रमझमआइतबार, आश्विन ६, २०७०

‘दिल्लीको हस्तक्षेप बढ्नु माओवादी विद्रोहको दुष्परिणाम हो’

हिमालखबर

नेपालको राजनीतिक संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाबारे लेखिएको पत्रकार सुधीर शर्माको पुस्तक ‘प्रयोगशाला’ सार्वजनिक हुनुअघि नै चर्चामा छ । राष्ट्रिय दैनिक कान्तिपुर को प्रधान सम्पादक सुधीर शर्माले पछिल्लो डेढ दशकको नेपाली राजनीतिलाई प्रभावित पार्ने बन्द कोठाभित्रका अपत्यारिला घटनाहरूलाई पुस्तकमा सहज रूपमा उतारेका छन् । पुस्तकमा उठाइएका विषयमा केन्द्रित रहेर शर्मासँग गरिएको कुराकानीः

प्रयोगशाला कस्तो पुस्तक हो ?
नेपालको पछिल्लो दुई दशकको उतारचढावपूर्ण राजनीतिको वृत्तान्त हो । माओवादी सशस्त्र विद्रोह शुरू भएपछि नेपाल कसरी गुज्रियो, माओवादीले राजदरबार र भारतसँग कस्तो सम्बन्ध राख्यो र त्यसले नेपाली राजनीतिमा कस्तो असर पार्यो जस्ता विषयमा एउटा पत्रकारले देखेको, भोगेको र खोजेको कुरा छ, प्रयोगशालामा ।

दिल्लीको भूमिका अरू दलभन्दा माओवादीमा बढी देखिएको तपाईंको पुस्तकमा छ नि !

नेपाली राजनीतिमा दिल्लीको भूमिका पहिलेदेखि नै छ । पछिल्लो समय विद्रोही माओवादीले सहयोग मागेपछि तथा राजा र सात दलबीच दूरी बढेपछि उसको भूमिका बढेको हो । राजा, सात दल वा माओवादीले सीमित आकांक्षाले सहयोग मागे पनि भारतले आफ्नो लक्ष्य र रणनीति अनुसार भूमिका बढाइरह्यो । र, अहिले ‘माइक्रो–म्यानेज’ गर्ने तहसम्म पुगेको छ । तर, यो अवस्थाले हामीलाई मात्र होइन, भारतलाई पनि लाभ पुगेको छैन ।

भारतलाई किन लाभ हुँदैन ?

भारतले राजनीतिक वा कूटनीतिकभन्दा कर्मचारीतन्त्र र गुप्तचर निकायको आँखाबाट हेरेकाले यहाँ धेरै गडबड भएको छ । किनभने, राजनीतिज्ञ वा उच्च तहको कूटनीतिज्ञले जस्तो गुप्तचर निकायले बृहत्तर र दीर्घकालीन सोच राखेर विदेश नीति निर्माण गर्दैन ।

नेपाल–भारतबीच पहिले प्रधानमन्त्री, राजा–राष्ट्रपति र उच्च राजनीतिक तहमा द्विपक्षीय सम्बन्ध हुने गरेकोमा अहिले नेपालका नेताहरूले भारतको निम्न वा मध्यम तहका कर्मचारीको मुख ताक्न थालेका छन् । तर, यसले नेपालमा भारतविरोधी भावना बढाउने हुनाले भारतलाई फाइदा हुँदैन । बंगलादेश, श्रीलंका, माल्दिभ्स र पछिल्लो समय भुटानमा भारतविरोधी सेन्टिमेन्ट देखिनुको कारण यस्तै भएर हो ।

माओवादी सफल हुनुमा उपयोगितावाद प्रमुख कारण हो ?
नेपालमा यस्तो आन्दोलन मौलाउन सक्ने सामाजिक, आर्थिक र राजनीतिक आधारहरू पर्याप्त थिए । तर, समयमै सेना परिचालन नहुनु माओवादी विद्रोह मौलाउनुको कारण रह्यो । सरकारले चाहँदा पनि दरबारले सेना परिचालन गर्न नदिएर पछि आफैं शिकार हुने खालको अदूरदर्शी निर्णय लियो ।

