टिप्पणीआइतबार, भाद्र १६, २०७०

यसकारण गोलमाल

mumaram Khanal

गोलमेच सम्मेलनको प्रक्रिया, विधि र मापदण्डको पाँचबुँदे तयारीपत्र सहित राजनीतिक समितिसामु पुगेको नेकपा–माओवादीलाई ‘यू–टर्न’ गराए पनि निर्वाचनको विषयमा सुल्टो प्रगति भएको छैन । बरु, माओवादीलाई बाहेक पारेर निर्वाचन गर्न नसकिने राजनीतिक परिस्थिति सघन बन्दैछ । आखिर किन भाँडियो गोलमेच ? को हुन् गोलमेच भाँड्ने प्रमुख अभियन्ताहरू ?

अन्तर्राष्ट्रिय शक्ति
आन्तरिक राजनीतिज्ञहरूले हैसियत र आत्मबल गुमाउँदै जाँदा अन्तर्राष्ट्रिय शक्तिहरू हावी हुनु स्वाभाविकै हो । यसै पनि कमजोर राष्ट्रको संक्रमणकालीन राजनीतिक व्यवस्थापन पूर्ण स्वतन्त्र रहने विश्व परिस्थिति अहिले कहीं पनि छैन । नेपालस्थित अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूका गतिविधि भने ४ मंसीरको निर्वाचन प्रतिकूल देखिएको छैन । १२ बुँदे सहमतियता कुनै न कुनै ढंगले नेपालको राजनीतिक प्रक्रियामा सक्रिय रहँदै आएको भारत र अवलोकन गरिरहेका अन्य राष्ट्रहरू गोलमेच सम्मेलनको भने विपक्षमा छन् ।

नेपालको राजनीतिक मामिलामा अन्तर्राष्ट्रिय समुदायले मूलतः भारतीय आँखाले ठम्याएको बाटो पहिल्याइरहेको छ । नेपालको आन्तरिक राजनीतिक शक्ति–सन्तुलनमा भारत र चीनको तुलनामा अरू राष्ट्रको प्रभाव नगण्य हुन्छ । जहाँसम्म भारत र चीनको कुरा छ, नेपालमा उनीहरूको चासोको चर्चा गर्दा भारतीय चासो नै प्रमुख बन्न जान्छ । गोलमेचको कारणबाट घर्किंदै जाने निर्वाचन मितिप्रति सशंकित भारतले गोलमेच भनेकै चुनाव सार्ने अस्त्र हो भन्नेमा विश्वस्त बनेर त्यसलाई अवरुद्ध पार्न राजनीतिक दलभित्र दबाब बढाउँदै लग्यो ।

वैद्य माओवादीलाई भारतले आफ्नो विरोध बाहेक अरू कुनै राजनीतिक एजेण्डा नभएको शक्तिको रूपमा मूल्यांकन गरेको छ । त्यसैले, माओवादीकै कारणबाट निर्वाचन सार्ने त परै जाओस् कुनै पनि दललाई त्यसबाट रोक्ने रणनीति भारतले लिएको देखिन्छ । प्रधान न्यायाधीशको नेतृत्वमा निर्दलीय सरकार निर्माण गरेर निर्वाचन गराउने रणनीतिकार भारत नै थियो । त्यसैले आफ्नै पहलमा भएको विकासक्रमलाई भताभुङ्ग पार्दा पुनः शुरू हुने ‘अनिश्चय’को यात्रा रोक्ने भारतीय प्रयत्नको परिणाम थियो, गोलमेच सम्मेलनको अन्त्य ।

१२ भदौमा झापाको विर्तामोडमा नेकपा-माओवादीले गरेको मार्चपास

संक्रमणकालसँगै बढिरहेको राजनीतिक ध्रुवीकरणका कारण नेपाली राजनीतिमा शक्ति–सन्तुलनको स्थिर विन्दु खोज्न अन्तर्राष्ट्रिय शक्तिलाई गाह्रो परिरहेको छ । भारतीय सक्रियतामा भएको १२ बुँदे सहमतिपछि उग्र–वाम र उग्र–दक्षिणपन्थी गठबन्धनले बदल्न खोज्ने राजनीतिक समीकरणलाई नियन्त्रणमा राख्न पनि निकै गाह्रो परिरहेको मानिन्छ । त्यसकारण, एमाओवादीलाई अगाडि सारेर भारतले पछिल्लो प्रपञ्च गरेको बुझन गाह्रो छैन ।

