ब्लगशनिबार, आषाढ ९, २०६९

रमाइलो बुढ्यौली

Govandabahadur

नेपाल लगायत दक्षिण एशियामा ५८ वर्षको उमेरमा अवकाश हुन्छ भने यूरोप–अमेरिकामा ६२ देखि ६५ वर्षको । विना काम पेन्सन खाने बूढाबूढी बढ्दै गएकाले अमेरिकाले अवकाशको उमेर बढाउने रे भन्ने सुनिंदैछ । उता ६०–७० वर्षकालाई युवा वृद्ध, ७०–८० वर्षकालाई वयस्क वृद्ध र ८० माथिकालाई वयोवृद्ध भन्दारहेछन् । त्यस हिसाबले आफू युवा वृद्ध परियो, शारीरिक क्षमतामा खासै कमी महसूस भएको छैन । पेन्सन, घरबहाल र सञ्चयकोषको ब्याजले खान–लाउन कसैको भर पर्नुपरेन । रिटायर्ड जीवन आफ्नो रुचि अनुसार भ्रमण, फोटोग्राफी, पेन्टिङ, समाजसेवा, प्राध्यापन, राजनीति, अनुसन्धान, परामर्श सेवा या लेखन जे गरेर पनि बिताउन सकिने भयो ।

हाम्रो समाजमा बुढ्यौलीप्रतिको बुझाइ र व्यवहार हेर्नलायक छ— कसैले ‘बाजे’, कसैले ‘बुबा’, कसैले ‘अंकल’ र कतिपय अशिष्टले ‘बूढा’ पनि भन्छन् । तरकारी बजारमा ‘ए बाजे’ भनेको सुन्दा परिवारकै कसैले बोलाए जस्तो लाग्छ । बूढो मान्छेले कसैसँग जिस्किन, हाँसो गर्न धक मान्नु पनि पर्दैन । भर्खरै मोबाइल सेट किन्न ताम्राकार हाउसका तीनचार पसल चहार्दा त्यहाँका ठिटाठिटी बिक्रेताले ‘यो हेर्नुस् बुबा’, ‘यो राम्रो छ बुबा’ भनेका बेला निकै आनन्द लागेको थियो ।
केहीअघि भारतको तीनधाम यात्रामा निस्कँदा कुल्ली, रिक्सावाला, ट्याक्सीवाला, बसवाला, होटेलवाला, सहयात्रीहरू कसैले नराम्रो व्यवहार गरेन । रेलयात्रामा एउटा हाकिम जस्तो देखिने व्यक्तिले सँगै बसेको आफ्नो सहयोगीलाई ‘क्या तुम अंकलजीको थोडा सहायता नही कर सकते !’ सम्म भने । त्यतिबेला म सुटकेशमा चेन र ताला लगाउँदै थिएँ । आहा ! परम्परादेखि चल्दै आएको बूढाहरूलाई सहयोग गर्ने हाम्रो संस्कृति ! धन्य, पूर्वजहरूले हामीलाई यस्तो उत्कृष्ट व्यवहार सिकाएका छन्!

मुम्बईको ६ घन्टाको रेलयात्रामा एउटा प्रहरी परिवारसँगै परियो । जवान छोरा वाणिज्यशास्त्रमा स्नातक गर्दै र बाबु प्रहरी अधिकृत रहेछन् । भारतीय संस्कृति, जिन्दगीको नजरिया, पारिवारिक सम्बन्ध जस्ता विषयमा गफ भयो । छुट्टिने बेला छोराले अचानक झुकेर मेरो खुट्टा छुदै ‘प्रणाम अंकल’ भन्यो । मलाई न त्यस्तो व्यवहारको आश थियो, न त्यसका लागि म तयारै थिएँ । मेरो घाँटी अवरुद्ध भयो ।

नरमाइला अनुभव पनि छन् : काठमाडौंमै एकपटक श्रीमतीसँग गाडीमा गइराखेको बेला वाग्मती पुल नजिकै जाम खुलेपछि गाडी अगाडि बढाउन लागेको थिएँ, छेउमा रोकिएको मोटरसाइकलको ठिटो करायो, “ए बूढा, दिऊँ दनक ?” जाममा जंगेले साँघुरो ठाउँमा पसारेको खुट्टालाई मेरो गाडीले छोएछ । मेरो रीस बुझ्ेर श्रीमतीले हत्तपत्त माफी मागिन्, ऊ होश गरेर चलाउन आदेश दिंदै वायुवेग भयो । अर्को घटना, साइकलमा कुमारीपाटीबाट मानभवनतिर जाँदै थिएँ, पछाडिबाट आएको मोटरसाइकलमा सवार केटो मतिर फर्किंदै करायो, “ए बूढा, मर्ने इच्छा छ ?” यिनले कस्तो संस्कृति सिकेका होलान् ? मान्छे थरीथरीका हुन्छन्— देव, मानव र दानव स्वभावका; अचम्भित हुनै पर्दैन ।

जन्मेपछि लामो समय बाँचियो भने बूढो हुनैपर्छ । खान–लाउन पुग्ने र हाँसोठट्टाका साथ पहिलेका कुरा गर्ने बूढाबूढीलाई सबैले मन पराउँछन् । माया गर्ने छोराबुहारी पाउने झ्न् खुशी हुन्छन् । तर, गरीबीबाट आक्रान्त हाम्रो देशमा सबै बूढाबूढी त्यस्ता हुन सक्दैनन् । धेरै हुनेखानेको हालत पनि ठीक छैन— घर–सम्पत्ति छ, हेर्ने कोही छैन । छोरीछोरी विदेशमा क्रेडिटकार्डमा अल्झ्ेका छन्, कहिलेकाहीं फोन गरे भने धन्य । बूढाबूढीको पनि सन्तानको सधैं राम्रो होस् भन्ने चाहना हुन्छ, त्यसैले लाखौंको काम छोडेर आफूलाई हेर्न नेपाल फर्क भन्ने दुस्साहस कसले गर्ने ! त्यसमाथि, नातिनातिनाको पढाइ–करियरको सवाल हुन्छ ।
अशक्त र असहायहरू त सबैलाई मर्का छ । वृद्ध मात्र हैन, धेरै महिला र बालबालिका पनि असहाय छन् । सरकार बिहानैदेखि धोकेर बसेको जँड्याहा जस्तै छ, त्योसँग के आश गर्ने ? चाहिएको बेला आफू नजिक भएको व्यक्तिले नै तत्कालै सहयोगको हात बढाउँछ भनेर स्कूलमा पढेथें । मरेपछि रुन आउने धेरै भएर के भो र, आवश्यक पर्दा गर्ने जो जहाँ छ त्यहींकै समाजले हो ।

व्यापारिक संस्कृतितिर उन्मुख आजको नेपाली समाजमा सेवाभावको परम्परागत संस्कृति प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरू चाहिएको छ । यतातिर समाजसेवामा जुटेका अगुवाहरूको ध्यान जाला र नयाँ पिंढी पनि लाग्ला भन्ने आशा गरौं । दलाई लामाले एक ठाउँमा भनेका छन् “हामी बालककालमा आमाबाबु, बुढेसकालमा छोराबुहारी या अरू कोही दयालुको सहारामा जिन्दगी बिताउँछौं भने बीचको जिन्दगीमा कसैलाई दयामाया नगरी बस्न मिल्छ र !”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...