२०५८ पछि भने माओवादी विद्रोह फैलाउन भारतको भूमिका रह्यो । भारत र माओवादीबीच संस्थागत सम्बन्ध गाँसिएको त्यही वेला हो । त्यसपछि भारतले नेपाली सेनालाई माओवादी विरुद्ध लड्न सहयोग गरे पनि माओवादी नेताहरूलाई त्यहाँ खुला गतिविधि गर्न छूट दियो । जसको फाइदा माओवादीले राम्ररी उठायो । तर दिल्लीले पनि नेपालको राजनीतिमा हस्तक्षेप बढायो । जुन, माओवादी विद्रोहको मुख्य दुष्परिणाम हो ।

पुस्तकमा भनिए अनुसार त माओवादी ‘जनयुद्ध’ प्रोक्सी वार जस्तै देखिन्छ नि हैन ?

माओवादी युद्ध भारत वा दरबारसँग सल्लाह गरेर शुरू गरे जस्तो मलाई लाग्दैन । त्यसको वस्तुगत आधार देशमै थियो । विस्तारमा मात्र दिल्ली र दरबारको प्रमुख भूमिका रहेको हो । दरबार र दिल्लीले माओवादीलाई र माओवादीले दुवैलाई उपयोग गर्न खोजेका थिए ।

पुस्तकले त विद्रोहको धरातल मुख्य रूपमा माओवादीको अवसरवाद देखाउँछ… ?

अवसरवाद माओवादीको पुरानै नीति हो । गणतन्त्र लक्ष्य भए पनि गणतन्त्र नआई राजासँग सहकार्य हुँदा पनि ठीक भन्नेमा थियो, ऊ । भारतको एउटा सेक्सन पहिलेदेखि नै नेपालमा गणतन्त्र चाहन्थ्यो । उसको दरबारसँग दूरी बढेपछि माओवादीसँग मिल्ती भयो । राजाले किनारा लगाएपछि संसद्वादीहरू पनि राजाविरोधी कित्तामा पुगे । राजतन्त्र जानुमा माओवादी जत्ति नै भारत पनि कारक रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको मूर्खताले त्यसमा बल पुर्याएको हो ।

दरबार र माओवादीबीचको सम्बन्धले माओवादीलाई बलियो र दरबारलाई कमजोर बनाएको हो ?

निश्चय नै । गिरिजाप्रसाद कोइरालाले भनेका थिए— वीरेन्द्र पनि शासनसत्ता लिन चाहन्थे । तर उनले भन्दा ज्ञानेन्द्रले हतार गरे । माओवादीलाई निहुँ बनाएर सत्तामा पूर्ण नियन्त्रण बनाउने दरबारको महत्वाकांक्षा थियो । त्यसैले राजतन्त्र अन्त्य गर्यो ।

दरबार हत्याकाण्ड दीपेन्द्रको सनकले मात्रै नभएको तपाईंको भनाइ हो ?

दरबार हत्याकाण्ड हुनुअघि तत्कालीन राजा वीरेन्द्रले भाइ धीरेन्द्र र कर्णेल दिलीप रायमाझ्ी जस्ता दूतहरूलाई माओवादीसँग वार्ता गर्न खटाएका थिए । वीरेन्द्रका निकटस्थहरूको भनाइमा माओवादीको अभीष्टप्रति नरम नभए पनि तुरुन्तै सेना परिचालन गर्दा समस्या बल्झेर देश गृहयुद्धतर्फ जान सक्ने र राजतन्त्रको भविष्य संकटमा पर्न सक्ने वीरेन्द्रको आकलन थियो । त्यसका लागि उनले भारत, चीन र अमेरिकाको सहयोग लिन खोजे पनि भारतको सहमति पाएनन् । चीनको सहमतिमा माओवादीसँगको वार्ता उत्कर्षमा पुगेको वेला दरबार हत्याकाण्ड भएको देखिन्छ ।

