रिपोर्टशुक्रबार, भाद्र २१, २०७०

आधार नै कमजोर

हिमालखबर

-तुफान न्यौपाने

२०६९ को एसएलसीमा देशभरमा विज्ञानमा ५५ हजार, गणितमा ५० हजार र अंग्रेजीमा ३१ हजार विद्यार्थी फेल भए । २०–३० साउनको पूरक परीक्षामा एक लाख २२ हजार ५०५ विद्यार्थी सहभागी भएकोमा फेरि पनि अधिकांश विज्ञान र गणितमै फेल हुने अवस्था छ । विज्ञान र गणित विषयमा विद्यालय शिक्षाको आधार अत्यन्त कमजोर भएकोले यो अवस्था आएको हो ।

बाँके उदाहरण
मुलुकको मावि शिक्षाको यो नक्सामा बाँके जिल्लाको अवस्था राम्रो हुने कुरै भएन । बाँके, फत्तेपुरका ध्रुव घर्ती (१८) गत एसएलसीमा विज्ञानमा १० र गणितमा १८ अंक ल्याएर अनुत्तीर्ण भए । कक्षा ५ देखि धम्बोजी उमाविमा पढेका उनलाई २०६५ सालमा कक्षा ६ को परीक्षामा गणितमा फेल हुँदा पनि विद्यालयले पास गराइदिएको थियो ।

त्यस वर्ष कक्षा ६ का १०६ विद्यार्थीमध्ये गणितमा ७५ र विज्ञानमा २७ जना अनुत्तीर्ण भएको विद्यालयको रेकर्डले देखाउँछ । कक्षा ७ को वार्षिक परीक्षामा धु्रवले गणित र विज्ञानमा क्रमशः ३७ र ३९ ल्याए । कक्षा ८ को परीक्षामा ‘दुई विषयसम्म लागेकालाई लेजरमा पास देखाएर कक्षा चढाउने’ स्रोत केन्द्रको गोप्य नीति अनुसार ध्रुवलाई गणितमा ३२ र विज्ञानमा ४६ दिइयो । एसएलसीमा ६ महीना ट्युसन पढ्दा पनि धु्रवलाई दुवै विषय लाग्यो । पूरक दिनुअघि एक महीना ट्युसन पढेका उनी भन्छन्, “पहिलादेखि नै गाह्रो लाग्थ्यो, अहिले पनि राम्रो भएन ।”

कक्षा ७ देखि धम्बोजी उमाविमा पढेका सुनिल चौधरी (१७) को अवस्था पनि उस्तै हो । एसएलसीमा विज्ञानमा १३ मात्र आएपछि पूरक दिएका उनलाई कक्षा ७ मा गणितमा ११ र विज्ञानमा २० मात्रै आउँदा पनि पास गराइएको थियो । कक्षा ८ मा पनि गणितमा ३९ र विज्ञानमा ४६ दिएर पास गराइयो । कक्षा ९ को गणितमा उनले ल्याएको ३२ मात्रै छ । १० कक्षामा शिक्षकले पढाएको गणित र विज्ञान केही नबुझेको सुनिल बताउँछन् । पूरक परीक्षामा पनि पास हुने निश्चित नभएको बताउँदै उनी भन्छन्, “पास भए काम गर्दै क्याम्पस पढ्ने हो, फेल भए पढाइ सकियो ।”

सोही विद्यालयकी सुदीक्षा न्यौपाने (१६) ले एसएलसीमा विज्ञानमा १४ मात्रै आएपछि पूरक परीक्षा दिएकी छन् । उनी विज्ञान र गणितमा कक्षा ६ देखि नै कमजोर थिइन् । दुई विषयसम्म लागेकालाई लेजरमा सबै विषयमा उत्तीर्ण देखाएर पास गराउने स्रोत केन्द्रको मिलेमतोपछि निकालिएको नतीजामा पनि सुदीक्षाको कक्षा ८ को गणितमा ३९ र विज्ञानमा ३२ मात्रै आएको देखिन्छ । २०६९ मा धम्बोजी उमाविबाट एसएलसीमा सहभागी ९० विद्यार्थीमध्ये विज्ञानमा ६२, गणितमा ६२ र दुवैमा ५७ विद्यार्थी अनुत्तीर्ण भए ।

बाँके सदरमुकामको अर्को ठूलो सार्वजनिक विद्यालय मंगलप्रसाद उमाविबाट एसएलसी दिएका मध्ये १५ प्रतिशत मात्र उत्तीर्ण भए । तीमध्ये अधिकांश गणित, विज्ञान र अंग्रेजीमा फेल भएका छन् । जिल्लाभरबाट एसएलसीमा सहभागी ६३९२ विद्यार्थीमध्ये गणितमा ७९९, विज्ञानमा ४१३ र अंग्रेजीमा ४०० जना अनुत्तीर्ण भए ।

