Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दारेसलामका डान्सबार - Himalkhabar.com

रिपोर्टबुधबार, भाद्र २६, २०७०

दारेसलामका डान्सबार

हिमालखबर

तस्वीर: शीताष्मा थापा

– शीताष्मा थापा, दारेसलाम
उनको कालो रंगको अति छोटो कपडामा सुनौलो बुट्टाहरू चम्किरहेका छन् । अन्य १२ नेपाली युवतीसँगै स्टेजमा आएकी उनको आँखाको श्रृंगार पनि उस्तै चहकिलो छ । लामो कालो केशलाई हावामा लहराउँदै मादक हाउभाउका साथ नृत्यको फन्को मारेर परिवेशलाई उत्तेजक बनाउने उनका अफ्रिकी र भारतीय प्रशंसक पनि धेरै नै देखिए । कुनै वेला उनको नृत्य हेर्न नेपालीहरू पनि आइपुग्छन् । हरेक प्रस्तुतिमा उनलाई डान्सबारका नियमित ग्राहकहरूले माला र ताजले सजाइदिन्छन् । त्यो नै उनले पाउने ‘टिप्स’ हो ।

नेपालीहरूसँग तर्कने र नाम–ठेगाना सोध्दा टाउको निहुर्‍याउने उनले यो अफ्रिकी मुलुक तान्जानियाको राजधानी दारेसलाम आएको तीन महीना भएको बताइन् । त्यसो त, उनी आइनपुग्दै दारेसलामका डान्सबारहरूमा ‘सिम्पल सिम्पल कान्छीको’, ‘च्याङ्बा हो च्याङ्बा’, ‘मुसुमुसु हाँसी देऊ न’ लगायतका नेपाली गीतहरू ‘हिट’ भइसकेका थिए । भाषा नमिल्ने ठाउँमा ती गीतहरूलाई उत्तेजक नृत्य मार्फत ‘हिट’ बनाउने दलाल मार्फत यहाँ आएका उनी जस्ता नेपाली युवतीहरू नै हुन् । काम खोज्दै यति टाढा आएका यी चेलीहरूको अवस्था देख्दा मनोरञ्जन खोज्दै डान्सबार पुगेका नेपालीहरूको मन खङ्ग्रङ्ग हुन्छ ।

तान्जानियादेखि मडगास्करसम्म
सबैलाई थाहा छ, आफ्नै देशमा दुईपैसा बचत हुनेगरिको अवसर भए यी युवतीहरू तान्जानियामा मन रुवाउँदै नाचिरहेका हुने थिएनन् । अफ्रिकाका डान्सबारहरूमा उनीहरूलाई देख्दा हरेक नेपाली ग्राहकलाई बिल्कुलै गलत भइरहेको भन्ने लाग्छ, तर सबैले बाध्यताका बीच मन मारेर आ–आफ्नो बाटो समात्नु परेको छ । “आफ्नै देशका चेलीबेटीलाई यहाँ यो अवस्थामा देख्दा पक्कै नराम्रो लाग्छ”, एक जना नेपाली ग्राहकले कठोर हुँदै भने, “तर, त्यसो भन्दैमा बेठीक हो भन्दै चिच्याइहाल्नु पनि जरूरी छैन ।”

दारेसलामका डान्सबारहरूमा नेपालले ‘नाच्ने केटीहरूको देश’ भन्ने परिचय बनाएको छ । कान्छी शब्दले ‘सेक्सी डान्स गर्ने नेपाली केटी’ भन्ने अर्थ धारण गरेको छ । दारेसलामका डान्सबारहरूमा अहिले ६० भन्दा बढी नेपाली युवती रहेको यहाँ अन्य काम गरेर बसेका नेपालीहरूको अनुमान छ । उनीहरूका अनुसार, नेपाली युवतीहरू नेल्सन मण्डेलाको दक्षिण अफ्रिकादेखि केन्या, नाइजेरिया, कंगो र मडगास्करसम्म छ्यापछ्याप्ती भइसकेका छन् ।

गत असार पहिलो साता केन्याको राजधानी नैरोबीमा १० नेपाली युवती पक्राउ परेका थिए (हे. http://www.standardmedia.co.ke/?articleID=2000086453 )। बैतडीदेखि ताप्लेजुङसम्मका ती युवतीहरूमाथि वेश्यावृत्ति र लागूऔषध हेरोइन लिएको आरोप लागेको थियो । ती युवतीहरूलाई उत्तेजक मुजरा डान्सका लागि मानव तस्करहरूले केन्या ल्याएको स्ट्याण्डर्ड डिजिटल अनलाइन समाचारले बताएको थियो । दलालहरूले कतिपय नेपाली युवतीहरूलाई युरोप–अमेरिकामा काम लगाइदिने भन्दै ‘अन अराइभल’ भिसा पाइने अफ्रिकी मुलुकहरूमा पुर्याउने गरेका छन्, जहाँ उनीहरूलाई ‘मुजरा’ बारहरूमा नाच्न बाध्य पारिन्छ ।