एकीकृत माओवादी
पटक–पटक पार्टी एकीकरणको प्रस्ताव लिएर मोहन वैद्यकहाँ पुगेका पुष्पकमल दाहाल यो मामिलामा असफल रहे । पार्टी एकीकरणको शर्तबाहेक अन्य अवस्थामा वैद्य माओवादीलाई चुनावभन्दा बाहिर राख्नु दाहालको प्रष्ट रणनीति हो । तर, नेकपा एमाले र नेपाली कांग्रेस एमाओवादीको यस्तो चाहना पूरा हुन नदिने रणनीतिमा रहे । माओवादीको मागप्रति कांग्रेस र एमालेको सापेक्षित लचकता त्यसैको परिणाम हो । तर, बाहिरी शक्तिहरूले निर्वाचनमा अडान राखेकाले उनीहरू वैद्यका मागप्रति भन्दा चुनावप्रति बढी दृढ देखिन्छन् ।

वैद्य माओवादीको आगामी रणनीतिबारे एमाओवादीको दृष्टिकोणबाट नै आफ्नो धारणा बनाइरहेका अन्तर्राष्ट्रिय शक्तिहरू कांग्रेस र एमाले लगायतका दलको कारणले सशंकित बने । गोलमेच कार्यान्वयन भयो भने समयक्रममा आफूमाथि समस्या थपिने अनुमान दाहालले गरेका छन् । हेटौंडा महाधिवेशनपछि ६ महीनासम्म पद विभाजन गर्न नसक्दा पार्टीमा समस्या चर्किएको छ । केन्द्रीय समिति बाहेक सबै पदको खारेजीले आन्तरिक सन्तुलन बिग्रिएको छ । एकातिर बाबुराम भट्टराईको असन्तुष्टि चुलिएको छ भने अर्काेतिर पार्टीबाट जुनसुकै समयमा बाहिरिन सक्ने झ्ुण्डहरू तयार छन् । दाहालको निर्वाचनप्रतिको दृढतालाई ‘सेवोटेज’ गर्न बाबुरामसँग माओवादीका नेत्रविक्रम चन्दको भेटघाट पनि बाक्लिंदो छ ।

संविधानसभा विघटनपछि व्यक्तित्वमा आएको असाधारण क्षय र राजनीतिमा घट्दो भूमिकाबाट आत्तिएका भट्टराई गुमेको साख फिर्ता गर्ने यत्नमा छन् । आफ्नै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचन गरेर तङ्ग्रिनेमा ढुक्क रहेका उनी भारत र दाहालले समेत विकल्प खोजेपछि संगठनभित्र वैद्यभन्दा शक्तिशाली मानिएका चन्दसँग मिलेर निर्वाचन सार्ने लाइनमा गए ।

पार्टीभित्र पदत्याग प्रकरणपछि दाहाल–भट्टराई सम्बन्ध झ्नै चिसिएको छ । भट्टराई–चन्द सम्बन्धबाट झ्स्किएका दाहालले गोलमेचको लागि पाँच बँुदा लिएर आएका वैद्य मोर्चालाई माग पूरा गर्न नसकिने भन्दै विदा गरिदिए । दुई दिन भए पनि वार्तालाई लम्ब्याउने पक्षमा रहेका सुशील कोइरालालाई पनि उनले वैद्य पक्ष कुनै हालतमा निर्वाचनमा आउँदैन भन्दै विश्वस्त पारे । झ्लनाथ खनाल त यसै पनि दाहालका दाहिना छँदै थिए । यसरी धेरैको चाहनालाई आफूसँग जोडेर दाहालले गोलमेचलाई समाप्तै पारिदिए ।

गोलमेच भनिए पनि सर्वदलीय भेलाबाट केही माग पूरा गरिएको भए ‘फेस सेभिङ’ भएको ठानेर वैद्य समूह निर्वाचनमा आउने थियो । माओवादीभित्र निर्वाचन विवादित भए पनि त्यसलाई कार्यनीतिको विषय बनाइएकोले परिवर्तन गर्न नसकिने थिएन ।

नेकपा–माओवादी
वैद्य माओवादीको पार्टी निर्णय र त्यसले उत्पन्न गरेको अन्तरविरोध पनि गोलमेच भाँडिनुको कारण रह्यो । संविधानसभा विघटन र एमाओवादी विभाजन लगत्तै वैद्य समूहले नयाँ सहमतिको लागि गोलमेच सम्मेलनको विकल्प अघि सारेको थियो । र, विभाजनको औचित्य सावित गर्न ‘गोलमेच मार्फत नयाँ सहमति’ भन्ने नारा दिएको थियो । तर, राजनीतिक परिस्थिति माओवादीलाई हेरेर, सुनेर र कुरेर बस्ने खालको थिएन । नयाँ संविधानसभा निर्वाचन, संविधानसभाको पुनस्र्थापना जस्ता बहसले वैद्यहरूको गोलमेचलाई कुनै महत्व दिएन ।

