अन्तर्वार्ता/विचारशनिबार, आश्विन ५, २०७०
पुरस्कार पात्रहरुलाई समर्पण: लेखक मुकारुङ
मदनपुरस्कार गुठीले नागिन–२ भोजपुरमा जन्मेका ३९ वर्षीय लेखक राजन मुकारुङको उपन्यास दमिनी भीरलाई २०६९ सालको मदन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मुकारुङका यसअघि चारवटा कविता संग्रह ‘सेतो आरोहण,’ ‘प्रारम्भ प्रक्षेपण,’ ‘जिकिरको गद्दी,’ ‘मिथक मध्य,’ सांस्कृतिक कृति ‘किराँत संस्कार’ र उपन्यास ‘हेत्छाकुप्पा’ प्रकाशित भइसकेका छन् ।
‘दमिनी भीर’ लाई मदन पुरस्कारको घोषणा भएपछि लेखक मुकारुङसँग हिमालखबरले गरेको कुराकानीः
एउटा लेखकका लागि पुरस्कारको महत्व कति हुन्छ ?
हुनत म पुरस्कारको मोहमा कहिल्यै परेन । ‘होलटाइमर’ लेखक हुँ, अन्य कुनै पेशा छैन । यसैमा लागि रहें, लेखिरहें र रत्तिएँ । यसपाली भने मेरो लेखनको सम्मान भयो र मेरा सीमान्तकृत पात्रहरुको पनि केन्द्रमा सुनुवाई भयो भन्ने लागेको छ । गर्वको अनुभव गरिरहेको छु ।
दमिनी भीरजस्तो कृति जन्माउन कति गाह्रो हुन्छ वा सीप हुनेले सजिलै लेख्न सकिन्छ ?
उत्कृष्ट लेखनका लागि निरन्तरको अभ्यास र साधना नै प्रमुख कुरा हो । त्यसका लागि अध्ययन पनि उत्तिकै जरुरी छ । कत्ति पनि विचलित नभइकन एउटै आस्था र अडानमा निरन्तर साधना गर्ने हो भने अवश्य पनि उत्कृष्ट परिणाम आउँछ । मेरो आस्था वा अडान भन्नु नै सीमान्तकृतका आवाजहरु लेखनमार्फत उजागर गर्नु हो । मदन पुरस्कार पाएपछि धेरै हदसम्म सफल भएँ कि भन्ने लागेको छ ।
सीमान्तकृतका आवाज उठाउन चाहीं कति गाह्रो रहेछ ?
साँच्चिकै गाह्रो छ । म आफैं पनि सीमान्तकृत नै हुँ । लगातार १५ वर्षदेखि यही वर्ग र समूदायका लागि लेखिरहेको छु । यसपटक भने मदन पुरस्कार जस्तो नेपालकै प्रतिष्ठित पुरस्कार पाउँदा दमिनी भीरका ती पात्रहरुले नै यो पुरस्कार पाए र कतै उनीहरुमाथि नै न्याय गर्न सकें कि जस्तो लागेको छ ।
उसो भए दमिनी भीरका पात्रहरु यथार्थ हुन् ?
हुन् । कतिपयको त नाम पनि सक्कली नै हो । लगभग ६० प्रतिशतको । बाँकीको नाम खुलाउन नमिल्ने भएकोले परिवर्तन गरेको हुँ । मैले सबैसँग लामो उठबस र अनुसन्धान् गरेपछि मात्रै लेखेको हुँ दमिनी भीर ।
तपाइँको लेखनका लागि उर्जा केबाट आउँछ ?
पात्रहरुबाटै । समाजका निमुखा र सीमान्तकृतहरुले नै हो मलाई लेख्न घच्घचाउने । त्यसैले त यो पुरस्कार पनि उनीहरुकै लागि समर्पित गरेको छु ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