धेरैजसो भारतीय नागरिकहरूले खोलेका यस्ता बारहरू वेश्यावृत्तिका अड्डा मानिन्छन् । सन् २००५ मा भारतमा मुजरा बारहरू प्रतिबन्धित भएपछि त्यहाँ लाखौं नर्तकी बेरोजगार भएका थिए । भारतीय मनोरञ्जन व्यवसायीहरूले दलाल मार्फत तिनै नर्तकीहरूलाई अफ्रिका लगेर मुजरा बारहरू खोलेका थिए । भारतमा चर्को सामाजिक विरोध भएपछि मुजरा देखाउने बारहरू बन्द गरिएका थिए ।

अफ्रिकाका यस्ता डान्सबारका संचालक धेरैजसो भारतीय नै छन् । उनीहरू सबै बद्मास नै हुन्छन् र सबैले वेश्यावृत्ति नै गराउँछन् भन्ने चाहिं हैन । दारेसलामकै डान्सबारमा आत्मसम्मानका साथ मिहिनेत गरेर राम्रै पैसा कमाएको काठमाडौंमा भेटिएकी त्रिशूलीकी रेश्मा श्रेष्ठ (२७) ले बताइन् (हे.बक्स) । दारेसलामकै टप अफ द टाउन (टीओटी) डान्सबारमा एक वर्ष काम गरेकी मोरङकी टीना लामा (परिवर्तित नाम) भन्छिन्, “डान्सबारमा नाच्ने भन्दैमा सबै ठाउँमा खराब व्यवहार हुन्छ भन्ने छैन, तान्जानियामै पनि डान्सबारहरूका आ–आफ्नै तरीका छ (हे.बक्स) ।”

तलबले घर फर्कन सकिन्न
कतिपय युवतीलाई भाग्यले साथ दिए पनि धेरैजसोलाई डान्सबारहरूले यौन धन्दामा लगाउँछन् भन्ने आम बुझइ छ । नृत्य मात्र गर्ने हो भने यहाँ पाइने प्रति महिना सरदर नेरु.३२ हजार तलबले कहिल्यै घर फर्कन नसकिने एक नेपाली युवतीले बताइन् । ती युवती कार्यरत बारको स्टेजको तस्वीर खिच्दा बाहिर निकालिएको यो संवाददातालाई क्लोज सर्किट क्यामराबाट जोगिंदै उनले भनिन्, “बडा गाह्रो परिस्थितिमा छौं ।”

दलालहरूले नेपाली युवतीलाई बस र रेलमा भारत पुर्याएर त्यहाँबाट हवाईमार्गबाट अफ्रिका पुर्याउँछन् । अर्काथरी दलालले युवतीहरूलाई सांस्कृतिक टोलीका सदस्य बनाएर विभिन्न सांस्कृतिक कार्यक्रमका लागि भन्दै काठमाडौंबाट विमान चढाएर कतार र दुबईहुँदै अफ्रिका पुर्‍याउँछन् । दलालको भन्दा पनि साथीहरूको विश्वासमा कतार हुँदै तान्जानिया पुगेकी रेश्मा श्रेष्ठले त्यहाँको विमानस्थलमा ‘प्रोग्राम’को लागि आएको भनेपछि धेरै सोधपुछ नगरी भिसा लगाइदिने बताइन् । दुई पटक दारेसलाममा काम गरेकी उनले पनि आधा तलब चाहिं दलालले खाने बताइन् ।

दलाललाई आधा तलब बुझएका रोजगारदाताले ‘बँधुवा मजदूर’ बनाएका यस्ता युवतीहरूसँग श्रम इजाजतपत्र हुने कुरै भएन । उनीहरूको पासपोर्ट मालिकले पहिल्यै ‘क्याप्चर’ गरेका हुन्छन् । पर्याप्त कागजात विनै दलाल मार्फत स्थलमार्गबाट भारत पुग्ने नेपाली युवतीहरूलाई दिल्ली र मुम्बई विमानस्थलबाट अफ्रिकाका विभिन्न देश पु¥याइन्छ । हरेक महीना सरदर ५० नेपाली युवती अफ्रिकी मुलुक गइरहेको बताउने भारतीय अध्यागमनका एक अधिकारी भन्छन्, “तपाईं नेपाली हो भने उनीहरूका लागि केही गर्नुहोस् ।”

तर, तान्जानियाकै कमाइले काठमाडौंमा घर बनाएकी त्रिशूलीकी रेश्मा भने नेपाल सरकारले बद्मासी गर्नेलाई कारबाही र मिहिनेत गर्नेको लागि संसार खुल्ला गर्नुपर्ने बताउँछिन् । “हामी अफ्रिका डराई–डराई जानुपर्छ, गएर भिसा किन्नुपर्छ”, रेश्मा भन्छिन्, “सरकारले कानूनी प्रक्रियाबाटै जान पाउने व्यवस्था गरे सुरक्षित र मर्यादित दुवै महसूस गर्न पाइन्छ ।”

काठमाडौंबाट सरला गौतम

यो पनि हेर्नुहोस: ‘ग्राहकले सुनको पाउजु ल्याइदियो’

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>