रिपोर्टआइतबार, भाद्र १६, २०७०
शिशुलाई सास्ती
-शिवराज योगी
काठमाडौं, मैतीदेवी बस्ने सिन्धुलीकी सुनिता दाहाललाई व्रत बस्नुपर्ने भएकाले मंगलबार बिहान छोराछोरी स्कूल पुर्याउन हतार पर्छ । उनी राम्ररी हिंड्न नसक्ने साढे दुई वर्षकी छोरी र शुद्धसँग बोल्न नजान्ने पाँचवर्षे छोरोलाई मैतीदेवीको दर्शन गरेर ९ बजे स्कूल पुग्ने गरी खाना ख्वाइसक्छिन् । यति कलिलो उमेरमा छोराछोरीलाई स्कूल भर्ना गरेकी दाहाल भन्छिन्, “छोराछोरीलाई स्कूल पुर्याएपछि दिनभरि ढुक्कले काम गर्न मिलेको छ ।”
दोलखा चरिकोटकी तारा खत्री पनि साढे तीनवर्षे छोरो र पाँच वर्षकी छोरीलाई हरेक बिहान स्कूल पुर्याउँछिन् । छोराछोरीलाई कुन उमेरमा विद्यालय पठाउनु उपयुक्त हुन्छ भन्ने थाहा नभए पनि सानैमा पढाइएन भने पछि पछुताउनुपर्ला भन्ने डर राखेकी खत्री अरूले पनि त्यसै गरेको बताउँछिन् । गत १८ वर्षदेखि शिक्षा पेशामा संलग्न घट्टेकुलोका भीम गौतम शहरिया जीवनमा एकल बन्दै गएको परिवारमा नानीबाबु खेलाएर बस्ने फुर्सद नहुँदा शिशु अवस्थामै स्कूल लगाउने चलन बढेको बताउँछन् । गौतम भन्छन्, “बच्चाबच्चीले केही सिक्छन् पनि, तर मनोवैज्ञानिक अवस्था राम्रो हुँदैन ।”
शहरिया आडम्बर
बालबालिकालाई सानैमा स्कूल भर्ना गर्ने चलनका पछाडि शहरिया जीवनको केही बाध्यता, आडम्बर र धेरै अज्ञानता कारक रहेको शिक्षाविद् डा. विद्यानाथ कोइरालाको विश्लेषण छ । तर, शिशु अवस्थामै पढाइको भार खपेका बालबालिकामा पछि गएर कामप्रति लगनशील नहुने, अनुशासनहीन हुने, सानो कुरामा चर्को प्रतिक्रिया जनाउने जस्ता समस्या बढी हुने डा. कोइरालाको भनाइ छ । “अधिकांश अभिभावकमा यस्तो चेत छैन, समाजमा व्यवहार–संस्कार बिग्रियो”, डा. कोइराला भन्छन्, “अब त बालबालिकामाथि मानसिक अपराध गर्ने चलन संस्थागत भइसक्यो ।”

जन्मँदा जन्मँदै छोराछोरीलाई विद्यालय पठाउ तम्सने अभिभावकहरुले अब स्थापित मान्यताभन्दा उल्टोबाट सोच्नुपर्ने बेला भएको छ : डा. गंगा पाठक
नेशनल इन्ष्टिच्यूट अफ साइकोलजी (एनआईपी) की निर्देशक डा. गङ्गा पाठक समाजका स्वघोषित विद्वानहरू नै बाल मनोविज्ञानप्रति संवेदनशील नहुँदा यो अवस्था आएको बताउँछिन् । उनका अनुसार, यूरोप र अमेरिकामा पाँच वर्ष पूरा नगरेका बालबालिकालाई स्कूल भर्ना गर्न पाइँदैन । दुई–तीन वर्षमै स्कूल पठाउनुलाई एक खालको अपराध ठान्ने डा. पाठक ५–६ वर्ष नपुगी बालबालिकाको मानसिक प्रक्रिया (साइको मोटर) को विकास नै नहुने बताउँछिन् ।
