रमझमआइतबार, भाद्र ३०, २०७०
नेपाली छोरीका भोगाइ
तिम्रो माया उनान्सय मेरो माया सय
एक थप्छु म पनि हुन्छ दुई सय
बराबर तिम्रो हाम्रो माया बराबर…
चलचित्र ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ मा बराबरी मायाको गीत गाएका हरिवंश आचार्य बालबालिकाका लागि बराबरी शिक्षाको वकालत गरिरहेका छन्– टेलिभिजन कार्यक्रम ‘मैले जे भोगें’ मार्फत । दुर्गम गाउँघरका छोरीबेटीले भोगेका कथाव्यथा समेटिएको यो कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोगमा एन्टेना फाउन्डेसन, नेपालले तयार पारेको हो । ८ श्रृंखलाको कार्यक्रम २२ भदौदेखि हरेक शनिबार नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ । २९ भदौमा प्रसारित दोस्रो श्रृंखला बालिका शिक्षामाथिको विभेदमा केन्द्रित थियो । छोरीप्रतिको विभेद हटाउन कार्यक्रम सहयोगी हुने आचार्यको विश्वास छ ।
छोरीप्रतिको विभेद केलाउन कलाकार आचार्य नवलपरासीको श्री जनचेतना निमावि पुग्छन् । ३५२ विद्यार्थी भएको विद्यालयमा त्यस दिन २१० जना मात्र हाजिर थिए । प्रधानाध्यापक लक्ष्मी जीसीसँग घरदैलोमा गएका आचार्यले साना विद्यार्थी मामा र फुपूको घर गएको पाए । अलि ठूलाहरू चाहिं बाबुआमालाई काम सघाउन घरमै बसेका रहेछन् । आसिया खातुनले खाना पकाउँदा पकाउँदै ढिला भएर स्कूल नभ्याएको बताइन् भने सन्जु हरिजनले खेतमा आमालाई सघाउनु परेको रहेछ ।
रजस्वला भएर पनि हरेक महीना चार–पाँच दिन विद्यालयमा गयल हुने गरेका छात्राहरू नै आर्थिक कमजोरीका कारण समेत पढाइमा पछि पर्छन् । यो कारणलाई ध्यानमा राखेर शिक्षा विभागले आयआर्जन कार्यक्रम शुरू गर्न लागेको छ । विभागकी लैंगिक समविकास शाखाकी उपनिर्देशक दुर्गा कँडेल प्रस्तावित कार्यक्रममा समेटिएका अभिभावकले छोराछोरीलाई अनिवार्य रूपमा पढ्न पठाउनै पर्ने ‘मैले जे भोगें’ मा बताइन् ।
नवलपरासीबाट नेपालगञ्जको धम्बोजी पुगेका कलाकार आचार्य दर्शकलाई शिक्षाको उज्यालोमा मात्र आफ्नो भविष्य देख्ने सन्नु कुरेसीले गरीबीका कारण बीचैमा विद्यालय छाड्नु परेको पीडा देखाउँछन् । अर्काको घर जानेलाई पढाउन आवश्यक नदेख्ने परिवारका सदस्यहरूले विवाह गरी पठाइदिने कुरा गरेको सुन्दा पढाइबाट वञ्चित सन्नुलाई कम्ती असह्य हुँदैनथ्यो । पाँच वर्ष रोकिएर फेरि पढाइ थालेकी सन्नुले कलाकार आचार्यसँग भन्छिन्, “अरू साथीले मैले जति दुःख गरेको देखेको छैन । हाम्रो टोलमा म नै सबभन्दा गरीब हुँ ।”
आफैं दुःख गरेर १२ कक्षामा पुगेकी उनी जसरी पनि एमएसम्म पढ्न दृढ छिन् ।
२०५९ मा एसएलसी गरेकी बर्दियाकी निशा चौधरीले रु.५ हजार जुटाउन नसक्दा पाँच वर्ष पढाइ रोक्नुप¥यो । उनले त्यतिवेला पैसा पाएको भए आज डिग्री पूरा गरिसक्ने बताइन् । दुई छाक खान धौ–धौ पर्ने परिवारकी निशाको दृढ इच्छाशक्तिले क्याम्पसको बाटो खोल्यो । हिजोका कमैयाकी छोरी निशा आज जेटी भएकी छन् । जेटीको काम गर्दै बीबीएस तेस्रो वर्षमा पुगेकी उनी स्नातकोत्तर सकेर ब्याङ्कमा काम गर्ने सोचाइमा छिन् ।
बर्दियाबाट काठमाडौं फर्किएका कलाकार आचार्यले ललितपुरको प्रेरणा महिला माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने भीमादेवी राई (५१), ५ कक्षाकी सरिता न्यौपाने (२२), निता रिजाल र १२ वर्षको उमेरमा अक्षर चिनेर समाजशास्त्रमा एमए गरेकी सीता घिमिरेसँग कुरा गरेका छन् । अहिले सेभ द चिल्ड्रेनको एड्भोकेसी प्रोग्राम डाइरेक्टर रहेकी सीताले पढ्नका लागि परिवारभित्र गरेको संघर्ष साँच्चै प्रेरणादायी छ ।
‘अर्काको घर जाने जातलाई किन पढाउनु पर्यो’ भन्ने सोच नेपाली शहरहरूमा धेरै हदसम्म हराए पनि छोरीलाई सामान्य र छोरालाई सीपसँग सम्बन्धित विषय पढाउने चलन छँदैछ । जसले गर्दा छोरीहरूले देख्ने सपना र लिने लक्ष्यमा पारिवारिक–सामाजिक प्रेरणा छैन । यसरी छोरीलाई सपना देख्न पनि दिइँदैन । कलाकार आचार्यले त्यस्ता छोरीहरू खोजेर देखाएका छन्, जसले आफ्नै दृढ इच्छा, संकल्प र मिहिनेतको बलमा आफैं बाटो खनेर अघि बढेका छन् । आचार्यको कार्यक्रमको उद्देश्य भनेकै समाजमा यस्ता शक्तिशाली छोरीहरू र छोरीले पढ्ने अधिकार नपाउनुको कारणहरू खोज्नु हो ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
