रमझमआइतबार, भाद्र २३, २०७०

शास्त्रीय संगीत, बढ्दो आकर्षण

Rishiram Kattel

तबलाबादक होमनाथ दाहाल, गायक मनमोहन थपलिया र नृत्यांगना सुविमा श्रेष्ठ ।

कुनै समय उमेर छिप्पिएका साधकहरूको पेवा जस्तो ठानिएको नेपाली शास्त्रीय संगीतमा युवा कलाकारहरूको आगमन आफैंमा शुभसंकेत भएको छ । वरिष्ठ साधक डा. ध्रुवेशचन्द्र रेग्मी यसलाई कलाकारहरूले शास्त्रीय संगीतको महत्व बुझ्न थालेको परिणाम मान्छन् । डा. रेग्मी भन्छन्, “शास्त्रीय संगीत हरेक किसिमका संगीतको व्याकरण भएको बुझाइ बढेको छ ।”

डा. रेग्मीले अहिले शास्त्रीय संगीतमा आइरहेका युवा कलाकारहरूमा समर्पणको पर्याप्त लक्षणहरू देखेका छन् । सबै प्रकारका संगीतको आधार मानिने शास्त्रीय संगीतमा युवा निर्लिप्तता बढेको राजधानीमा भइरहेका यससम्बन्धी गतिविधिले पनि देखाउँछन् ।

अहिले एक से एक नयाँ कलाकार देखिन थालेका छन्, जसमा शास्त्रीय संगीतका गुरुहरू धेरै विश्वस्त छन् । कलाकार मात्र हैन यसका अनुरागी पनि बढेको किराँतेश्वर संगीत आश्रमकी महासचिव सरिता मिश्र बताउँछिन् । उनी भन्छिन्, “मूर्झाए झैं लाग्ने नेपाली शास्त्रीय संगीतमा दुई÷चार वर्षयता पुनर्जागरण आएको ।”

बाँसुरीवादक नागेन्द्र राई, तबलावादक प्रमोद उपाध्याय र सितारवादक ध्रुवेशचन्द्र ।

शास्त्रीय युवा लहर
स्वर्गीय अतुल गौतम सहित आजका चर्चित साधकहरू सरिता मिश्र, विनय बर्मा, शेषनारायण श्रेष्ठ, पंकजप्रकाश नेपाल लगायतले २०४५ सालमा पशुपति क्षेत्रमा रहेको अतुलको घरमा शास्त्रीय संक्रान्ति कार्यक्रम शुरु गरेका थिए ।

२०४८ मा किराँतेश्वर आश्रममा फुलमुन कन्सर्ट नाममा हरेक महीनाको पूर्णिमामा शास्त्रीय संगीत कार्यक्रम शुरु गर्ने पनि यही समूह थियो, जुन निर्विघ्न संचालनमा छ । २०४९ मा पशुपति संगीत कला प्रतिष्ठानले हरेक महीनाको एकादशीमा अर्को शास्त्रीय संगीत कार्यक्रम शुरु ग¥यो । तर, यसबीचमा सीमित कलाकार, प्रचार–प्रसारको कमी र आर्थिक अभावका कारण शास्त्रीय संगीतको सरगर्मी शिथिल हुनपुगेको थियो ।

तर, अहिले यो क्षेत्रमा प्रष्टै अनुभव हुनेगरिको गतिविधि हुन थालेको पद्मकन्या क्याम्पसका संगीत विभाग प्रमुख धनबहादुर गोपाली बताउँछन् । शास्त्रीय संगीतका वरिष्ठ कलाकर गोपाली नेपाललाई अहिले ज्ञाता भन्दा पनि राम्रो प्रयोक्ता र गायक–गायिका आवश्यक भएको बताउँछन् । अहिले बढेका कलाकार र जनरुचिले त्यस्तो सम्भावनालाई बलियो बनाएको उनको मूल्यांकन छ ।

नभन्दै अहिले राजधानीमा शास्त्रीय संगीतका १४ वटा नियमित कार्यक्रम भइरहेका छन् । नयाँ कलाकारका लागि यी कार्यक्रमहरू गजबका ‘प्लेटफर्म’ भएका छन् भने कतिपय नयाँले आफैं नयाँ कार्यक्रम शुरु गरेका छन् ।

