रिपोर्टआइतबार, भाद्र ३०, २०७०
उपचार खोज्दै द्वन्द्वका घाइते
२०६५ मा जुम्ला सदरमुकाम खलङ्गा नजिकको चन्दननाथ गाविस ९ सिंगाचौरमा बेवारिसे बम पड्किंदा छर्रा लागेर बायाँ हात गुमाएका जुम्ला महत–३ का दीपक सुनार (१६) आमाको सहारामा उपचार खोज्दै हिंडेको पाँच वर्ष भयो । छर्राका तीन वटा टुक्रा शरीरमा पसेको त्यही वेलादेखि बोल्न समेत नसक्ने भएका उनको मानसिक अवस्था पनि बिग्रिएको छ ।
गाउँले र छिमेकीको सहयोगमा त्यहींको आचार्यलिहीमा रहेको सुस्तमनस्थिति कक्षामा भर्ना भए पनि संकेत गर्न भन्दा उनमा अरू प्रगति देखिएको छैन । दुई वर्षअघि बुबाको पनि मृत्यु भएपछि आमा चौका र उनको दैनिकी स्थानीय शान्ति समिति र अरू सरकारी कार्यालय धाएर बित्ने गरेको छ । विरक्त मान्दै चौका भन्छिन्, “घाइते छोराको उपचारमा सहयोग गर्ने कोही पाइएन ।”
घाइते निरीह
दीपकको उपचारका लागि अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सिफारिश पठाए पनि स्थानीय शान्ति समितिले केन्द्रमा सिफारिश पठाउने जिम्मेवारी जिल्ला प्रशासनको भएकाले आफूले केही गर्न नसक्ने बताउने गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल भने घाइतेहरूको उपचारका लागि जिल्लामा कुनै व्यवस्था नभएको तर, द्वन्द्वपीडितका रूपमा राहत पाउने सूचीमा पार्न पहल गर्न सकिने बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका लेखापाल वीरुनाथ योगीका अनुसार, दीपक र अर्का घाइते दलपति बस्नेतको त्यहाँ नाम नभएकाले राहत दिइएको छैन भने ‘ख’ वर्गको घाइते÷अपाङ्गमा नाम रहेका बिर्खबहादुर बुढाले मासिक रु.६,२०० पाइरहेका छन् ।
घर बनाउने ढुङ्गा संकलन गरिरहेको वेला जुम्ला मालिकाठाटा–२ का दलपति बस्नेत (३१) १२ पुस २०५८ मा चन्दननाथ–९ सिंगाचौरमा सुरक्षाकर्मी र माओवादीबीच भिडन्त हुँदा गोली लागेर घाइते भए । ऋण गरेर त्यो वेला गोली लागेको खुट्टाको नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा उपचार गर्दा चिकित्सकले ११ वर्षपछि निकाल्न आउनु भनेर दायाँ खुट्टामा रड लगाइदिए ।
अहिले आर्थिक अभावले रड निकाल्न नेपालगञ्ज जान नसकेका उनको दायाँ खुट्टा खुम्चिंदैन भने त्यही कारण अर्काे खुट्टा पनि हिंड्न नसक्ने गरी कमजोर भएको छ । कतैबाट उपचार र राहत नपाएका उनकी पत्नी र छोराछोरीको बिचल्ली भएको छ ।
जुम्लाको गज्र्याङ्गकोट–२ का माओवादी लडाकू विर्खलाल बुढा (३१) २०५९ मा सेना र माओवादीबीच जुम्लामै भएको भिडन्तमा गोली र बमको छर्रा लागेर घाइते भएका थिए । मासिक राहत पाए पनि बमका छर्रा र गोली निकाल्न नसकेको र दुवै माओवादीले सहयोग नगरेकोमा उनी असन्तुष्ट छन् । गोली लागेको देब्रे खुट्टाको घाउ बल्झ्ेर काम पनि गर्न नसक्ने भएका उनी उपचारको खोजीमा जिल्लाका सरकारी र गैरसरकारी कार्यालय धाइरहेका छन् ।
नेत्र शाही, जुम्ला
साप्ताहिक खबरपत्रिका हिमालबाट