मंगलप्रसादका प्राचार्य तथा गणित/विज्ञान शिक्षक सुशील बर्मा ७५ पूर्णाङ्कको सवा दुई घण्टाको प्रश्नपत्रको भार तीन घण्टाकै जति भएकाले धेरै विद्यार्थी फेल भएको बताउँछन् । “त्यसवाहेक आफ्नो दरबन्दी रहेको विद्यालयमा नियमित नपढाई निजी विद्यालय चलाएका शिक्षकहरूलाई कारबाही गर्न सके यस्तो निराशाजनक नतीजा सुधार्न सकिन्छ”, प्राचार्य बर्मा भन्छन् ।

नारायण उमावि सदरलाइनमा गणित विषय पढ्दै ।

धम्बोजी उमाविकी प्राचार्य किरण आचार्य प्राथमिक तहमै कमजोर भएका विद्यार्थीलाई माविमा सुधार्न गाह्रो भएको बताउँछिन् । ९० प्रतिशत विद्यार्थी निम्न आय भएका परिवारबाट आउने हुनाले उनीहरूमाथि गुजाराको भार समेत रहँदा उनीहरूको पढाइको स्तर सुधार्न कठिन भएको उनको भनाइ छ । “नियमितको भन्दा कठिन प्रश्न आएकाले यसपालिको पूरक परीक्षामा पनि धेरै विद्यार्थी अनुत्तीर्ण हुने देखिन्छ”, प्राचार्य किरण भन्छिन् ।

गणित र विज्ञान विषयमा विद्यार्थीहरू तल्लो तहबाटै अत्यन्त कमजोर हुँदै गएको जिल्ला शिक्षा कार्यालयको वार्षिक औसत शैक्षिक उपलब्धिले देखाउँछ । जस्तो, कक्षा ६–८ को औसत शैक्षिक उपलब्धि ३९ छ भने गणितको ३४ मात्र । यसैगरी, कक्षा ९ को औसत उपलब्धि ३९ छ भने विज्ञानको ३९ र गणितको ३० । कक्षा १० को औसत शैक्षिक उपलब्धि ३२ छ भने विज्ञानको ३० र गणितको १९ मात्र छ ।

न शिक्षक न प्रयोग
कक्षा ८ सम्म बुटवल, ९ कक्षा काठमाडौं र कक्षा १० धम्बोजी उमाविमा पढेर एसएलसी दिएकी सुमन चौधरीले विज्ञानमा १९ र गणितमा २७ मात्रै ल्याउन सकिन् । बुटवल, काठमाडौं र नेपालगञ्ज तीनै ठाउँमा एक पटक पनि प्रयोगात्मक कक्षामा सहभागी हुन नपाएकी उनी तीनै ठाउँको २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षामा भने पास भएकी थिइन् । बाँकेका ७२ सामुदायिक माविमध्ये अधिकांशमा प्रयोगशाला छैनन् भने भएकामा पनि प्रयोगात्मक कक्षा हुँदैनन् । मंगलप्रसाद उमाविका प्राचार्य बर्माले सम्बन्धित विषयको शिक्षक नपाउँदा जुन सुकै विषय पढेकालाई पनि लिनुपर्ने बाध्यता रहेकोले प्रयोग गराउन नसकिएको बताए ।

भौतिकशास्त्रका प्राध्यापक डा. उदयराज खनाल पाठ्यसामग्री प्रयोगमुखी नहुँदा प्रयोगात्मक विषयमा बिना आधार पास गराउने चलन बढेको बताउँछन् । दलीय शिक्षक नियुक्तिलाई विद्यालय शिक्षामा विज्ञान कमजोर हुनुको कारण ठान्ने प्राध्यापक खनाल यसलाई प्रयोगमुखी बनाउनुको विकल्प नभएको बताउँछन् ।

तर, भनेर के गर्नु, ५० विद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने र विद्यार्थी संख्या कम भए पनि विषयगत शिक्षक नियुक्त गर्नुपर्ने शिक्षा नियमावली भए पनि बाँकेका ३४ माविमा गणित र विज्ञान शिक्षक नै छैनन् । जिल्ला शिक्षा कार्यालयका मावि–निमावि संस्थागत विद्यालय फाँटका प्राविधिक सहायक खगेन्द्र मल्लका अनुसार, बाँकेमा मावि तहमा स्वीकृत दरबन्दी १५२ र राहत दरबन्दी ५३ गरी २०५ दरबन्दी भए पनि १६३ शिक्षक अपुग छन् ।

शिक्षक सेवा आयोग, शिक्षा ऐन र नियमावली अनुसार शिक्षाशास्त्र नपढेकाले शिक्षक लाइसेन्स पाउँदैनन् । विज्ञान शिक्षक हुन बीएस्सी र एकवर्षे बीएड गरेर लाइसेन्स लिनुपर्छ । तर, बीएस्सी गरेकाहरू यो झन्झटतिर नलागी अन्य क्षेत्रतिर जाने हुनाले योग्य व्यक्तिहरू शिक्षणमा आउन रोकिएका छन् । भइरहेका विज्ञान शिक्षक सरुवा हुँदा वा सेवा निवृत्त भएपछि पद रिक्त हुन्छ, तर नयाँ शिक्षक नपाइने स्थिति देशभर छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>