अन्तर्वार्ता/विचारसोमबार, भाद्र ३१, २०७०
‘अन्तर्राष्ट्रिय एक्सपोजर अझै चाहिन्छ’
राजधानीमा सम्पन्न आठौं साफ च्याम्पियनसीपमा उत्कृष्ट खेलाडी घोषित भएर मोटरसाइकल जितेका राष्ट्रिय फूटबल टीमका डिफेन्डर रविन श्रेष्ठ (२४) भन्छन्, “खेलमा कम गल्ती गर्दै पाएको अवसरमा गोल गरेकाले अफगानिस्तान सफल भयो ।”
उत्कृष्ट खेलाडीको पुरस्कार किन पाएँ भन्ने लाग्छ ?
टीमका सबैले उत्तिकै मिहिनेत गरेका थियौं । मेरो प्रदर्शन पहिलाको तुलनामा राम्रो भएकाले पुरस्कृत भएको हुनुपर्छ । भारत विरुद्धको खेलमा मैले एउटा गोलका लागि गरेको सहयोगलाई पनि गणना गरिएको जस्तो लागेको छ ।
नेपालले किन हार्यो ? के कमजोरी रह्यो ?
सय प्रतिशत खेल्ने खेलाडीले पनि फूटबलमा केही न केही गल्ती गरेकै हुन्छन् । त्यसैले फूटबलमा आफू कम गल्ती गर्ने र अरुको गल्तीबाट फाइदा लिन कोशिश गर्ने मात्र हो । अफगानिस्तानको तुलनामा हाम्रो गल्ती बढी हुँदा हामी पराजित भएका हौं । ‘ग्रुप अफ डेथ’ मानिएको समूहबाट विजेता भएर दोस्रो चरणमा पुगेको टीम हार्नुमा भाग्य पनि कारण रह्यो ।
अफगानिस्तान चाहिं किन सफल भयो ?
अफगानी टीमबाट खेल्नेमा एक दुई जना बाहेक सबै अन्तर्राष्ट्रिय क्लबबाट खेल्छन् । शारीरिक रुपमा पनि उनीहरू बलिया छन् । हामीसँगको खेलमा उनीहरूले गल्ती कम गरे र पाएको अवसरलाई सदुपयोग गर्न सके ।
नेपालले जित्न के गर्नुपर्ला ?
सेमिफाइनलमा पराजित भए पनि यसपटक नेपालको प्रदर्शन अहिलेसम्मकै सशक्त थियो । प्रदर्शन राम्रो हुनुमा अन्तर्राष्ट्रिय एक्सपोजर एउटा महत्वपूर्ण कारण रह्यो । त्यसैले अन्तर्राष्ट्रिय एक्सपोजर अझै बढाउनुपर्दछ । फूटबलमा लगानी गर्न सरकारले कन्जुस्याइँ गर्नुहुँदैन ।
नेपाली फूटबलको भविष्य कस्तो देख्नुहुन्छ ?
मेरै कुरा गर्नुहुन्छ भने, महोत्तरीबाट एक दशक पहिला अखिल नेपाल फूटबल संघ (एन्फा)को छनोटमा परेपछि यो अवस्थामा आइपुगेको हुँ । खेलमा पराजित हुँदा पनि हौसला दिने वातावरण बनेको छ । समर्थक बढेका छन् । नेपालले केही वर्षमै अन्तर्राष्ट्रिय उपाधि जित्ने र खेलाडीको भविष्य उज्ज्वल हुनेमा म ढुक्क छु ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
