रिपोर्टबिहीबार, आश्विन ३, २०७०
हिंसाको फन्दा
– देवेन्द्र साम्वाहाम्फे, कोरिया
– नेहा शर्मा, काठमाण्डौं
किम सुङ छन (६१) सँग बिहे गरेकी काभ्रेकी लक्ष्मी तामाङ (२६) सात महीनादेखि इन्छन शहरको फिलिप अस्पतालमा उपचाररत छिन् । भीसा अवधि सकिनै लागेकी उनलाई ‘बिहे गरेर गए पनि कोरियामा मजाले बाहिर काम गर्न पाइन्छ’ भन्दै धादिङकी उषा लामाले काठमाडौंको गौशालास्थित कुमारी म्यारिज ब्यूरो मार्फत बिहेको चाँजोपाँजो मिलाएकी थिइन् । त्यसवापत ब्यूरोले लक्ष्मीबाट रु.३ लाख ४० हजार लिएको थियो ।
सिन्धुपाल्चोककी सविना गुरुङ (२२) पनि बुसानमा अलपत्र छिन् । म्यारिज ब्यूरोका दलालले सम्पन्न र भद्र भन्दै बिहे गराइदिएको ३७ वर्षे कोरियन दुव्र्यसनी भएको यहाँ आएपछि मात्र उनले थाहा पाइन् । निरन्तर कुटपिट गर्ने दुर्व्यसनीसँग सविनाले दुई सन्तान जन्माइन्, तर कोरियाली नागरिकता पाइनन् । उनी अहिले भियतनामी सामाजिक कार्यकर्ताको सहयोगमा कानूनी उपाय खोजिरहेकी छन् ।
ठमेलको एक म्यारिज ब्यूरो मार्फत बिहे गरेर ६ महीनाअघि छन्जु आएकी काठमाडौंकी रीमा गुरुङ (२४) अहिले किम थरका ६६ वर्षीय वृद्धको श्रीमती भएकी छन् । त्यहाँबाट मुक्ति पाउन कोरियास्थित नेपालीहरूसँग सहयोग मागिरहेको उनले बताइन् । कोरियाली लोग्नेको हिंसा र यौन दुर्व्यवहार सहन नसकेर पर्वतकी २२ वर्षीया कल्पना मगर १६ महीनाको बच्चा सहित थेगु शहरको एक आश्रममा छन् ।
कोरियालीसँग बिहे गरे मासिक रु.१ लाख सजिलै कमाउन सकिने र पछि नेपालबाट आफ्नो परिवार पनि ल्याउन पाइन्छ भन्ने दलालको भनाइमा विश्वस्त भएर चार वर्षअघि इन्छन आइपुगेकी धरानकी नितु राई पनि बेसहारा भएकी छन् । काठमाडौंमा म्यारिज ब्यूरोलाई रु.१० लाख बुझएर बिहे गरेकी उनले कोरियाली लोग्नेको कुटपीट सहन नसकेर भागेको बताइन् । इन्छनमा आफू जस्ता अरू चार नेपाली महिला रहेको उनको भनाइ छ ।
म्यारिज ब्यूरोले जुराइदिएको किम गो दक (४३) सँग बिहे गरेर बुसान आएकी धादिङकी धन तामाङ (¬२०) लाई हालै लोग्नेले पारपाचुके गरिदिएका छन् । आउनासाथ सासूले राखेको ‘एक वर्षभित्र सन्तान जन्माउने’ शर्त नमान्दा कोरियाली संस्कृति सुहाउँदो आदरभाव नभएको भन्दै दुव्र्यवहार गर्ने गरेको उनले बताइन् । अहिले उनीसँग न बस्ने–खाने टुंगो छ न त नेपाल फर्कने पैसा । यी पीडित युवतीहरू कोरिया र नेपालमा सक्रिय दलालहरूको डरले उनीहरूको र म्यारिज ब्यूरोको नाम बताउन सक्दैनन् ।
दलाल–कर्मचारी चंगुल
हालसम्म वैवाहिक भीसामा कोरिया आएका अधिकांशको अवस्था भयावह रहेको दूतावासका उपनियोग प्रमुख राजाराम वर्तौला बताउँछन् । पैसा कमाउन जे गरेर भए पनि कोरिया हिंड्न लालायित नेपाली युवतीहरूलाई सचेत पार्न नेपाल सरकार, गैर–सरकारी संघ–संस्था र मिडियाले समन्वयात्मक अभियान चलाउनुपर्ने वेला भएको वर्तौलाको भनाइ छ ।
गैर–आवासीय नेपाली संघ, कोरियाका महासचिव प्रकाश धमला नेपालमा दलाल र कानूनी प्रक्रिया मिलाइदिने जिल्ला प्रशासनका कर्मचारीहरूलाई कारबाही नगरेसम्म कोरियामा बिल्लीबाठ हुने नेपाली महिलाको संख्या बढ्ने बताउँछन् । कोरियामा नेपाली महिलालाई हिंसाबाट जोगाउने रणनीतिका सम्बन्धमा काठमाडौंस्थित कोरियाली दूतावाससँग छलफल भइरहेको बताउने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता उपेन्द्रप्रसाद अधिकारी भन्छन्, “बिहे दर्ता गराउने निकायहरूमै पैसाको मिलेमतो हुने भएकाले समस्या चर्किएको हो ।”
