ब्लगमंगलबार, भाद्र २५, २०७०

फर्कन आँट चाहिन्छ

दिनकर नेपाल

अमेरिकाबाट फर्केर काठमाडौंमा ‘कफी टक’ नामको क्याफे चलाइरहेका नारायण खकुरेलको चिन्ता छ, स्वदेशमा केही गर्न खोज्दा आफन्तहरूले टाउको दुखाउनु । स्वदेशमै केही गर्न विदेशबाट फर्केकामा यो समस्या भोग्ने उनी एक्ला होइनन् । विदेशबाट फर्कन धेरै हच्किनुमा यो पनि एउटा कारण रहेको देखिन्छ ।

सपनाले बिगारेको संसार

रेमिट्यान्सले सामाजिक (सांस्कृतिक क्षति र पारिवारिक विखण्डन) समस्या ल्याउँदैछ भन्ने धेरै घटनाले देखाउँदै छन् । भर्खरै स्याङ्जाको दहथुम गाविसमा भएको घटना त्यसको उदाहरण हो, जसले लाखौं नेपालीको ‘स्वेच्छिक देशनिकाला’ को परिणाम उजागर गर्छ ।

पति विदेशमा रहेकी एउटी महिला गर्भवती भएर गाउँमा खैलाबैला भएपछि महिलाले आफ्नै ससुरालाई इङ्गित गरिछन् । ससुरासँगै प्रहरीले ती महिलालाई पक्राउ गरेर थुनेपछि बयान फेरेर उनले आफ्नै १४ वर्षे छोरोलाई आरोप लगाइछिन् । छोराले पनि उनको आरोप स्वीकारेको थाहा पाएपछि गाउँ, क्षेत्र र जिल्लामै चर्चाको विषय बनेछ । पछि महिलाले त्यो बयान पनि फेर्दै दबाबले त्यस्तो भनेको र छोराले पनि कुटपीट सहन नसकेर त्यो स्वीकारेको बताएको समाचार छ ।

त्यो घटनाले एकै पटक महिला अधिकार, पारिवारिक यौन शोषण र बालअधिकार सम्बन्धी प्रश्न उठाएका छन् । तर, यीभन्दा पनि ठूलो विषय रेमिट्यान्सले समाजमा पारेको प्रभाव हो । प्रकाशमा नआएका यस्ता कैयौं घटना छन्, जसले पति—पत्नीको सम्बन्धविच्छेद गराएका, गाउँघर रित्याएका, चाडपर्व बेरंग बनाएका र स्वस्थ समाज निर्माण गर्ने तन्तु कमजोर पारेका छन् । अभिभावक विदेश हुँदा बालबालिका सही रेखदेख र मायाको अभावमा दुव्र्यसनतिर लागेका घटना पनि धेरै नै छन् ।

झिनो आशा

मावि पढाउन छाडेर विदेशिएका मेघनाद पौडेल मलेशिया र खाडीमा सात–आठ वर्ष बरालिंदा पनि सन्तोषजनक प्रगति नभएपछि देश फर्के । त्यही वेला स्याङ्जा पशु सेवा कार्यालयका प्राविधिक सुशील अर्याल बोयर जातको अफ्रिकन बाख्रा र स्थानीय खरी बाख्राबीच क्रस गरेर बाख्रापालन गर्दा व्यावसायिक फाइदा लिन सक्ने टुंगोमा पुग्दैथिए ।

उनीहरू दुई जनाको भेट भएपछि अहिले वालिङ नगरपालिका—१०, पेखु ठानामा बोयर बाख्रापालन शुरू भएको छ । जसबाट मेघनादले वर्षकै झ्न्डै रु.७ लाख आम्दानी गर्न थालेका छन् । उनीहरूको यो सफलता देखेर त्यो गाउँका ७० घरले बाख्रापालनलाई पछ्याएका छन् । जसमा स्वदेशमै केही गर्ने अठोट लिएर विदेशबाट फर्केका युवा पनि छन् ।
स्याङ्जाकै ७६ वर्षीय उत्साही किसान टेकबहादुर दर्लामीको प्रयास झनै प्रशंसा लायकको छ ।

उनले अहिले पाँच वटा भैंसी पालेर एउटा पोखरीमा माछापालन र लगभग पन्ध्र रोपनी जमीनमा घाँसखेती गरिरहेका छन् । आफ्नै बारीको कफी पिलाउँदै उनले झ्न्डै १५ वर्षदेखि त्यसरी नै खेतीमा लागेको हामीलाई सुनाए । बेलायती सेनामा भर्ती हुने प्रयास तीन पल्ट असफल भएपछि मिस्त्री काम गरेका उनी त्यसपछि कृषिमा लागेका रहेछन् । अहिले त्यही कृषिबाट उनले त्यहाँ दुई वटा घर बनाएका छन् भने मधेशमा पनि केही जमीन जोडेका छन् ।

स्वेच्छाले वा पारिवारिक दबाबले विदेशिएका युवामध्ये यहीं केही गर्न सक्ने धेरै भए पनि आफू विदेशमा रहँदा परिवार र समाजलाई पार्ने दूरगामी असर नबुझेकाले अझै फर्किन सकेका छैनन् भने फर्कन चाहनेलाई परिवार र समाजको नफर्कन दबाब पनि छ । स्याङ्जाको बाख्रापालनको समाचार यू ट्युबमा हेरेर कैयौंले विदेशबाट त्यसबारे बुझन फोन गरे पनि फर्कन आँट गर्ने थोरै मात्र देखिएको अर्याल बताउँछन् । तर पनि स्याङ्जा, गोरखा, तनहुँ, काभ्रे र पाँचथर समेत झ्न्डै १५ ठाउँमा आउँदो दुई वर्षमा विदेशबाट फर्केका युवाले कृषि शुरू गर्ने योजना बनाइसकेको उनको भनाइ छ ।

विदेशमा कुनै सूचनाप्रविधि कम्पनीमा काम गर्ने जस्तो सुकिलो देखिने घुम्रेका लामा कपाल भएका नारायण खकुरेललाई क्याफेमा खटेको देख्दा खिसी गर्ने अहिले धेरै भए पनि हाम्रो भविष्य उनको आँट र परिश्रमबाट प्रेरणा लिनेहरूको काँधमा रहेकोमा भने कुनै विवाद छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...