मुलुक गणतन्त्र भएपछि बन्द भएको नारायणहिटीको शास्त्रीय संगीत कार्यक्रमलाई युवा कलाकारहरूको संस्था ललित सांस्कृतिक प्रतिष्ठानले पुनर्जीवन दिएको छ । संगीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले शोभा भगवतीमा नियमित शास्त्रीय संगीतको तयारी गर्दैछ ।

कुनै वेला शम्भुप्रसाद मिश्र, साम्बदेव सापकोटा, होमनाथ उपाध्याय, उमा थापा, नरराज ढकाल, रंगराव कादम्बरी, भवनाथ उपाध्याय, मोहनप्रसाद जोशी, मोहनसुन्दर श्रेष्ठ लगायतले धानेको नेपाली शास्त्रीय संगीतमा अहिले युवक–युवतीको लर्को नै लागेको छ । किराँतेश्वर संगीत आश्रमकी महासचिव मिश्र यो लर्कोमा होनहार र समर्पित कलाकारहरूको संख्या उल्लेख्य रहेको देख्छिन् ।

मिश्र लगायतका अहिलेका शास्त्रीय संगीतका गुरुहरूको मूल्यांकनमा यी युवामध्ये गायनमा रमेश पोखरेल, श्री केसी, मनमोहन थपलिया, सीता थापा, मालती आचार्य, तेजवती जोशी, सुजाता बर्मा होनहार हुन् ।

त्यसैगरी; मनोज गौतम, प्रमोद उपाध्याय, मिलेश तण्डुकार, अनन्त प्रजापति, जगन्नाथ धगौडा, सन्तोष बर्मा तबलाका प्रतिभा हुन् भने दुर्गा खतिवडा, नागेन्द्र राई, धनबहादुर गुरुङ, उमेश पण्डित, अमृता उप्रेती, सरोज अधिकारी बाँसुरीका ।

डा. अन्जु उप्रेती, रामकुमार अर्याल, डा. श्रवण जोशी, सीतामैया राजचर सितारका सितारा हुँदैछन् । यीमध्ये धेरैजसो भारतमा विम्युज, एमम्युज गरेर आएका प्रतिभा हुन् भने अन्जु उप्रेती र श्रवण जोशी संगीतकै विद्यावारिधि हुन् ।

शिव परियार, मदन गोपाल, राज सिग्देल आदि अहिलेका चर्चित गायकहरूको आधार पनि शास्त्रीय संगीत नै हो । शास्त्रीय गायनमा चर्चित रमेश पोखरेल, श्री केसी, मनमोहन थपलिया, मालती आचार्य, सुजाता बर्मा लगायतका कलाकारले सुगम संगीतमा पनि कमाल देखाउन थालेका छन् । “तर, नेपाली संगीतमा यिनीहरूको प्रभाव देखिन केही समय लाग्नेछ”, शास्त्रीय संगीतका गुरु विनय बर्मा भन्छन्, “किनभने, नेपालमा शास्त्रीय संगीतको राम्रो ज्ञान नभएकाहरूले चलाएको सिक्का चौतर्फी छरिएको छ ।”

बल्ल महत्व बुझ्न थाले
डा. ध्रुवेशचन्द्र रेग्मी, वरिष्ठ सितारवादक

बूढापाकाले मात्र गाउने/बजाउने हो शास्त्रीय संगीत भन्ने आम सोचाइ थियो । अहिले शास्त्रीय संगीतको अध्ययन÷साधना सबै कलाकारले गर्नुपर्छ भन्ने बुझाइ देखिएको छ । पहिला सीमित कलाकार थिए भने अहिले यो विधाको गरिमा बढाउन धेरै तन्नेरीहरू आएका छन् । नियमित शास्त्रीय कार्यक्रम बढेका छन् । श्रोता पनि उत्तिकै बढेका छन् ।

शास्त्रीय संगीतको अध्ययन नगरेका कलाकारहरूलाई पनि यो जान्नै पर्ने विद्या रहेछ भन्ने लाग्न थालेको मैले बुझिरहेको छु । तर, २–४ महीना सारेगम रटेर गीत गाउने कलाकार एक–दुई वर्षमा हराइहाल्छन् । कलाकारलाई साधनाबाट आउने कालजयी सिर्जनाले टिकाउने हो । शास्त्रीय संगीत त्यस्तो सिर्जना गर्न सिकाउने व्याकरण हो । यसले पुरातनमा टेकेर नूतन सिर्जना गर्न सिकाउँछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>