पाठकका अनुसार, त्यो समय भनेको बालबालिकाले बाजेबज्यै वा बाबुआमाको काखमा अक्षर चिन्ने समय हो । तर, नेपालमा बाल अधिकार र बाल शिक्षाको अनुगमन तथा नियमन नभएकाले घर–घर, स्कूल–स्कूलमा शिशुहरूमाथि ज्यादती भएको पाठक बताउँछिन् । यस क्रममा च्याउसरी मन्टेसरी, प्लेग्रुप, चाइल्ड केयर सेन्टरहरू खुलेका छन् । शहरी अभिभावकहरू त्यस्तो ठाउँमा आफ्ना नानीहरूलाई राखेर फुर्सद निकाल्नुलाई सम्भ्रान्तपन ठान्छन् । यसको देखासिखी राजधानीबाट जिल्ला र गाउँसम्म झङ्गिदैछ, जसको परिणाम डरलाग्दो हुने विज्ञहरूको धारणा छ ।
छोराछोरीलाई सानैमा स्कूल नपठाउनेले होइन, पठाउनेले भविष्यमा पछुताउनुपर्ने डा. पाठक बताउँछिन् । पढाइको नाममा शिशु अवस्थामा बढी मानसिक यन्त्रणा पाउने बालबालिका पछि गएर रिसाहा, झ्गडालु, उद्दण्ड हुने, झुट बोल्ने, स्कूल बंक गर्ने, ड्रप आउट हुने, नशालु पदार्थ सेवनमा सामेल हुने, असामाजिक हुने लगायतका खतरामा बढी पर्ने पाठकको भनाइ छ ।
उमेर भन्दा ठूलो जिम्मेवारी थोपरिएका र बाबुआमाबाट टाढा राखिएका बालबालिका बढ्दै जाँदा आत्मविश्वासको कमी हुने, लागेको कुरा भन्न नसक्ने र विस्तारै निराश बन्दै जाने समस्या देखिएको उनी बताउँछिन् ।
दुई वर्षको उमेरमा प्लेग्रुपमा राखिएका राजधानीको एक सम्भ्रान्त परिवारका बालकमा चञ्चलता कम हुँदै गएको पाठक बताउँछिन् । पौष्टिक खाना र अस्पतालदेखि झरफुक गर्दा पनि नभएपछि आफ्नो सम्पर्कमा आइपुगेका ती बालक र उनका अभिभावकको समस्या हल गर्न एक महीना लागेको मनोविज्ञ पाठकले बताइन् ।
उल्टो बाटो
एशोशिएसन अफ मन्टेसरी इन्टरनेशनलकी सदस्य ट्रेनी टाइसनले “नेपालमा भौतिक पूर्वाधार र बाल मनोविज्ञानलाई काम लाग्ने ज्ञानगुनका सामग्री भएका मन्टेसरी र चाइल्ड केयर सेन्टर नपाएको” बताएकी थिइन् । तर, एकल परिवारमा रमाउन खोज्ने र आधुनिकता प्रदर्शनमा लालायित अभिभावकहरूमा विभिन्न बहानामा बालबालिकालाई उमेरै नपुगी मन्टेसरीमा थन्क्याइदिने चलनले फेशनको रूप लिएको शिक्षाविद् डा. कोइराला बताउँछन् ।
६ वर्ष पुगेर विद्यालय गएका बालबालिका र त्यसअघि नै स्कूल हालिएका नानीहरूको तुलनात्मक अध्ययन नभए पनि दोस्रो किसिमका बालबच्चामा भएको क्षमता प्रस्फुटन हुनुको साटो दबिएर जाने जोखिम बढी हुन्छ भन्न सकिने डा. कोइराला बताउँछन् । मनोविज्ञ पाठक तोतेबोलीमा अंग्रेजी बोलिदिए दंग पर्ने ‘आधुनिक’ अभिभावकहरू त्यस क्रममा छोराछोरीले भोग्ने मनोवैज्ञानिक दबाबको मतलब नगर्ने बताउँछिन् । “जन्मँदा जन्मँदै छोराछोरीलाई विद्यालय पठाउन तम्सने अभिभावकहरूले अब स्थापित मान्यताभन्दा उल्टोबाट सोच्नुपर्ने वेला भएको छ”, मनोविज्ञ पाठक भन्छिन्, “सरकारबाट पनि तुरुन्त हालको बाल शिक्षाको समीक्षा हुनुपर्छ ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
