ब्लगसोमबार, भाद्र ३१, २०७०
प्रेम–समर्पण भर्सेस हत्या–हिंसा !
विवाहिता हुन् या अविवाहिता, हरेक उमेरका हिन्दू नारीको अत्यन्त श्रद्धाको चाड तिज भर्खरै सकिएको छ । अविवाहिताहरू योग्य पति पाउन अनि विवाहिताहरू पतिको सुख–शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बस्ने गर्छन् । कति विधवाहरू पतिको आत्माको चिरशान्तिको लागि पनि व्रत बस्ने गर्छन् । जुन व्रतमा कतिपय महिला पानी समेत पिउँदैनन् ।
भलै आजभोलि शहरी महिलाहरूले भगवानको पूजा–आराधनापछि पानी, चिया, जूस, फलफूल सेवन गर्न थालेका छन् । तर यो सत्यलाई नकार्न सकिंदैन कि, जति नै आधुनिक भए पनि तिज तथा साउने सोमबारमा पशुपति लगायतका शिव मन्दिरमा महिलाको भीड बढ्दो छ, घटेको छैन । अर्थात् आधुनिकताका कारण नारीहरूमा धर्म–संस्कृति र पतिप्रतिको प्रेम, समर्पण र आस्थामा कमी आएको छैन ।
नारीसमर्पण, पतिप्रति मात्र सीमित छ भन्ठान्नु गलत हुन्छ । उनीहरू आफ्ना पिता, सन्तान तथा दाजुभाइको सुख–शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि पनि व्रत बस्ने तथा ईश्वरको पूजा–आराधना गर्ने गर्छन् । तर दुःख यसमा लाग्छ कि, यो त्याग–तपस्या, पूजा–आराधना एकपक्षीय छ ।
‘एक हातले ताली बज्दैन’ भने पनि सदियौंदेखि एकहातले नै ताली बज्दै आइरहेको छ, भलै यसको परिणाम जस्तोसुकै किन नहोस् । मैले आजसम्म कुनै पुरुष आफ्नी अर्धाङ्गिनी, सन्तान, दिदी–बहिनीको सुख–शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुका लागि व्रत बसेको देखे–सुनेको छैन, सिनेमामा वाहेक । यो कस्तो एकपक्षीय प्रेम र धर्म–संस्कृति हो !
यति मात्र होइन, यहाँ जुन पुरुषको सुख, समृद्धिका लागि नारीहरू त्याग–तपस्या गर्छन्, कष्टकर जीवन बाँच्छन्, उनीहरूकै अत्याचारबाट आक्रान्त छन् । नेपालका छापा माध्यममा हत्या, बलात्कार जस्ता समाचार नछापिएको दिन विरलै छ । बलात्कार मात्र भनेर पनि भएन, सुन्नसम्म नसकिने, हजुरबुबाबाट नातिनी र बुबाबाट छोरी बलात्कृत भइरहेका छन् । सुतिरहेका नारीमाथि घरको छत फोडेर सामूहिक बलात्कार भएको छ, लासमाथि बलात्कार गर्न पनि पछि परेको देखिदैन । २÷४ वर्षीया बालिकादेखि ८०÷८५ वर्षकी हजूरआमासम्म पीडित बनेका छन् ।
कडा कानून बनाऊ
बलात्कार जस्तो जघन्य अपराधबाट कुनै पनि देश अछुतो छैन । यसलाई निर्मूल पार्न सकिन्छ भनेर दम्भ गर्न नसकिए पनि बलात्कारीलाई अपराध अनुसारको सजाय दिन अवश्य सकिन्छ । अहिले भारतमा आशाराम बापू जस्ता वयोवृद्ध तथा प्रभावशाली धर्मगुरु यौनशोषण र बलात्कारको आरोपमा थुनामा छन् । बैङ्गलोरका न्यायाधीशले गत वर्ष एक नेपाली छात्रामाथि सामूहिक बलात्कार गर्ने ६ जनालाई हदैसम्मको सजाय भनेर उनीहरूको प्राकृतिक मृत्यु नभएसम्मका लागि जेल चलान गर्न हालै आदेश दिएका छन् ।
यसैगरी तीन युवतीलाई अपहरण गरी बन्धक बनाएर लगातार १० वर्षसम्म बलात्कार गरेको अभियोगमा अमरिकी अदालतले आजीवन कारावासको साथै हजार वर्ष कैद फैसला सुनाएको ओहायो राज्यको क्लिभल्याण्ड शहरका एरियल कास्त्रो (५३) ले १८ भदौमा जेलभित्रै झुण्डिएर आत्महत्या गरेका छन् ।
गत वर्ष सिन्धुुपाल्चोक जिल्ला अदालतका न्यायाधीश अनन्तराज डुम्रेले भारतका विभिन्न वेश्यालयमा ६ जना चेली बेचेका बजीरसिं तामाङलाई जघन्य अपराधी ठह¥याई नेपालको इतिहासमै पहिलो पटक १७० वर्ष कैद फैसला गरेका थिए । यसैगरी धादिङ जिल्ला न्यायाधीश रमेशराज पोखरेलले धादिङ पोखरीपानीका अभियुक्तलाई त्यहींका आमाछोरीलाई सुतिरहेका वेलामा बन्चरो प्रहार गरेर हत्या गरी लासमाथि बलात्कार गरेको अभियोगमा सर्वस्व सहित ३९ वर्ष कैदको फैसला गरेको छ ।
अन्तमा, बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई मुलुकी ऐन अनुसार सजाय दिएर मात्र पुग्दैन । अहिले मान्छेहरूले क्षणिक आवेगमा भन्दा पनि आपराधिक मनोवृत्ति लिएर क्रूर सामूहिक बलात्कार गर्न थालेका छन् । यस्ता अपराधी केही वर्ष जेल बस्दैमा बुद्ध बन्न नसक्ने भएकोले हदैसम्मको सजाय दिनुपर्छ । जसबाट अपराधीको मनमा त्रास सृजना गराउन सकियोस् । म अहिंसावादी हँुदाहुँदै पनि यस्ता खुँखार अपराधीलाई फाँसी, सो सम्भव नभए आजीवन कारावास, त्यो पनि नभए नपुंसक बनाएर रिहा गर्नुपर्ने पक्षमा छु ।
सरकारले यस किसिमका अपराध नियन्त्रण गर्न कानून लगायत देशव्यापी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । जनताले पनि घर, समाज र शिक्षण संस्थामा छोराछोरीलाई भेदभावरहित शिक्षा–दीक्षा दिनुको साथै नारीलाई सम्मान गर्ने संस्कार सानैदेखि सिकाउनुपर्छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट