टिप्पणीशनिबार, भाद्र २२, २०७०
हिंसा–जोरजुलुम हारेको दिन
शान्ति तथा पुनर्निमाण मन्त्रालयको तथ्याङ्क अनुसार माओवादीको दशक लामो हिंसात्मक विद्रोहमा १७ हजार ८२८ नेपालीको ज्यान गयो, १ हजार ४५२ वेपत्ता बनाइए र २२ हजार ८६३ परिवार थातथलोबाट विस्थापित भए । यो अवधिमा ९ हजार महिला विधवा भए ।
तर, माओवादीको हिंसात्मक विद्रोहका क्रममा भएको यति ठूलो जनधनको क्षतिबाट देशले के पायो भन्ने लेखाजोखा गर्ने हो भने सकारात्मक उपलब्धि मान्नुपर्ने केही पनि देखिन्न ।
माओवादी हिंसाको ‘प्रोडक्ट’ भनेको हिंसामा परेकाहरुमा भएको क्षति र ‘डिप्रेशन’, विभिन्न नाममा संगठित हिंसात्मक समूहहरुको विगविगी, राज्यकोषको ठूलो खर्च, भौतिक पूर्वाधारहरुको बिनास, सामाजिक सद्भावमा आएको विचलन जस्ता थुप्रै उदाहरणहरु छन् । जसका असरहरु नेपाली समाजले धेरै पछिसम्म भोगिरहनु पर्नेछ ।
हिंसाले ल्याउने तात्कालिक ‘परिवर्तन’ भन्दा अहिंसात्मक आन्दोलनको तागत कति बढी हुन्छ भन्ने त नन्दप्रसाद र गंगामाया अधिकारीको अनसनले नै सावित गरिदिएको छ । जसले सरकार प्रमुखदेखि एमाओवादी नेतृत्व समेतको बेचैनी बढाइदिएको छ ।
फुजेल–७ गोरखाका गंगामाया र नन्दप्रसाद अधिकारी दम्पतीले गरेको अनसनले राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पारेको प्रभाव स्वरुप एमाओवादीकै प्रभावमा रहेको भनिएको सरकारले उनीहरुका छोरा कृष्णप्रसादको हत्यामा संलग्न एक अभियुक्तलाई २१ भदौमा पक्राउ ग¥यो, त्यसो नगर्न एमाओवादीले दिएको चर्को दबाबका बावजुद पनि ।
त्यस लगत्तै २२ भदौमा एमाओवादीले गरेको बन्द नागरिक स्तरमा भएको चर्को बिरोध र केही ठाउँमा शुरु भएको अवज्ञाका कारण ४ घण्टामा फिर्ता लिनुपर्यो । दर खाने दिन र भोलीपल्टको तीजका लागि सरजाम गर्नुपर्ने बेला एमाओवादीले हत्याको आरोप लागेका कार्यकर्तालाई छुटाउन गरेको बन्द महिलाहरुले नै विफल पारिदिए । परिवर्तनका लागि हिंसा र जोरजुलुमको सहारा लिनु जरुरी छैन वा त्योभन्दा कैयौं गुणा बढी तागत अहिंसामा हुन्छ भन्ने उदाहरण पनि हो यो ।
अहिंसाको शक्ति र महत्वलाई स्वीकार गरेर नै संसारमा मानिने विभिन्न धर्महरुबीच विभिन्न मतभेद भए पनि सबैले अहिंसालाई महत्व दिएका छन् र एकमत छन् ।
ऋग्वेद भन्छ– ‘कमजोर मानिस हिंसामा उत्रिन्छ, अहिंसा भनेको अभय अर्थात त्रास नहुनु हो ।’ त्यसैले त गोरखा फुजेलका अधिकारी दम्पतीले गरेको अनसनले आफूलाई ‘हजारौंको बलिदानीपछि उदाएको महान तथा गौरवशाली’ भन्ने एमाओवादी अत्तालियो र एकजना कार्यकर्ता पक्राउ पर्दा पनि देशै ठप्प पार्न अर्को हिंसामा ओर्लियो ।
तर उसको यो बन्दलाई पनि अन्याय सहन तयार नभएका नागरिकको अहिंसात्मक प्रतिवादले निष्प्रभावी सावित गर्यो ।
विश्वमै अहिंसाका पूजारीका रुपमा सम्मानित महात्मा गान्धी भन्ने गर्थे– ‘हामीलाई पशुबाट भिन्न गराउने एकमात्र ब्यवहार अहिंसा नै हो, मानिस हुनका लागि अहिंसाको भाव हुनु जरुरी छ ।’ उनी दोहोर्याई रहन्थे– अहिंसाको शक्ति कुनै पनि परिस्थितिमा हिंसाभन्दा सर्वश्रेष्ठ हुन्छ ।
योग र जैन दर्शनले समेत भन्छ– अहिंसाको साधनाले बैरी भाव मानिसमा हुँदैन जसले काम, क्रोध जस्ता वृत्तिको निरोध गर्छ र मनमा शान्तिको अनुभव हुन्छ । सही र गलत छुट्टयाउन पनि अहिंसा महत्वपूर्ण छ । सबैभन्दा महत्वपूर्ण त अहिंसात्मक व्यक्ति नै स्वतन्त्र हुन्छ भन्ने हो । जसले हिंसा गर्छ ऊ निर्भय हुँदैन र त्रसित व्यक्ति वा समूह कहिल्यै स्वतन्त्र हुन सक्दैन ।
त्यसैले निर्भय अधिकारी दम्पतीले गरेको सत्याग्रह करिब १८ हजारको ज्यान लिएको ‘जनयुद्ध’ पछि उदाएको एमाओवादीका लागि गह्रुँगो सावित भयो ।
लाउँला खाउँला उमेरको आफ्नो बेकसुर कान्छो छोरो गुमाएका गोरखाली यी दम्पतीले गरेको सत्याग्रह सन्तान सुखमा रमाएका र १८ हजार नेपाली मारिएपछि मात्रै सत्तामा उदाएका एमाओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईले बुझ्ने कुरै भएन ।
तर, हिंसामा परेकालाई न्याय दिन कैयन राम्रा फैसला गरेका प्रधानन्यायाधीश खिलराज रेग्मी (जो अहिले सरकार प्रमुख छन्) र सेतै दाह्री पालेर सन्त जस्ता देखिने कामु प्रधानन्यायधीश दामोदर प्रसाद शर्माले समेत यो सत्याग्रह नबुझ्नु चाहीं उदेक लाग्दो कुरा हो ।
जसरी हत्याको अभियोग लागेका एक कार्यकर्ता पक्राउ पर्दा मात्रै एमाओवादीले गरेको बन्दलाई तीजको सरजाममा जुटेका चेलीले निष्प्रभावी बनाउन भूमिका खेले, त्यसैगरी आउँदा दिनमा विभिन्न किसिमबाट पीडित सबैजना हिंसाविरुद्ध ओर्लिन थाले भने सत्याग्रहको अर्थ नबुझ्नेहरुका लागि साँच्चै महंगो पर्नेछ ।