ब्लगबुधबार, आश्विन ९, २०७०

रुँदै रुँदै पार्टी छाडेको रात

rajukshetri

टाढाबाट कुकुर भुकेको आवाजको प्रत्युत्तरमा घरमा पालेको कुकुर भुकिरहेको छ । बाहिर मसिनो आवाजमा किरा अल्छी लाग्दो गरी कराइरहेका छन् । कोठामा रहेको खाटमा श्रीमती मस्तसँग सुतिरहेकी छन् । जतनसँग किताबका पाना पल्टाएँ । अनायास आँखा आँसुले भरिएछन् । निकैबेरसम्म रोएँ । पुस्तकमा सबैभन्दा मन छुने एउटै कुरा आफ्नो हात सरकारी सेनाले भाँच्दाको समय लाग्छ, अहिले पनि । पार्टीको एउटा सामान्य मान्छे (लक्ष्मी सुवेदी) लाई पक्राउ गराउन अस्वीकार गरेबापत भाँचिएर डुँडो भएको हातका कारण अपांग हुनुपरेको अवस्थाले सधैँभरि रुवाइरहन्छ मलाई ।

जीवन जसरी बिताइयो, त्यसमा कुनै गुनासो छैन, किनभने बा–आमाले रुँदै छाँद हालेर, बाटो छेकेर नजा बाबु, त्यो मर्ने बाटोमा भनी हत्ते हाल्दा पनि मरे सुन्दर संसार निर्माणका लागि मर्छु आमा भन्दै उहाँहरूको रोदन लत्याएर हिँडेको थिएँ । आफ्ना लागि बाआमाले झारेका आँसुको मूल्य पँधेराको पानीजत्तिको पनि ठानिनँ त्यसबेला । विश्वविद्यालयका महत्वपूर्ण कक्षा मान्छेलाई भ्रष्ट र बुर्जुवा बनाउने ठाउँ हुन् भनेर हिँडेको त्यो युद्ध यात्राका लागि कोही निकटजन दोषी छैनन् । अहिले फर्केर हेर्दा लाग्छ, म गलत समयमा त्यहाँ पुगेको रहेछु ।

आफ्नो उन्नतिका लागि पार्टीसँग कहिल्यै अपेक्षा रहेन । मैले आफ्नो पार्टी जीवनमा कहिल्यै पदका लागि, न कुनै नियुक्तिका लागि नै अनुरोध गरेँ । त्यसमा मेरो खासै अपेक्षा नरहेकाले केही दिएनन् भन्ने गुनासो पनि छैन । बरु पछिल्लो चोटिको निर्वाचनका लागि सभासद्को नाम प्रस्ताव गर्न कामरेडहरूले सिफारिस गरेका थिए, त्यो म आफैंले अस्वीकार गरेको हुँ । मलाई पार्टीमा कसैसँग गुनासो छ त बाबुराम र उनका धुपौरेहरूसँग छ । पार्टी अन्तरसंघर्षमा बाबुराम पक्षमा लेखेबापत संस्थापन पक्षबाट सधैँ सौतेलो व्यवहार खेप्नुपर्‍यो । हुन त पार्टी जीवनमा यस्तो भइरहने सामान्य कुरा हो । अन्तरसंघर्षमा साथीहरूले अनवरत उनलाई बोकिरहेकै कारण पजनीमा परेर उनी देशको प्रधानमन्त्री भए, त्यसपछि फेरिए सर्लक्कै । उनले बिर्से आफ्नो इतिहास । उनी प्रधानमन्त्री हुँदाताका जनादेश साप्ताहिकको कार्यकारी सम्पादक थिएँ, पार्टी केन्द्रको मुखपत्रका रूपमा रहेको सो पत्रिका र पार्टी प्रकाशन विभागको इन्चार्ज उनै बाबुराम थिए । पत्रिकाको खराब स्थितिका कारण १६ महिनासम्मको खर्च व्यवस्थापनले नदिएपछि सम्पादक मित्र मनऋषि धितालले लिएर मलाई बालुवाटार गएका थिए । गएगुज्रेको अवस्थाका कारण पत्रिकामा काम गर्न नसक्ने भएकाले कतै पियनको भए पनि काम दिन अनुरोध गरें । आँखाभरि आँसु पारेर याचना गर्दा पनि जड भएर मलाई हेरिरहे । उनको जडवत् अनुहार धेरैबेर हेर्न अप्ठ्यारो लागेर म बाहिरिएँ ।

