रमझमआइतबार, भाद्र १६, २०७०
कमाउने तमासा
काठमाडौं जेसिसले सन् १९९४ मा मिस नेपाल आयोजना गरेपछि शुरु भएको सौन्दर्य प्रतियोगितामा अहिले मिस ग्लोबल, मिस ई–कलेज, मिस राई, मिस एसएलसी प्रिन्सेस, मिस टीन, मिस टीन इन्टरनेशनल, मिसेस तीज, तीज क्वीन, किड क्वीन, मिस नेवा, मिस बलामी, मिस तमु, मिस उर्लाबारी लगायतका होडबाजी थपिएका छन् ।
इभेन्ट अर्गनाइजरदेखि कन्सल्टेन्सी र कलाकेन्द्रसम्मले वार्षिक १०० जति सौन्दर्य प्रतियोगिता गर्न भ्याउन थालेका छन् । कमाउन पाइने भएकैले यस्ता प्रतियोगीता फस्टाएका हुन् ।
सौन्दर्य प्रतियोगिताबाट व्यक्तित्व विकास हुने, आत्मविश्वास बढ्ने विश्वास गरिन्छ । नेपालमा भने प्रतिभा प्रस्फुटनदेखि करिअर विकाससम्मका नारा दिएर अबोधहरूलाई पनि प्रतियोगितामा सामेल गरेर अभिभावकबाट रकम हत्याइन्छ ।
‘बच्चाको लागि’ भन्दै अभिभावकहरूले पनि मरिहत्ते गर्ने भएकाले आयोजकहरू बढेका छन् । यस्ता उत्साही अभिभावकहरू टिकट बेच्ने, एसएमएस भोटिङ गर्ने लगायतका काममा धुमधाम खट्छन् । “अहिले भइरहेका कार्यक्रमहरूमा कमाउने धन्दा मात्र देख्छु”, पहिलो मिस नेपाल रुवी राणा भन्छिन्, “सौन्दर्यको नाममा यस्तो बद्मासी रोकिनुपर्छ ।”
कसरी कमाउँछन् ?
गत १ असारमा भएको एसएलसी प्रिन्सेस २०१३ का ४४ जना सहभागीबाट आयोजक सिजन मिडियाले जनही रु.१० हजार ५०० का दरले रु.४ लाख ६२ हजार शुल्क उठायो । वार्षा कलेज प्रमुख प्रायोजक रहेको प्रतियोगितामा नोवेल, नासा, रेडर्न लगायतका कलेजहरू सह–प्रायोजक थिए ।
यस्ता प्रतियोगितामा आयोजकहरूले सहभागीबाट विभिन्न शीर्षकमा रु.२५ हजारसम्म असुल्छन् । यो भन्दा ठुलो रकम ताजको मोलमोलाईबाट आउँछ । ताजको भित्री चलखेलमा कतिसम्म लेनदेन भयो भन्ने कुरा आयोजक र ताज किन्नेलाई मात्र थाहा हुन्छ । मिसेस नेपाल २०१२ की सहभागी कविता गुरागाई यस्तो खेलले धेरैलाई मूर्ख बनाउने गरेको बताउँछिन् ।
मिस टीन इन्टरनेशनल. २०१३ की एक प्रतियोगी प्रतिभा देखाउने भन्दा पनि कसरी टिकट बेच्ने, फलानो इभेन्टको पैसा कसरी तिर्ने भन्ने तनाव बढी दिइने बताउँछिन् । उनका अनुसार, बढी पैसा जम्मा गर्नेले राम्रो टाइटल र सौदाबाजी गर्नेले ताज पाउँछन् ।
मिस टीन इन्टरनेशनल आयोजक सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त भने तालीममा खर्च गर्नका लागि मात्र सहभागीबाट लिइएको बताउँछन् । वन्तको दावीमा, बाहिरबाट हेर्दा कमाउ जस्तो देखिए पनि एउटै कार्यक्रममा रु.७ लाखसम्म खर्च हुन्छ । “पैसा लिएर ताज दिनेहरूका कारण हामी जस्ता ‘फेयर’ कार्यक्रम गर्नेहरू समस्यामा छौं,” वन्त भन्छन् ।
गत वर्षको मिस तामाङ प्रतियोगितामा सुमी मोक्तानलाई ताज पहि¥याइदिने भन्दै साधना कला केन्द्रका मिलन मोक्तानले सुमीका बुबा सन्तवीरबाट मोटो रकम लिएको चर्चाले व्यापकता पाएको थियो ।
