ब्लगआइतबार, भाद्र २३, २०७०

गोर्खापत्र मा मट्टीतेल

दीपक अर्याल

‘मट्टीतेल जो आजकाल घर घरमा इस्तेमाल हुन्छ, यसलाई १०० वर्ष पहिले कोही जान्दैनथ्यो । अमेरिकाका मूल निवासी पर्वतहरूमा कहीं कहीं प्याट्रोलियम अर्थात् चट्टानको तेल चुहेको देखेर, हातमा थापी मुखमा घस्तथे अथवा नदीनालामा चिल्ला थोप्ला पौरेको जम्मा गरेर लिएर गठियाका वेरामीलाई औषधीका तवरमा लाई पनि दिन्थे, खान पनि दिन्थे’ – गोर्खापत्र ले ४ मंसीर १९८० र ५ साउन १९८२ को अंकमा मट्टीतेलबारे यसरी जानकारी दिएको थियो ।

भारतसँगको सीमा क्षेत्र र काठमाडौंलाई छाड्ने हो भने त्यो वेलासम्म नेपालभित्र मट्टीतेल प्रचलनमा थिएन । गोर्खापत्र ले यो समाचार छापेको ५० वर्ष अगाडिसम्म अर्थात् वि.सं. १९३० सम्म भारतकै पनि धेरै क्षेत्रमा यसको प्रचलन थिएन । त्यसैले हुनसक्छ, गोर्खापत्र ले यस विषयमा निकै परिश्रम गरेर धेरै जानकारी दिन खोजेको छ ।

५ साउनको अंकमा गोर्खापत्र लेख्छ– ‘जसै त्यस देशमा अंग्रेजहरूको अधिकार भएथ्यो अनि इनीहरूले तिनीहरूले गरेको देखेर उसै गर्न लागे । इनीहरू कम्बल, मोटा कपडाहरूलाई पहाडहरूमा, नदीहरूमा हालेर तिनमा तेल शोसी लिन्थे र पछि त्यही निचोर्दथे । यसलाई कहिले कहिले मानिस बेच्ने पनि गर्दथे । यसको नाम ‘सनिका आयल’ राखेका थिए । यो औषधिका हिसाबमा विक्दथ्यो । सन् १८४६ मा डाक्टर अब्राहिमले कोइलाबाट बाल्न योग्य ‘कोल आयल’ निकाले । यसलाई मानिस ‘कैरोसीन आयल’ भत्र लागे ।’

सन् १९२८ (वि.सं. १९८५) मा बर्मा सेल आयल स्टोरेज एण्ड डिष्ट्रिब्युटिङ कम्पनी अफ इन्डिया लिमिटेडले मट्टीतेलको आयात तथा बजार प्रवद्र्धन थालेपछि बत्ती बाल्न र शरीरमा लगाउन तोरी, तील, महुवा, सस्र्यौं आदिको तेल प्रयोग हुने त्यो समयमा मट्टीतेल प्रचलित हुँदै गयो । यसको गन्धका कारण भारतीय गाउँहरूमा मट्टीतेल तुरुन्त स्वीकार्य चाहिं भएन । जर्मनी, अष्ट्रिया, अमेरिका आदि देशहरूबाट आएका सजिलो ल्याम्प, लालटेन लगायतका साधनहरूले मट्टीतेलको लोकप्रियता बढायो । तोरी, सस्र्यौं आदिको तेलभन्दा सस्तो भएकाले मट्टीतेललाई दैनिक जनजीवनको हिस्सा बन्न अझ् सजिलो भयो ।

दोस्रो महायुद्धपछि बिजुली र ग्याँसको उत्पादन तथा बिक्री–वितरणमा आएको व्यापकताले विश्वमा मट्टीतेलको प्रयोग कम हुन थाल्दा नेपालमा त्यसको ठीक विपरीत हुन गयो । सन् १९८५ पछि मात्र मट्टीतेलको प्रयोग घट्न थालेको नेपालमा ग्रामीण क्षेत्रका लागि मट्टीतेल अझै अपरिहार्य छ । अहिले नेपाल मट्टीतेल उपभोग गर्ने प्रमुख राष्ट्रहरूको सूचीको ४३ औं नम्बरमा छ । अन्य देशहरूले औद्योगिक क्षेत्रमा मात्र प्रयोग गरिरहेको मट्टीतेल नेपालमा बाल्नेदेखि पकाउनेसम्मका काममा चलाइन्छ ।

सुरेश शर्माद्वारा सम्पादित जर्नल ‘इनर्जी प्राइसिङ पोलिसिज इन नेपाल’का अनुसार काठमाडौं उपत्यकामा सन् १९७४–७५ देखि १९८३–८४ सम्म मट्टीतेलको खपत वर्षेनि ३.५ प्रतिशतका दरले बढेको थियो । त्यसपछि भने देशभर व्यापक हुन थालेको विद्युत् र ग्याँसले मट्टीतेललाई क्रमशः विस्थापित बनाउँदै लग्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...