खेलकुदबिहीबार, भाद्र २०, २०७०

चम्किएका विमल

हिमालखबर

पाकिस्तानसँग ११ औं मिनेटमा एक गोल खाएको नेपाली टोलीले अथक आक्रमक प्रयास गर्दा पनि गोल हुन नसकिरहेका बेला ६७ औं मिनेटमा ग्राउण्डमा पठाइएका जुनियर खेलाडी विमलले ९१ औं मिनेटमा गोल गरेर नेपाली टोली, दर्शक र प्रशंसकमाझ चम्किए ।

नेपाली टिमका कप्तान सागर थापाको प्रहारलाई पाकिस्तानका गोल रक्षक युसाफ इजेबुटले हातले छेकेर फर्किएको बललाई विमलले सदुपयोग गर्दै खेलको अतिरिक्त समयमा गोल गर्न सकेका हुन् ।

२० भदौमा नेपालले भारतसँग खेल्दैछ । साफको दावेदार मानिएको भारतसँग नेपालले कडा चुनौती ब्यहोर्नु पर्ने खेलका जानकारहरु बताउँछन् । तर नेपाली टोलीको जित्ने संभावना पनि उत्तिकै छ । यस्तो अवस्थामा फेरि पनि नेपाली टोलीलाई विमलको आवश्यकता पर्न सक्छ ।

फूटबलको आशा
विमलको खेल कौशल भने यसअघि नै देखिइसकेको थियो, त्यसैले नेपाली टोलीका कोच ज्याक स्टोफोनिक्सले अन्तिममा उनलाई रोज्नु सुखद सावित भयो ।

राजधानीमा गत ५ साउनबाट शुरु भएको दोस्रो साफ यु–१६ च्याम्पियनसीपको समूह चरणका तीन खेलमा नेपालले गरेको ११ मध्ये ६ गोल विमल नै गरेका थिए । त्यसअघि काठमाडौंमै आयोजित एएफसी यु–१४ फूटबल फेस्टिबलको चार खेलमा ८ र जापानमा भएको यु–१४ फूटबल फेस्टिबलको चार खेलमा ७ गोल गरेका थिए, विमलले। यु–१६ का प्रशिक्षक बालगोपाल महर्जन नेपाली फूटबलमा गोलको खडेरी लाग्यो भन्नेहरूलाई विमल राम्रो जवाफ भएको बताउँछन्।

१३ वर्षमा एन्फा एकेडेमी (बुटवल)बाट खेलेका नवलपरासी भुताहाका उनलाई महर्जनले नै फरवार्डमा ल्याएका हुन्। भारतको सुव्रतो मुखर्जी कपको अनुभव संगालेका विमलले प्याब्सन कप र रुपन्देही जिविस कपको म्यान अफ दि सिरिज भएपछि २०६९ भदौमा राष्ट्रिय टीममा डेब्यु गरेका थिए। अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीका फ्यान पाँच फीट ९ इन्चका विमल दायाँ–बायाँ दुवै खुट्टा चलाउँछन्।

मैदानमा आफ्नै रणकौशल देखाउने विमल अनुशासन र ‘रनिङ विथ बल’ मा पनि सशक्त छन्, तर बल विपक्षीको खुट्टामा परेपछि ‘एग्रेसिभली’ खोस्न नसक्नु/नलाग्नुलाई उनको कमजोरी मानिन्छ। फूटबल पण्डितहरू उमेर समूहमा खेल्दासम्म यूरोपियन खेलाडीकै हाराहारीमा देखिने नेपाली फूटबलरहरू व्यावसायिक चरणमा प्रवेश गरेपछि फितलो हुँदै जाने गरेको बताउँछन्। नेपाली फूटबलरहरूले पाउने सेवा सुविधा र अन्तर्राष्ट्रिय एक्स्पोजरको अभावलाई यसको मुख्य कारण मानिएको छ।

विमल नेपाली फूटबललाई उचाइमा पुर्‍याउन सक्ने खेलाडी हुन्। विमलमा त्यो संभावना देख्ने फूटबल विश्लेषक संजीव मिश्र यो कुरा विमलको व्यक्तिगत मिहिनेत र प्रतिबद्धतामा पनि भर पर्ने बताउँछन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...