समाचारसोमबार, भाद्र ३१, २०७०

रेग्मीबाट पार पाउन निर्वाचन

हिमालखबर

४ मंसीरको संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिका अनुसार १० असोजदेखि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया शुरू हुँदैछ । त्यसपछि आयोगले मतपत्रको छपाइ थाल्नेछ । निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मी र न्याय तथा प्रशासन सम्बद्ध कर्मचारीहरूको माग आयोगले यसअघि नै सरकारसँग गरिसकेको छ । मतदाता नामावली संकलन, दल दर्ता, निर्वाचन आचारसंहिता पनि जारी भइसकेका छन् ।

निर्वाचनका सबै प्रक्रिया स्वाभाविक गतिमा अघि बढेको भए पनि आम मानिसमा तोकिएको मितिमै निर्वाचन होला÷नहोला भन्ने कौतुहल भने अझै बाँकी छ । निर्वाचनको पक्षमा आम मानिस हुने भएकाले यो कौतुहल अनौठो भने होइन । तर, लोकतान्त्रिक राज्य व्यवस्थाको अनिवार्य प्रक्रिया निर्वाचनमा नायक हुने आम मानिस नै निर्वाचन हुनेमा अझै आश्वस्त हुन नसक्नु भने अनौठो हो ।

राजनीतिक प्रक्रियाका मुख्य खेलाडी राजनीतिक दलका नेताहरू पनि ४ मंसीरमै निर्वाचन हुनेमा आश्वस्त हुन नसक्नु अर्को आश्चर्य हो । उनीहरू अहिले पनि ‘चुनाव हुनुपर्छ’ भन्दै हुने नहुनेबारे बोल्न नपाए हुन्थ्यो भनेर तर्किन चाहेको देखिन्छ । यो अवस्थाले मुलुक राजनीतिक नेतृत्वको नियन्त्रणबाट फुस्किएको संकेत गर्छ । राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत महत्वाकांक्षा माथि राख्नाले राजनीतिक नेतृत्व परिस्थितिको स्वतन्त्र रूपमा आकलन गर्न नसक्ने भएको पनि हुन सक्छ । एमाओवादी र माओवादी नेतृत्व आफ्नै स्वार्थमा रहनु र अरू दलको नेतृत्व उनीहरूका अघि निरीह हुनु पनि यसको कारण हुन सक्छ ।

तर, लोकतान्त्रिक मान्यता बाहिरको चोरबाटो मार्फत संवैधानिक प्रावधान टेकेर बनेको खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारलाई छिटो बहिर्गमन गराउन ४ मंसीरको निर्वाचनको कुनै विकल्प देखिंदैन । मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउन रेग्मी निस्पृह देखिनु, उनी अन्तर्गतको राज्यसंयन्त्र प्रतिशोधात्मक हुँदै जानु लोकतन्त्रका लागि खतरनाक भएकाले पनि तोकिएको मितिमै निर्वाचन अनिवार्य बनेको हो ।

सरकारको नेतृत्वमा पुग्नुअघि जस्तो सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्न रेग्मीले प्राथमिकता दिन छाडेका छन् । न्यायाधीश नहुँदा सर्वोच्चबाट अलोकतान्त्रिक निर्णयहरू समेत हुन थालेको देखिंदैछ । यो अवस्थाले न्यायालयमा रेग्मी नियतवश कार्यपालिकाको वर्चस्व स्थापित गर्न खोजिरहेका हुन् कि भन्ने आशंका बढाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग जस्ता संवैधानिक निकायलाई पूर्णता दिन देखाएको अनिच्छाले पनि उनी मुलुकलाई केही व्यक्तिको अराजक कार्यशैलीको बन्दी बनाउने पक्षमा रहेका हुन् कि भन्ने आशंका जन्माएको छ । छोराको हत्यारा विरुद्ध फुजेलका अधिकारी दम्पतीले गरेको सत्याग्रहबारे सर्वोच्चले गरेको फैसला आशंका बढाउने पछिल्लो कारण हो । अदालतमा विचाराधीन भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश सच्याएर रेग्मी अघि बढ्न सक्थे, जसले ‘पीडितलाई अन्याय र दण्डहीनतालाई प्रश्रय’ दिने गरी बाबुराम भट्टराई सरकारले ल्याएको अध्यादेश सच्चिने मात्रै नभएर अन्तर्राष्ट्रिय न्यायिक समुदायमा सकारात्मक सन्देश लैजाने थियो । तर, न्याय दिने पेशामा जीवन विताएका रेग्मीको प्राथमिकतामा यी सबै काम परेनन् ।

दोषहरूका भागीदार रेग्मी भए पनि यो परिस्थिति निम्त्याउने कारक भने राजनीतिक दलहरू नै हुन् । उनीहरूकै स्वार्थको टकरावले रेग्मी सरकार निर्माण, अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ति जस्ता काम भएका हुन् । राष्ट्रपतिले पनि ती गल्ती सच्याउन नलागेर साक्षी बसे । जसको परिणाम, अहिलेको परिस्थिति निर्माण भएको हो ।

तर, निर्वाचनको प्रक्रिया अघि बढाएकाले अनेक कमजोरी र आशंकाका बाबजूद रेग्मी सरकार स्वीकार्य बनेको हो । किनभने, निर्वाचन नभई न त विगत र अहिलेका गल्ती सच्याउन सम्भव छ न त संविधान निर्माण र जनमुखी कार्यपालिका गठन नै हुन्छ । यो वेग्लै हो कि, न्यायपालिका कमजोर भएको, दण्डहीनता कायम रहेको, हिंसाको मनोविज्ञान हावी रहेको र राजनीतिक नियन्त्रण गुम्दै गएको अवस्थामा हुने निर्वाचनको परिणाम लोकतन्त्र अरू कमजोर हुने गरी आउन पनि सक्छ । तर, निर्वाचनले सत्तापक्षसँगै प्रतिपक्ष पनि निर्वाचित गर्छ भन्ने बिर्सन हुँदैन । निर्वाचनले लोकतन्त्र विरोधी सत्ता निर्माण गर्यो भने पनि निर्वाचनबाटै आएको प्रतिपक्षले त्यसलाई नियन्त्रण गर्नेछ भन्ने लोकतन्त्रवादीहरूले विश्वास गर्नुपर्छ । यो मान्यताले पनि त्यही निष्कर्षमा पुर्याउँछ, वर्तमान अकर्मण्य समाप्त पार्न निर्वाचनको कुनै विकल्प छैन ।

३० भदौको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>