तर, अहिलेसम्म प्राप्त तथ्य र घटनाक्रमले हत्याकाण्डको माध्यम दीपेन्द्र बनेको देखाउँछन् । वीरेन्द्रको सम्भावित कदम नरुचाउनेहरूले दीपेन्द्रलाई महत्वाकांक्षा जगाएर उचालेका र दीपेन्द्र राजा हुँदा आफूले चाहे जसरी चलाउन सकिने अपेक्षा राखेका हुन सक्छन् । दरबार हत्याकाण्डलाई अहिलेको संक्रमणको उद्गम मान्न सकिन्छ । दरबार हत्याकाण्डले गणतन्त्र र सीमित आकारको माओवादी युद्धलाई विस्तार हुने ढोका खोलिदियो ।

गुप्तचरीका थुप्रै प्रसंगहरू पनि छन्, पुस्तकमा ?

भारतीय गुप्तचर ‘रअ’ ले नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, माओवादी र राजनीतिक पार्टीसँग सम्बन्ध राखेर काम गरेको थियो । स्वदेशी तथा विदेशी गुप्तचर निकायहरू पछि बसेर काम गर्ने निर्णायक वेलामा भूमिका देखाउँथे । उनीहरूको बाहिरी रूप राजनीतिकर्मी, कूटनीतिज्ञ जे पनि हुन सक्थ्यो ।

नेपाली राजनीतिमाथि भारतीय इन्टेलिजेन्स हावी भएको देखियो हैन ?

नेपालको विषयमा २०५९ बाट तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीले गुप्तचर निकायलाई ‘डे–टु–डे’ काम गर्ने जिम्मेवारी दिएको देखिन्छ । त्यही अनुसार, ‘रअ’ को भूमिका अहिले पनि जारी छ ।

यो प्रयोगशालामा अन्तिम विजय कसले पाएको ठान्नुहुन्छ ?

पुस्तकमा मैले दिल्ली, दरबार र माओवादीलाई मुख्य पात्र बनाएको छु । दरबारको पराजय भइसक्यो । दिल्ली र दरबारको सहयोग लिएर सत्ताकब्जा गर्न नसक्ने देखेपछि माओवादी रूपान्तरण भएर मूलधारको पार्टी बन्यो । त्यसको सहउत्पादन वैद्य माओवादीमा जनयुद्धकालीन धङधङी भने कायमै छ । भारतले पछिल्लो समय राजतन्त्रको पतनमा भूमिका खेल्यो । माओवादीको रूपान्तरणमा पनि उसको भूमिका देखिन्छ । भारतको अन्तिम अभीष्ट भने अझै खुलेको छैन ।

पुस्तकमा घटनाक्रमलाई पात्रविशेष मार्फत पेश गर्नुभएको छ, किन ?

राजनीतिक इतिहास लेखनमा घटनालाई प्रधानता दिइन्छ । तर घटनालाई पात्रले ड्राइभ गर्छन् । गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, ज्ञानेन्द्र शाह, १२ बुँदे समझ्दारी गराउने श्यामशरण वा ‘रअ’ का प्रमुख हर्मिज आदि पात्रहरूको भूमिका महत्वपूर्ण हुने नै भयो । त्यही भएर मैले उनीहरूको मनोविज्ञान र भूमिका खोतल्ने प्रयास गरें । पात्रबाट छिर्दा घटना बुझन पनि सजिलो हुन्छ । यो पुस्तक लेख्न १५० जति मानिससँग कुरा गरे, त्यसमध्ये ६२ जनाले नाम उल्लेख गर्न मान्नुभयो ।

अरू राजनीतिक दलहरूको भूमिका गौण देखाइएको छ नि ?

बिल्कुल होइन । कांग्रेस, एमाले जस्ता दलहरूको आफ्नै भूमिका छ । तर पुस्तकको विषय माओवादीको ‘जनयुद्ध’ भएकोले तीन वटा पात्र देखिएका हुन् ।

किरण नेपाल

६ असोजको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>