ब्लगबुधबार, आश्विन २, २०७०
लुम्बिनी कहाँ पर्छ ?
नेपाल सरकारले दशैंअघि ‘लुम्बिनी भगवान बुद्धको जन्मस्थल हो’ भन्ने सन्देश र लुम्बिनीमा रहेका पुरातात्विक महत्वका वस्तुको चित्र रहेको एक सय रुपैयाँको नोट प्रकाशित गर्न लागेको छ । बुझिए अनुसार, बुद्ध भारतमा जन्मेको भन्ने अफवाह चिर्न र लुम्बिनीको पर्यटन विकास गर्न यो नोट प्रकाशन गर्न लागिएको हो । तर, यो सन्देशले बुद्धको जन्म भारतमा भएको अफवाह चिर्न सक्ने देखिंदैन । बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्दछ भनिएन भने नोट प्रकाशन गर्न खोजिएको उद्देश्य पूरा हुने देखिंदैन ।
बुद्धको जन्मस्थल लुम्बिनी हो भन्नेमा कहिल्यै दुईमत थिएन । पाली, संस्कृत, चिनियाँ र तिब्बती भाषामा रहेका बौद्ध वाङ्मयका सबै स्रोतहरूले बुद्धको जन्मस्थल लुम्बिनी नै भनेका छन् । बुद्ध जन्मस्थलको तीर्थाटन गर्न लुम्बिनी बाहेक कोही कहीं जाँदैनन् । भारतमा मुगल साम्राज्यको उदयपछि बुद्ध धर्म र गतिविधिमा ह्रास आउँदै लुम्बिनी कहाँ पर्छ भन्ने ओझ्ेलमा पर्नुले अहिले समस्या आएको हो । अठारौं शताब्दीमा भारत आएका बेलायत सहित पश्चिमका विद्वानहरूले बुद्ध र बुद्ध धर्म सोधखोज गर्दा लुम्बिनी नभेटेका हुन् ।
अशोक स्तम्भ फेलापरेपछि
१ डिसेम्बर सन् १८९६ मा जर्मन पुरातत्वविद् ए. फूहररले नेपालको ‘रुम्मिनदेही’ भन्ने ठाउँमा मौर्य सम्राट अशोकको अभिलेख सहित स्तम्भ देखेपछि मात्र अहिलेको लुम्बिनी भेटिएको हो । अशोक स्तम्भमा ‘हिद बुधजाते’ अर्थात् यहाँ बुद्ध जन्मेको लेखिएको र ‘यहीं’ भनेर चिनो लगाइएको ‘मार्कर स्टोन’ भेटिएपछि मात्र अरू सोधखोज र अनुमान सेलाएर नेपाली भूमिमा लुम्बिनी पर्छ भन्ने तथ्य स्थापित भयो । त्यसपछिका अध्ययनहरूबाट पनि नेपालको रूपन्देहीमै बुद्ध जन्मिएका प्रमाणहरू भेटिंदै गए ।
बुद्ध भारतमा जन्मेका हुन् भन्नेहरूले पनि बुद्ध जन्मेको ठाउँ देखाउँदा नेपालको लुम्बिनी बाहेक अन्यत्र देखाउन सक्दैनन् । वाड्मयहरूबीच बुद्धको जन्मस्थल लुम्बिनी भन्नेमा एकमत रहे जस्तै बुद्धको गृहनगर कपिलवस्तु रहेकोमा पनि विवाद देखिंदैन । तत्कालीन राज्यहरूमा कपिलवस्तु सानो भए पनि विस्तृत भूभागमा फैलिएको थियो । तर, कोशल नरेश विडूडभको आक्रमणपछि शक्तिहीन र छिन्नभिन्न बनेको त्यो राज्य अहिले नेपाल र भारतमा बाँडिएको छ । दुवै मुलुकले आफ्नो क्षेत्रमा परेको कपिलवस्तुलाई बुद्धको गृहनगर बुझ्नु अहिलेको खास समस्या हो ।
प्राचीन कपिलवस्तु आफ्नो मुलुकमा पनि पर्ने हुँदा भारतीयहरूले बुद्ध भारतमा जन्मेको भन्छन् भने लुम्बिनी र कपिलवस्तुको केही क्षेत्र आफ्नो मुलुकमा परेकाले नेपालीले पनि बुद्धको जन्मस्थल नेपाल भन्नु अस्वाभाविक होइन । साधन, स्रोत र प्रचारले मात्र भारतको आवाज चर्को सुनिएको हो ।
प्राचीन कपिलवस्तु भनेर भारतले देखाउने पुरातात्विक स्थलहरू मुख्य रूपमा पिप्रहवा र गनवरिया हुन् । तर, उसले ती ठाउँलाई कपिलवस्तु मात्रै भनेको छ, बुद्धले २९ वर्ष बिताएको राजप्रासाद भनेर कुनै पनि संरचनालाई चिनाउन खोजेको छैन । राजप्रासादको रूपमा चिनाउन मिल्ने संरचना त्यहाँ छैनन् पनि । बरु नेपालस्थित तिलौराकोटलाई राजप्रासाद भनेर चिनाउने शुरूका पुरातत्वविद्हरू भारतीय थिए । अहिले त कपिलवस्तुको राजधानीको मुख्य भाग नेपालमा पर्छ भन्ने थप प्रमाण पनि फेला परिसकेका छन् ।
भारतले आफ्नो भूमिमा नक्कली लुम्बिनी बनायो वा लुम्बिनी जस्तै अर्को संरचना निर्माण गर्दैछ भन्ने भनाइ कल्पना बाहेक केही होइन । त्यस्तो केही भएको छैन र लुम्बिनीका नाममा भारतीय सरकारले बजेट विनियोजन गरेको पनि छैन । बरु नेपालको लुम्बिनीमा उसले बिहार, म्यूजियम निर्माण गर्न सहयोग गरेको छ । आफ्नो क्षेत्रको बौद्ध पुरातात्विक स्थलको संरक्षण गर्नु उसको दायित्व हो र त्यसो गर्दा नक्कली कपिलवस्तु वा नक्कली लुम्बिनी बनाएको बुझनु इतिहास र पुरातत्व सम्बन्धी ज्ञानको अभाव हुनु हो ।
बुद्धको जन्मभूमि लुम्बिनी र गृहनगर कपिलवस्तु भन्ने कुरा अकाट्य भए पनि तिनीहरू कहाँ पर्छन् भन्ने प्रश्नको उत्तर दिन सक्नुपर्छ । तमाम प्रमाणहरू चित्त बुझेर नै संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरेकोले लुम्बिनी बुद्धको जन्मस्थल रहेकोमा अब कसैले प्रश्न उठाउन सक्दैनन् । तर, बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्दछ भन्ने बताउन भने आवश्यक छ । नेपाल सरकारले प्रकाशित गर्ने एक सय रुपैयाँको नोटले दिनुपर्ने सन्देश पनि त्यही हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
