ब्लगशुक्रबार, आश्विन ४, २०७०
राईलाई संकट
निकै वर्षपछि गत चैतमा खोटाङको चिउरीडाँडा–४ स्थित पहाड घर जाँदा गाउँको चलन अनुसार भातपानी–भलाकुसारीका लागि धेरैले बोलाए । यही क्रममा माथिल्लो टोलका डिगबहादुर तुप्पा–तुम्मा (बडाबडी) कहाँ पुग्दा पूर्वेको पूजा भएकाले अरू दाजुभाइ पनि भेला भएका रहेछन् । तर, त्यो अपरान्ह ६ वटा वापा (भाले) भोग दिनुपर्ने पूर्वेको पूजा निर्धारण गरेका वुवालुङका नछुङ बढी आराखा (रक्सी) सेवनका कारण लप्से खोलापारिको वुवासुङ तर्न नसक्दा सारा तयारी चौपट भएको रहेछ ।
८८ वर्षका पूर्व शिक्षक तुप्पा त्यो धामीलाई बहिष्कार गर्नेदेखि मुखै नहेर्नेसम्मको झवाँकमा हुनुहुन्थ्यो । पूजा रोकिए पनि तीन वटा वापा र चार्मामो वासिम (कोदोको छनुवा) का साथ गफगाफ शुरू हुँदा बातको मुख्य विषय धामी नै हुनपुग्यो । त्यो वुवालुङ्गेलाई नचलाउँदा उधौली–उभौलीदेखि छौवा (नयाँ अन्न–अदुवा चलाउने) सम्मका सारा सांस्कृतिक कार्य अवरुद्ध हुने स्थिति आएको रहेछ– यो चाम्लिङ राई गाउँमा । गाउँघरमा मुन्धुम जानेका चूलो पुज्ने नछुङ÷खातवा÷होमे र सेहें मार्ने बिजुवा त के सामान्य झरफुक गर्ने धामी समेत उत्रिन छाडेछन् । त्यो तम्तमाइलो साँझ्मा अब दरदाजुभाइको सल्लाहबाटै कोही खातवा निस्कनुप¥यो भन्नेसम्मको कुरा भएको थियो ।
आमालाई चूलोमा लगाउँदा
काठमाडौंमा उपचाररत मेरी ७१ वर्षीया आमा शान्तादेवीलाई अन्तिम अवस्थामा जसरी पनि घरमै पुर्याउनुपर्ने र उहाँलाई आफ्नै कित्तामा राख्ने ८७ वर्षका आपाको इच्छा अनुसार २४ भदौमा उहाँलाई मोरङको रमाइलो झेडा लग्यौं । २५ गते उहाँलाई बारीमा राखेपछि पथरी बस्ने त्यो क्षेत्रका एक मात्र खातवालाई बोलाइयो । २६ गते बिहान उनी तकाया (साथी) का साथ आई त पुगे, तर वुवालुङ्गे खातवा जस्तै मातेर लोथ अवस्थामा ।
कार्जे अगाडि बढाउन छिमेकी कहरसिंह राईले हाट्टहुट्ट गरेर वातावरण बनाएपछि नछुङले कचुर त काटे, तर उपस्थितहरूको चित्तबुझदो गरी परिलगाउन सकेनन् । किरात संस्कारमा खातवाले दरदाजुभाइ–भद्रभलाद्मीलाई राखेर केराको पातमा अदुवाको कचुर काट्दै चित–पोटको आधारमा मृतक चूलामा गएको (पितृ भएको) वा सेंहें/शिकारी भएको खुट्याउनुपर्छ । तर, त्यो हुन नसक्दा दाजुभाइहरूले अर्को खातवा खोज्ने निर्णय सुनाए । अर्को खातवा धामी खोज्दै जाँदा मोरङकै बोराबाँधमा भेटिए ।
मद्यपान नगर्ने, शाकाहारी र सायाचुङ्मा (दक्षिणा) लिन पनि साह्रै गाह्रो मान्ने ती चाम्लिङ खातवाको मूल पेशा शिक्षण रहेछ । बडो करले आएका उनले २८ गते कचुर काटेर १ भदौमा आमालाई चूलामा लगाए । कार्जेको फितुङ (चरण) हरूका बीच उनले रहर र बाध्यता दुवै रूपमा स्वीकारिएको आधुनिकताले नेपालका धेरै समुदायको संस्कृतिमाथि ठूलो दबाब सिर्जना गरेको र किरातहरू त झ्न् अभूतपूर्व समस्यामा परेको चर्चा गरे ।
उनले पनि दबाब थेग्न नसकेरै खातवा काम थालेका रहेछन् । पहिला यस्तो कर्मलाई घोर अन्धविश्वास मान्ने उनले आफ्नो बाजेले चूला पुजेको पनि हेरेनछन् । बाजेको मुन्धुम उनैमा सरेपछि पनि अटेर गरेर बसेछन् । तर, खातवा नपाएर हैरान भएका दाजुभाइहरूले पाता कसेर भए पनि पुरोहित बनाउने निर्णय गरेपछि उनी वाबु (चिण्डो) समाउन बाध्य भएछन् । यसरी मोरङका धेरै राईहरूलाई सजिलो भएको रहेछ । “तर, नजाऊँ कसैको संस्कृति नै रोकिने, जाऊँ संस्कृतिको व्यापार हुनेगरिको दानदक्षिणा थाप्नुपर्ने”, उनले भने, “लामाहरू कति रुपैयाँको मन्त्र पढूँ भन्न थालेका छन् रे, बाहुन पनि दक्षिणा अनुसारकै जाँगर चलाउँछन् । मलाई चाहिं त्यो बाटोमा नतान्नुहोला ।”
सपनामा मुन्धुम पाएका किरात खातवाहरू ज्यास्ती रक्सी खाने, सायाचुङ्मामा काँचो सुन माग्ने हुन् या बोराबाँधका आदमी सर जस्ता सरल, अहिलेलाई यही पुस्ताले संस्कृतिलाई निर्वाध अगाडि बढाएका छ । खस–आर्य, बौद्ध र मुसलमान समुदायको जस्तो पुरेत–पण्डित, लामा वा मौलाना उत्पादन गर्ने विद्यापीठ, गुम्बा–बिहार वा मदरसा परम्परा नभएका किरात लगायतका समुदायले चालु पुस्ता सकिएपछि के उपाय निकाल्ने होला ?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
