ब्लगमंगलबार, आषाढ १२, २०६९

‘एसेसिनेशन्’:रामानन्द चोक र वागमती किनार

कनकमणि दीक्षित

रामानन्द चोकमा हत्या गरिएकी कलाकार रञ्जु झा र वागमती किनार गोली प्रहार गरिएका न्यायाधिश रणबहादुर बम।

शोकसन्तप्त पीडितजनले २२ जेठमा माडी हत्याकाण्डको आठौं वार्षिकोत्सव मनाए, तर हत्याका आरोपितहरू सार्वजनिक पद धारण गरिरहेका र खुलेआम नारायणघाट बजारमा आवतजावत छ । लमजुङ बेसीशहरमा मुक्तिनाथ अधिकारीको हत्याका आरोपितहरूको हालीमुहाली छ । १४ जेठमा संविधान पारित भएको भए हाम्रो सर्वोच्च कानूनमा अदालतले हत्यारा सावित गरेको बालकृष्ण ढुंगेलको पनि सही पर्ने थियो । कारागारमा बन्दीको जीवन बिताइरहेको हुनुपर्ने ढुंगेल सामान्य नागरिकले जस्तै ओखलढुंगा–काठमाडौं आवतजावत गर्छन् ।

विगतका थुप्रै हत्याको छानबिन र फैसला कार्यान्वयनमा घातक आलटाल भइरहेको बेला फेरि हत्याको श्रृंखला शुरू भएको छ । अहिले सर्वत्र प्रहरी सेवा, प्रशासन, अधिकारकर्मी तथा पत्रकारिता जगत कमजोर बनाइएका छन्स अनुसन्धान, अदालती प्रक्रिया र नागरिक पहरेदारी गर्ने सम्पूर्ण पंक्तिमा शक्ति ह्रास भएको छस हत्या कसले गरयो, गरायो खोजी गर्ने निकाय र जुझारु संस्थाहरू हतोत्साहित छन्, हत्याको श्रृंखला बढ्दो छ ।

हालैका दुई हत्याकाण्डले स्थिति भयावह बन्दै गरेको संकेत गर्दछन् । संघीयताको बहस चर्किरहेका बेला १८ वैशाखमा मिथिलाका सांस्कृतिक जुझरुहरू जनकपुरको रामानन्द चोकमा धर्ना बसे । सरकारमा आसीन लोकतान्त्रिक मधेशी मोर्चाले पूरै तराईको भूभागलाई गैर–अर्थशास्त्रीय, गैरतार्किक एक अथवा दुई मधेश प्रान्त बनाउन अड्डी लिएको बेला मध्यपूर्वी तराईका सांस्कृतिक अभियन्ताले मैथिल प्रान्तको लागि शान्तिपूर्ण आन्दोलन थालेका थिए । यसैगरी भोजपुरी र अवधी भाषीहरू पनि आ–आफ्नो तरिकाले अलग–अलग पहिचानका तराईकेन्द्रित प्रान्तको लागि जागरुक बन्दै थिए ।

एक्कासि रामानन्द चोक ब्लाष्टले स्तब्ध बनायो जनकपुरलाई । रंगकर्मी रञ्जु झासहित चार जनाको मृत्यु भयो, २७ जना घाइते भए । सबै त्रसित भए र मिथिला प्रान्तको लागि दबाब सेलाएको जस्तो भयो । तराईका अन्यत्रको भागको अभियान पनि त्यस्तै भए । काठमाडौंमा आसीन मधेशवादी मोर्चा नेतृत्वको धेरै सहानुभूति देखिएन जनकपुरको मरणमा, एक मन्त्रीले त त्यस्तो संवेदनशील घडीमा पनि मैथिल अभियन्ताहरूलाई गिराउने गरी बोले ।

रामानन्द चोक हत्याकाण्ड कसले रच्यो भन्ने प्रश्नको जवाफमा हेर्नुपर्दछ, त्यसले कसलाई ‘फाइदा’ गरयो रु हुनसक्छ, कुनै स्थानीय रीसइवीको कारणले भयो । तर, बढी सम्भावना मिथिलालाई समथरको छुट्टै प्रान्त देख्न नचाहने शक्ति, समूह वा गुटले गरयो । नत्र ब्लाष्ट गराउनुको अर्थ के रु नेपालको तराई भूभागमा सांस्कृतिक र भाषिक विविधतालाई स्वीकार्न नचाहने कुनै शक्तिले गरयो या गरायो भन्ने सम्भावना प्रबल देखिन्छ किनभने ब्लाष्टको तत्कालीन फाइदा त्यतैतिरको लागि भएको देखिन्छ ।