संविधानसभा विघटनपछिको उकुसमुकुस बाबुरामको बहिगर्मनसँगै गैरदलीय सरकार बनेर टुंगियो । नयाँ निर्वाचनमा जाने भएपछि संविधानसभा पुनस्र्थापनाको बहस पनि सकियो । नयाँ निर्वाचनका अनेक बाधाबीच माओवादीको बहिष्कार राजनीति केन्द्रीय चुनौती बनेर आयो । निर्वाचन मिति तोकिनासाथ माओवादीले सशक्त बहिष्कारको निर्णय गर्दा कसैले गम्भीरतापूर्वक नलिए पनि ४ मंसीर नजिकिंदै गर्दा उसको नीतिले प्रभाव पार्ने परिस्थिति बनेको छ । उसको बहिष्कार नीतिलाई प्रयोग गरेर विभिन्न शक्तिहरूले राजनीतिक लाभ लिन खोजेको छनकहरू बाक्लिन थालेका छन् । त्यसले वैद्य माओवादीलाई निर्वाचनमा ल्याउन चाहने र नचाहने शक्तिहरूलाई थप ध्रुवीकृत बनाएको छ ।

माओवादीभित्र निर्वाचनमा जाने र नजाने दुईथरी मत रहे पनि प्रारम्भदेखि नै पार्टीको आधिकारिक लाइन ‘यथास्थिति’मा निर्वाचन बहिष्कार गर्ने थियो । वैद्य समूहको ‘यथास्थिति’ भन्नाले संविधानसभा विघटनयता विकसित राजनीतिक घटनाक्रम हो । माओवादीले पोखरा सम्मेलनबाट पार्टीको आधिकारिक लाइनलाई अझ् कडा पारेपछि अरू दलहरू उसलाई सहभागी नगराई स्वतन्त्र, भयरहित र निष्पक्ष निर्वाचन हुन नसक्ने निष्कर्षमा पुगे । यसै निर्णयको कारणले गर्दा बहिष्कारप्रति कठोर ठानिएको माओवादी निर्वाचनप्रति लचिलो बन्दै आइरहेको थियो ।

कुनै पनि हालतमा निर्वाचनमा भाग लिन नहुने मत राख्दै आएका नेत्रविक्रम चन्दले अन्य दलहरूले गोलमेचमा समर्थन जनाउने आधार देखेका थिएनन् । उनले वार्ताद्वारा आफ्ना केही मागहरू पूरा गराउन सकियो भने संविधानसभा निर्वाचनमा भाग लिनुपर्छ भन्ने पार्टीका वरिष्ठ नेताहरूको मतलाई ठाडै अस्वीकार गरेका थिए । वार्ताको अवधि लम्बिंदै जाँदा सरकारले केही आधारभूत शर्तहरू मानिदियो भने निर्वाचनमा जानुपर्ने मत पनि बलियो बन्दै थियो । त्यो मत बलियो बन्दा पार्टीभित्र चन्दको लागि समस्या उत्पन्न हुन्थ्यो । त्यसैले पहिलो पुस्ताको नेतृत्व निर्वाचनप्रति लचकदार बन्ने छनक पाइसकेका चन्दले गोलमेचका शर्तहरूलाई अझ् कडा पार्न वैद्यमाथि दबाब बढाए ।

वैद्य संगठनमा बलियो पकड रहेका चन्दमा निर्भर छन् । यस्तो अवस्थामा उनी चन्दको सुझवभन्दा बाहिर जान सम्भव थिएन । सबै विवादका विषयहरूलाई गोलमेच सभाबाट टुंग्याउनुपर्ने चन्दको प्रस्ताव लागू हुने हो भने अर्को संविधानसभा निर्वाचनको कुनै अर्थ पनि रहँदैन । यसरी माओवादीभित्रको अन्तरविरोध र पार्टीभित्र थप शक्तिशाली बन्न चन्दले चालेको चालले पनि गोलमेचलाई गोलमालमा पारिदियो ।

गोलमेचको कथा सकिएपछि निर्वाचन सार्ने र एमाओवादीसँग पार्टी एकीकरण गर्ने प्रस्ताव लिएर चन्द चीनको राजनीतिक यात्रामा निस्केका छन् । निर्वाचन सार्न बाबुराम भट्टराईसँग सहमति गरेर नै चन्द चीनतिर लागेका हुन् । संस्थागत निर्णयभन्दा बाहिर विभिन्न शक्तिकेन्द्रहरूसँग अस्वाभाविक सम्पर्क–सम्बन्ध राख्दै हिंडेका चन्दमाथि पार्टीभित्र आलोचना भने बढ्दै गएको छ । निर्वाचन सार्ने र बाबुराम मार्फत पार्टी एकीकरण गर्नेे रणनीति अनुरूप उनले गोलमेचलाई गोलमाल गर्न सहायक भूमिका खेलेको चर्चा माओवादीमा व्याप्त छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>