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका बिहे दर्ता फाँटका प्रशासकीय अधिकृत मुक्तिनाथ अधिकारीले केही महीनायता कोरियाली पुरुषसँग बिहे दर्ता गर्न कोही नआएको दाबी गरे । तर, गत साउनमा मात्र १३ नेपाली युवती वैवाहिक भीसामा कोरिया पुगेका छन् । काठमाडौं जिल्ला प्रशासनको तथ्याङ्कमा २०६९ मा २२ कोरियालीले नेपाली युवती बिहे गरेको देखिन्छ । कोरियालीसँग विवाह गर्नेमध्ये धेरै म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट र संखुवासभाका युवती छन् ।
नेपाली महिला बिहे गर्न चाहने कोरियालीले कोरियामै रहेका नेपाली दलालहरूसँग सम्पर्क गर्छन् । तिनले नेपालमा सम्पर्कमा रहेका दलाल र म्यारिज ब्यूरोहरूलाई परिचालन गरेर केटी खोज्छन् । जुन जिल्लामा बिहे दर्ता गर्ने हो त्यहाँका कर्मचारीलाई हातमा लिएर काम फत्ते गरिन्छ । यसरी कोरिया पुगेकी नेपाली दुलहीले न त्यहाँको भाषा–संस्कृति बुझेका हुन्छन् न त पतिको असलियत । उनीहरू आफैं पनि घरजम गर्नुभन्दा पैसा कमाउन आएका हुन्छन् । परिणाम, उनीहरूमाथि विभिन्न किसिमका हिंसा शुरू हुन्छ ।
कति महिला अवैध बसेरै भए पनि कमाउने उद्देश्यले ‘कागजी विवाह’ गर्छन् । यस्ता महिलाहरूलाई दलाल र म्यारिज ब्यूरोले बढी पैसा असुलेर पठाएका हुन्छन् । तर, अवैध बसाइमा काम नपाइने समस्यासँगै जुनसुकै वेला समातिने जोखिम हुन्छ । कोरिया सरकारले विदेशी बुहारीहरूलाई घरेलु हिंसाबाट जोगाउन उनीहरूकै भाषामा हटलाइन सेवा उपलब्ध गराए पनि नेपाली महिलाको लागि यस्तो व्यवस्था छैन ।
समस्यामा विदेशी बुहारी
६ महीनाअघि बुसानमा एक भियतनामी महिलाले दुई बच्चा सहित १८ तलाबाट हामफालेर आत्महत्या गरेको घटनालाई बुहारी बनेर दक्षिण कोरिया भित्रिएका विदेशी महिलाहरूको समस्या बुझउने प्रतिनिधि घटना मानिएको छ । कोरियामा अहिले गतिलो इलम नभएका, बेरोजगार, विधुरहरूले दुलही नपाउने समस्या चर्को छ ।
एकल पुरुषको बढ्दो संख्या, कोरियाली महिलामा देखिएको वैवाहिक जीवन र सन्तान जन्माउनुलाई झन्झटको रूपमा बुझ्ने प्रवृत्ति तथा सम्बन्धविच्छेदको दरबाट चिन्तित सरकारले सन् २००६ देखि विदेशी बुहारी भित्र्याउने ‘बहुसांस्कृतिक विकास नीति’ लिएको छ ।
हालसम्म कोरिया भित्रिएका २ लाख ३० हजार विदेशी महिलामध्ये ६९.१ प्रतिशत घरेलु हिंसाको शिकार भएको लैंगिक समानता तथा परिवार मन्त्रालयको हालैको सर्वेक्षणले देखाएको छ । प्रवासी सामाजिक एकीकरण केन्द्रकी अध्यक्ष सेउ ग्वाङ सक यो संख्या ८५ प्रतिशतभन्दा माथि रहेको दाबी गर्छिन् । अर्को सर्वेक्षण नगरी वास्तविकता नआउने बताउँदै ग्वाङ सक भन्छिन्, “किनभने, यो एक लाख ३१ हजार परिवारमा मात्र गरिएको सर्वेक्षण हो ।”
मन्त्रालयको प्रतिवेदन अनुसार, विदेशी महिलासँग विवाह गरेका कोरियालीमध्ये ४९ प्रतिशतले माध्यमिक तहभन्दा माथिको शिक्षा लिएका छैनन् । यस्ता जोडीका ५० प्रतिशत युवती २० वर्ष हाराहारीका छन् भने ४८.७ प्रतिशत पुरुष ४० वर्ष माथिका । कोरियाका प्रवासी महिला अधिकार केन्द्रहरूका अनुसार विदेशी महिलासँग बिहे गर्नेमध्ये अधिकांश गरीब किसान, विधुर, अपाङ्ग, सुस्तमनस्थितिका, दुर्व्यसनी, सम्बन्धविच्छेद भएका, मादक पदार्थ सेवन गर्ने र झगडालु स्वभावका छन् ।
तस्वीरहरु: देवेन्द्र साम्वाहाम्फे