रमझमबुधबार, आश्विन २, २०७०
असफल कालको सफल संग्रह
संविधानसभा दर्पण
सम्पादकः ठाकुरप्रसाद बराल, टेकप्रसाद ढुङ्गाना, जीवराज बुढाथोकी
प्रकाशकः व्यवस्थापिका–संसद् सचिवालय
मूल्यः उल्लेख नभएको, पृष्ठः ५३९+१३
१५ जेठ २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकदेखि १४ जेठ २०६९ मा संविधानसभा विघटनसम्मको अवधिमा भएका महत्वपूर्ण घटनाक्रमलाई समेटेर तयार पारिएको पुस्तक हो– संविधानसभा दर्पण । यसमा गणतन्त्र घोषणा र राष्ट्रपतिको निर्वाचनदेखि नयाँ संविधानमा राख्ने विषयमा भएको सहमति र असहमतिसम्मका आधिकारिक दस्तावेज समेटिएका छन् । नौ भाग र १६ अनुसूची रहेको यो ग्रन्थमा विघटित संविधानसभाले चार वर्षमा गरेका कामलाई सिलसिलेवर ढंगबाट राखिएको छ ।
संविधानसभाको अन्तिम दिनसम्म तयार भएको संविधानको मस्यौदा यो पुस्तकको सबभन्दा महत्वपूर्ण दस्तावेज हो । संविधानसभामा रहेका दलहरूबीच भइसकेका सहमतिलाई आधार मानेर तयार पारिएको संविधानको मस्यौदा सचिवालयले पुस्तक मार्फत पहिलो पटक सार्वजनिक गरेको हो । ‘नेपालको संविधान’ नाम दिइएको मस्यौदामा संविधानको प्रस्तावना, प्रारम्भिक, नागरिकता, मौलिक हक र कर्तव्य, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, प्रादेशिक कार्यपालिका, स्थानीय कार्यपालिका, प्रदेश व्यवस्थापन कार्यविधि, प्रदेशको आर्थिक प्रणाली, विभिन्न संवैधानिक आयोगहरू, संकटकालीन अधिकार, संविधान संशोधन आदिको पूर्ण अंश छ ।
राज्यको स्वरुप र राज्यशक्तिको बाँडफाँड, संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, स्थानीय व्यवस्थापिका, न्यायपालिका र स्थानीय तहको व्यवस्थापन प्रविधि अन्तर्गत के कस्तो व्यवस्था हुने भन्ने विषयमा दलहरूबीच सहमति हुन नसक्दा संविधान जारी नभएको पुस्तकको निष्कर्ष छ । संविधानसभा अन्तर्गतका विभिन्न समिति तथा राज्यपुनर्संरचना आयोगले तयार पारेको दस्तावेज समेत यसमा समेटिएका छन् । सानोभन्दा सानो घटनाक्रमलाई व्याख्या गर्न संविधानको धारा–उपधारा, संविधानसभा नियमावलीको नियम–विनियम आदिको प्रयोग भएकोले पुस्तक कानूनी ज्ञान नभएका पाठकका लागि रुचिकर छैन ।
यस्तै, समितिहरूले सुझाव लिन बोलाएका राजनीतिक विश्लेषक, अधिकारकर्मी र राजनीतिकर्मीहरूलाई इतिहासविद्, संस्कृतिविद्, भाषाविद् जस्ता पदवी दिनु पनि ग्रन्थको कमजोरी देखिन्छ । जबकि, समितिहरूलाई राय–सुझाव दिएका ३७२ जनाको सूचीमा दातृ निकाय र विकासे कार्यक्रमका मानिसहरू धेरै छन् । यति महत्वपूर्ण पुस्तक प्रकाशनमा भाषिक शुद्धतादेखि साजसज्जासम्मका विषयलाई पूर्णतः बेवास्ता गरिएको कुराले पनि खल्लो बनाएको छ । यद्यपि, निर्वाचित जनप्रतिनिधिहरूले संविधान निर्माणका लागि गरेको चारवर्षे रस्साकस्सीलाई छर्लङ्ग उतार्न सक्नु संविधानसभा दर्पण को सशक्त पक्ष हो ।
संविधानसभाका तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराल, सह–सचिवहरू मुकुन्दप्रसाद शर्मा, लवप्रसाद गौतम र टेकनाथ ढुंगानाको टीमले चार वर्षसम्म ६०१ सभासद्ले के–के गरे भन्ने यथार्थ बाहिर ल्याएको छ । जनताले जिताएर पठाएका सभासद् बैठकमा कति पटक उपस्थित भए ? सुझाव लिन कुन–कुन ठाउँमा गए भन्ने जस्ता कुरालाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । विघटित संविधानसभाका उपलब्धिहरूको स्वामित्व ग्रहण गर्दै अनि भएका गल्तीबाट पाठ सिक्दै जनताका लागि नयाँ संविधान बनाउने क्रममा यो ग्रन्थ निकै सहयोगी/उपयोगी हुने विश्वास गर्न सकिन्छ ।
सन्त गाहा मगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