न्यायाधीश हत्या
१८ जेठ बिहान बगलामुखी मन्दिरबाट सर्वोच्च अदालत जाने क्रममा मोटरबाइकमा सवार दुई पिस्तोलधारीले वागमती किनार न्यायाधीश रणबहादुर बमको कार रोके । न्यायाधीश बम र अंगरक्षक महेश गिरीलाई मात्र नभई कारमा साथै सवार न्यायाधीशका मित्र राम गिरीलाई पनि पछ्याएर गोली हाने । गुहार माग्दै गरेका श्रीमान बमको मृत्यु सुनिश्चित भएपछि मात्र हत्यारा बाटो लागे ।

ठोकुवा गर्न सकिने अवस्था छैन, कसले किन मारयो सर्वोच्चको श्रीमानलाई । तर अनुमान लगाउन सकिन्छ । फरक निष्कर्षमा पुग्ने प्रमाण अगाडि नआएसम्म यति भन्न सकिन्छ– यो न्यायव्यवस्थाको मनोबल गिराउन रचिएको नियोजित राजनीतिक हत्या थियो । कुन गिरोहको कुन तप्काले के–कस्तो निर्देशन पाएर गरेको हो भन्ने कुरा हत्या गर्ने, गराउनेलाई मात्र थाहा होला यस बखतस तर हत्याको परिवेश र तरिका हेर्दा माथिको निष्कर्षमा पुग्न गाह्रो छैन ।

संक्रमणकालको अस्थिरतामाझ् राष्ट्रिय समाजलाई कानूनी प्रक्रियाको लिकमा राखिराख्न न्यायव्यवस्था र मुख्यतः सर्वोच्च अदालतले प्रभावशाली भूमिका खेलेको छ आजैसम्म । उग्र वामशक्तिले अराजकता मच्चाएर राज्यका हरेक संरचना भत्काएर राज गर्ने चाहना राख्दै आएको छ भने आज तराई–मधेशमा यस्तो चाहना राख्ने धेरै शक्ति जन्मिइसके । त्यस्ता शक्ति र समूहमध्ये जसले सम्पूर्ण मुलुकमा कानूनको राज ध्वस्त भएको हेर्न चाहन्छ, उसैले वागमती किनारमा न्यायाधीशको हत्या गरयो गरायो ।

श्रीमान बमको ‘टार्गेट’ छनोट एक सिपालु योजनाकारले गरेको देखिन्छ । उनीमाथि महाभियोग लगाउने कुरा चलिरहेको हुनाले उनले केही गैरनैतिक, गैरकानूनी काम गरेको शंका जनतामाझ् थियो । यसकारण उनको हत्या हुँदा आम नागरिकमा उनको विगतले नै उनलाई पछ्याएको हो कि भनेर विचार निर्माण हुनु स्वाभाविक थियो । यसरी हत्याको राजनीतिक मकसदको ढाकछोप हुने भयो, कसैको औंला त्यतातिर तेर्सिने भएन ।

उता योजनाको मूल उद्देश्य अनुसार केन्द्रदेखि जिल्लाका न्यायालयको मनोबलमा चोट पुरयाउने काम चाहिं भयो । न्यायालयलाई मात्र नभई पूरै कानून व्यवस्था र कानून व्यवसायलाई हतोत्साही बनाउने सम्भावना पनि रह्यो । ‘हे कानूनी शासन र जवाफदेहिताका कुरा गर्नेहरू हो, सर्वोच्चको न्यायाधीशलाई त हामी मेटाउन सक्छौं भने तिमीहरूको के कुरा !

कुनै बौलाहा या अनियन्त्रित शक्तिले मिथिलाका सांस्कृतिक जुझरु र श्रीमान् रणबहादुर बमको ज्यान लिएका होइनन् । दुवै हत्याकाण्ड ‘टार्गेटेड किलिङ’ थिए— राष्ट्रिय समाजलाई अस्तव्यस्त तुल्याएर आफ्नो जग बलियो बनाउने हिंसाप्रेमी तत्वहरूले गरेको राजनीतिक हत्या ।

-१–१५ असार २०६९ को हिमाल खबरपत्रिकामा प्रकशीत उकालो लाग्दा स्तम्भबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...