दलहरूबीच लगभग बनिसकेको थियो । वार्तालाई नजिकबाट नियालेकाहरू गोलमेच नहुँदै तुहिनुमा वैद्यको प्रस्तुति स्वतन्त्र नदेखिनुलाई कारण बताउँछन् । उनी आफ्नै केही सहकर्मीहरूको अति महŒवाकांक्षामा बाँधिएको वार्तामा प्रष्टै देखिएको पनि उनीहरूको भनाइ छ । उनको प्रस्तुतिमा निर्वाचनप्रतिको प्रतिबद्धता नदेखिएर मुलुकलाई लामो समय चुनाव विहीनतामा फँसाउने आशय स्पष्ट रूपमा झ्ल्केको उनीहरूको भनाइ छ ।
संविधानसभाको निर्वाचनअघि नै भावी संविधानका अन्तर्वस्तु स्पष्ट हुनुपर्ने उनले भने पनि त्यसो गर्ने प्रक्रियाबारे स्पष्ट पार्न नसकेकाले उनका भनाइ अरूलाई जायज लागेनन् । ‘गोलमेच’ सम्मेलनलाई अन्तरिम व्यवस्थापिका बनाउने उनको ‘ट्याक्टिस’ बुझ्निे गरी प्रकट भएकाले पनि उनीप्रति अविश्वास बढायो । निर्वाचनप्रति कुनै पनि प्रकारको प्रतिबद्धता नदेखिंदा वैद्य माओवादी ट्याक्टिकल मात्र रहेको अरूको बुझइ बन्यो र वार्ता असफल भयो ।
संविधानसभाको निर्वाचनमा कुनै पनि उल्लेखनीय शक्तिलाई बाहिर राख्नुहुँदैन भन्ने मान्यताका कारण वैद्य माओवादीलाई अरू दलले गनेका हुन् । ४ मंसीरका लागि तय भएको निर्वाचनको मितिलाई वार्ताको विषय बनाउन अरू दल तयार हुनुको कारण पनि त्यही हो । संविधानसभाको चुनाव आउन तीन महीना बाँकी हुँदा पनि वार्ता जारी राख्न अरू तयार भएको अन्य धेरै कारणले होइन । तर, ‘गोलमेच’ को तयारीका लागि भएको वार्तामा वैद्यले आफ्नो उद्देश्य छरपस्ट पारेपछि अरू दलसँग वार्ता भंग गर्नुको विकल्प बाँकी रहेन । जसले, सबैभन्दा बढी वैद्य र उनको पार्टीलाई हानि पुग्ने देखिन्छ ।
वाम राजनीतिबारे जान्नेहरू वैद्यको राजनीतिक जीवनमा अहिले २७ वर्षअघिको ‘सेक्टर काण्ड’ दोहोरिएको बताउँछन् । उनका अति महŒवाकांक्षी कनिष्ठ सहकर्मी पुष्पकमल दाहालको षड्यन्त्रको उपज थियो, सेक्टर काण्ड । जसले, वैद्यलाई नेतृत्वबाट बलपूर्वक बढारेको थियो । अहिलेको गोलमेच काण्ड झ्ण्डै त्यस्तै देखिएको छ । फरक कति मात्र छ भने त्यो वेला उनी दाहालको षडयन्त्रको शिकार भएका थिए, अहिले अर्का कनिष्ठ सहकर्मी नेत्रविक्रम चन्दको शिकार बनेका छन् ।
गोलमेचको असफलताले उनलाई पार्टी नेतृत्वबाट बढार्ने खतरा बढाएको छ । तर, सार्वजनिक विश्वसनीयता गुम्नु उनका लागि त्योभन्दा ठूलो खतरा हुनेछ । त्यही महसूस गरेर हुन सक्छ, पार्टीमा हावी रहेका सचिव चन्द चीन लागेको मौका पारेर वैद्य वार्तामा फर्कन खोजेका छन् । तर, अघिल्लो पटक जसरी नै यो पटक पनि स्वतन्त्र रूपमा आफ्नो कुरा राख्न नसक्ने हो भने न उनले वार्ताको प्रयास थाल्नुको कुनै अर्थ हुनेछ, न त उनीसँग अरू बस्नुको नै औचित्य हुनेछ ।
त्यसैले, वैद्यले आफ्नो विश्वसनीयता पुनः निर्माण गर्न अब वार्ता केका लागि, निर्वाचनप्रतिको प्रतिबद्धता र संविधानसभा निर्वाचन अघि भावी संविधानका कुन कुन विषयमा सहमति गर्ने जस्ता विषयमा अवधारणा सार्वजनिक गर्नु आवश्यक छ । ती विषयमा उनीबाट लिखित अवधारणा सार्वजनिक भयो भने मात्र वार्ता अर्थपूर्ण र फलदायी हुनेछ । र, मुलुकले पनि निकास पाउनेछ । नभए, वैद्य राजनीतिक विश्वसनीयता गुमाउँदै नेपाली राजनीतिका लागि सम्झ्नाको पात्र मात्र बन्नेछन् ।
१६-२३ भदौको साप्ताहिक खबरपत्रिका हिमालबाट