सन्तवीरले सबै प्रतियोगीलाई हेलिकप्टरबाट बौद्ध, स्वयम्भू घुमाउँदै टुँडिखेल उतारेको खर्च पनि बेहोरेका थिए । ताज सुमीले नै जितिन् पनि, तर अन्य प्रतिस्पर्धीका आफन्तहरूले गुदी कुरा थाहा पाएपछि प्रतियोगिता विवादित बनेको थियो ।
गत वर्षको मिस्टर एण्ड मिस काठमाडौंमा पैसाको चलखेल भएको भन्दै प्रतियोगीहरूले कार्यक्रमस्थल तोडफोड गरेका थिए । दुई वर्षअघिको मिस्टर नेपाल प्रतियोगितामा रु.५ लाखमा आयुष्मान घिमिरेलाई उपाधि बेचेको भन्दै अरु प्रतियोगीहरु भिडन्तमा उत्रिएपछि प्रहरी हस्तक्षेप भएको थियो । गत वर्षको मिस राईमा आयोजकले विजेतासँग पैसा लिएको भन्दै अरु प्रतियोगीहरूले पत्रकार सम्मेलन नै गरे ।
अर्थहीन प्रतियोगिता
साधना कलाकेन्द्रका मिलन मोक्तान, इप्लानेटका सन्तोष सापकोटा, एक्पोज नेपाल डटकमका दिनेश शाही, नेप्लिज काउन्सिलका दीपेन्द्र रत्न शाक्य, नेप्लिज फेसन होमकी हेमा मानन्धर, सिजन मिडियाका वन्त, दीपक घिमिरे सौन्दर्य प्रतियोगिताका अहिलेका चर्चित आयोजक हुन् । उनीहरू वर्षमा एक दर्जनसम्म प्रतियोगिता गर्छन् । अभिभावकहरूको लगानीमा कोही त एउटै कार्यक्रममा चार वटासम्म प्रतियोगिता भ्याउँछन् ।
मिलनले २६ साउनमा मिस ब्युटी क्वीन सहित तीन वटा ‘प्याजेन्ट’ गरे । त्यसको केहीअघि सन्तोषले एकै दिन मिसेस नेपाल, लिटिल मिस नेपाल, मिस टीन इन्टरनेशनल र मिस इन्टरनेशनल गरे । कसैको नियन्त्रण नभएपछि प्रतियोगीको भन्दा यस्ता आयोजकहरूको प्रतिभा प्रस्फुटन भइरहेको देखिन्छ ।
‘नेम र फेमको लागि गरिने’ प्रतियोगितामा ताज जितेका भनिएकाहरू त्यसपछि कता हराउँछन्, पत्तो हुँदैन । यसले सौन्दर्य प्रतियोगिताहरूमा बढेको लगानी अर्थहीन भएको देखाउँछ ।
‘भित्री पाटो कुरुप छ’
कविता गुरागाई (मिसेस नेपालकी सहभागी)
सुन्दरी प्रतियोगिताहरूको बाहिरी रूप मात्र राम्रो हुँदोरहेछ । यस्ता प्रतियोगिताहरू आयोजकले पैसा कमाउने ‘प्लेटफर्म’ मात्र भएका छन् । प्रतियोगिताअघिको २०/२२ दिनको प्रशिक्षणमा को कति प्रतिभाशाली छ, सबैलाई थाहा हुन्छ, तर पैसा नचुहाउनेहरूलाई टपटेनबाटै फ्याँकिन्छ । जसले बढी पैसा दिन्छ, ताज उसको हुन्छ । पैसा दिन र टिकट बेच्न नसक्नेहरूको काम छैन ।
हामी प्रतियोगितामा सहभागी हुँदा शुरुमै रु.२५ हजार तिरेका थियौं, तर त्यसपछि पनि विभिन्न बहानामा पैसा असुलियो । ‘चित्त नबुझे पनि कार्यक्रमस्थलमा केही गर्दिनँ, गरें भने क्षतिपूर्ति दिन्छु’ भनेर कागज पनि गराउँदा रहेछन् ।
आयोजकले ‘जज’ लगायत सबैलाई मूर्ख बनाउँछन् । ‘जज’हरूलाई फलानोलाई फलानो प्रश्न सोध्न भनिंदोरहेछ । हामी जिल्ला प्रशासन कार्यालयसम्म पुग्यौं, तर अनैतिकहरूसँग केही लागेन ।
साप्ताहिक खबरपत्रिका हिमालबाट