टिप्पणीसोमबार, भाद्र २४, २०७०

घुमिफिरी रुम्जाटार

रघु पन्त

नेकपा एमाले, नेपाली कांग्रेस र एमाओवादीका नेताहरू सहमतिका नाममा अवाञ्छित माग गर्ने स–साना क्षेत्रीय–जातीय दलहरूसँग झुकिरहेको अवस्थाले मुलुकको आगामी राजनीति सहज हुने संकेत गर्दैन । क्षेत्रीय–जातीय पार्टीहरूको दबदबा यसैगरी बढ्दै जाँदा राष्ट्रिय राजनीतिका यावत पक्षहरूमा त्यसको प्रभाव पर्दै जानेछ ।

क्षेत्रीय–जातीय पार्टीहरू यसै पनि साँघुरो परिवेशका बन्दी हुन्छन् । उनीहरूको चिन्तनले राष्ट्रिय आवश्यकताको व्यापक परिप्रेक्ष्यलाई समेट्न नसक्ने मात्र होइन, राष्ट्रिय विषयवस्तुसँग द्वन्द्व बढाएका थुप्रै उदाहरण पाइन्छ ।

दलहरूको मनोदशा

२५ बुँदे बाधा अड्काउ फुकाउको आदेश र ११ बुँदे सहमतिको मस्यौदा भइरहँदा दोस्रो तहका नेताहरूले ‘दोस्रो संविधानसभा निर्वाचन गर्न ६०१ सभासद् संख्याले बाधा पु¥याएको देखिंदैन, यसलाई जस्ताको तस्तै रहन दिने कि ?’ भनेर सोध्दा चारै दलका शीर्ष नेताहरू त्यो संख्याप्रति जनताको विरोध रहेको तथ्यमा गम्भीर हुँदै त्यसलाई घटाउने निष्कर्षमा पुगेका थिए । शीर्ष नेताहरू चुनिएर आउने (२४०) को संख्या घटाउन थाल्दा महीनौं लाग्ने, निकै विवाद पनि हुन सक्ने र मंसीरका लागि निर्धारित चुनाव पनि धकेलिने निर्वाचन क्षेत्रलाई नचलाउने निष्कर्षमा पुगेका थिए ।

समानुपातिकमा पनि धेरै घटाउन उपयुक्त नहुने कुरामा मतैक्य भएकोले त्यसलाई प्रत्यक्ष बराबर अर्थात्, २४० कायम राख्ने सहमति भएको थियो । तर, उपेन्द्र यादवको मोर्चासँग संविधानसभा सदस्य संख्या ५८५ पु¥याउन राजी भएको शीर्ष तहले अशोक राईको संघीय समाजवादी पार्टीसँग ६०१ मा सहमति गरेर राजनीतिलाई घुमाई–फिराई उही रुम्जाटार पुर्‍याएको छ । प्रमुख दलहरू जसरी पनि ४ मंसीरमा निर्वाचन होस् भन्ने मनोदशामा रहेकाले जसको जस्तो शर्त पनि मन्जुर गरिरहेका देखिन्छन् । उनीहरूले अहिले जसरी हुन्छ चुनाव होस् भन्नेमा केन्द्रित छन्, चुनावपछि कस्ता शक्तिहरू कति संख्यामा निर्वाचित भएर आउलान् भन्ने हिसाब गर्न भ्याएका छैनन् ।

चार दलका शीर्षहरूले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग औपचारिक वार्ता नगरे पनि टेलिफोन र अरू माध्यमका कुराकानी जारी राखेका छन् । यस्तो संवादमा माओवादी लचिलो भए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । संघीय समाजवादी मंसीरको निर्वाचनमा सामेल हुने भएपछि नेकपा–माओवादी दबाबमा परेको पनि छ । तर, यत्ति नै पर्याप्त छैन, उसलाई निर्वाचनमा ल्याउन प्रमुख दलहरूले अझ्ै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

दलहरू नाफाघाटाका आ–आफ्नै हिसाबमा छन् । चुनावमा एमालेको मत घटाएर फाइदा लिने हिसाबमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अशोक राईको संघीय समाजवादी पार्टीलाई बेलुन झैं फुकिरहेका छन् । उनी संघीय समाजवादी र मधेशी दलहरूसँगको तालमेलबाट सीट बाँडचुँड गरेर भए पनि वैद्यहरू फुटेर जाँदा भएको घाटा कम गर्ने चुनावी रणनीतिमा देखिन्छन् । तर, उनको ‘प्रेम प्रस्ताव’लाई संघीय समाजवादी र मधेशी दलहरूले स्वीकारिसकेको छैन । दाहाल वैद्यहरू निर्वाचनमा आएर मिलेर जान तयार भएमा सम्मानजनक संख्याका सीट दिन पनि तयार हुनेछन् ।

माओवादीको द्विविधा
वैद्य माओवादी निर्वाचनमा आएर एमाओवादीसँग तालमेल–भागबण्डा भयो भने दाहालको राजनीतिक विजय हुनेछ । उनले फुटेको समूहलाई चुनावमा ल्याएँ भन्न पाउने छन् भने वैद्यको नैतिक पराजय हुनेछ । निर्वाचनमा भाग लिएर दाहालको सहयोग विनै आगामी संविधानसभामा पार्टीलाई एउटा शक्तिको रूपमा उभ्याउन सक्दा भने वैद्यको राजनीतिक उँचाइ बढ्नेछ । वैद्यले यस्तो सम्भावनाको खोजी गर्दै पार्टीलाई निर्वाचनमा सहभागी गराए भने आगामी राष्ट्रिय राजनीतिलाई सहज बनाउन सघाउ समेत पुग्नेछ ।

संघीय समाजवादी समेत सहमत भएको र चुनावी सरगर्मी पनि बढेको अवस्थामा वैद्य माओवादी पनि निर्णयहीन अवस्थामा बसिरहन सक्दैन । यथार्थमा उभिएर राजनीति नगरी सपनाहरूको फूलझ्डी मात्र छोड्ने कर्मले जनतामा स्थापित नगर्ने हुनाले उसले छिटो निर्णय गर्नुपर्छ र निर्वाचन मार्फत राष्ट्रिय राजनीतिलाई लोकतान्त्रिक दिशातिर मोड्ने भूमिका खेल्ने आँट गर्नुपर्छ । तर, अहिले नेकपा–माओवादीमा देखिने नेताहरू मोहन वैद्य, सीपी गजुरेल र बादल भए पनि नदेखिनेहरू हावी हुँदा पार्टी अन्तरद्वन्द्व, अन्योल र द्विविधाबाट गुज्रिरहेको छ । परिणाम, पार्टीले राष्ट्रिय राजनीतिमा प्रष्ट निर्णयहरू लिन सकिरहेको छैन ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>