भाँच्चिएको हातलाई देखाएर मेरा नानीहरू रसिक पाराले भन्ने गर्छन्, बाबाको माओवादी हात भनेर । म पार्टीबाट टाढा भए पनि शारीरिक एवं मानसिक चेतनाले माओवादी आन्दोलनबाट अलग गर्नेछ, मलाई कदापि त्यस्तो लाग्दैन । म एमाओवादीमा रहे पनि या नरहे साम्यवादी आदर्शका लागि लडिरहने सिपाही हुँ । साम्यवाद मेरो आस्था हो, त्यसबाट कहिल्यै बिचलित हुनेछैन । सधैँ गर्व गर्छु कि एउटा योद्धाका रूपमा मैले जीवनका महत्वपूर्ण समय बिताउन पाएँ । समाज रूपान्तरणको एउटा महाअभियानमा भाग लिन पाउनु सधैंभरि मेरा लागि गर्वको विषय हुनेछ । अबउप्रान्त एमाओवादीमा नरहे पनि माओवादप्रतिको मेरा आस्था अविचलित रहनेछ । संकीर्ण सामाजिक संस्कारको प्रभावबाट मुक्त नभएको हाम्रो समाजमा विद्यमान पार्टीहरूको छाती त्यति फराकिलो छ भन्नु हाँस्यास्पद हुनेछ । पार्टी छाडेर जानेहरूप्रति मैत्रीभाव राख्न सक्ने उदात्त संस्कारको म खासै अपेक्षा राख्दिनँ । पार्टी छाडेर जानेहरू सबै कुलंघार ठानिन्छन् । त्यसमा मेरो पछिसम्म पनि भन्नु केही छैन । यस्ता सन्दर्भमा लाग्ने आक्षेपहरू सत्यको पक्षका लागि होइन, असत्यको ढाकछोपका लागि नै बढी हुने गर्छन् ।

त्यसपछि पार्टीको सरुवापत्र बोकेर कास्की आएँ तर बाबुरामको मान्छे भनेर सधैँ अपमानित गरिरहे । बाबुरामकै मान्छे भनिएका कारण पार्टीमा काम पाइन बर्षौसम्म । एक सन्दर्भमा पछि प्रचण्ड कामरेड मेरो घरमै आए, किरण कमरेड पनि आए । मलाई उनीहरूप्रति कुनै गुनासो छैन । यदि म हिजो उनीहरूको खेमामा हुन्थेँ भने पार्टीभित्रै यस्तो अवस्था भोग्नुपर्ने थिएन होला । आफ्नो संरक्षण खोज्नेका लागि प्रचण्ड सधैं उदार मान्छे हुन् भन्ने लाग्छ मलाई । तर, उनका क्याम्पमा दुःख पोख्न कहिल्यै गइएन, त्यसैले उनीप्रति कुनै गुनासो छैन ।

बाबुरामसँग नजिक बसेर जतिदिन काम गरेँ, मेरो अनुभवले भन्छ, उनी पाखण्डी र दम्भी मान्छे हुन् । आदर्श राज्यको कोरा आदर्श फलाक्दै श्रीमतीको हातमार्फत लुटको वैभवले समुन्नतिको साम्राज्य नै खडा गरे । त्यो मानेमा प्रचण्ड उदार लाग्छ मलाई, जहाँबाट आएको होस् उनले पैसालाई पार्टी काममै लगाइरहे बरु । त्यो उनको देखाउने दाँत हो कि चपाउने, म खासै जानकार छैन ।

विश्वभर भ्रष्टाचारको अवस्था हेर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो वार्षिक प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक कारणलाई प्रमुख जिम्मेवार मानेको छ । राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारका कारण देश आक्रान्त छ । शक्तिशाली पार्टी हुनुको नाताले सबैभन्दा बढी भ्रष्टाचार एमाओवादीको संरक्षणमा हुन्छ । यो कुनै लुकेको विषय होइन, ओपन सेक्रेटजस्तै भइसकेको छ ।

एमाओवादीभित्र अहिले कुनै पनि नेताको घोषित आर्थिक स्रोत छैन, जीवन चलाउन । तर, तिनका नाममा देशका मुख्य सहरमा दिनदिनै घर ठडिएका छन् । बैंक ब्यालेन्स थपिएको छ, बच्चा सहरका नाम चलेका स्कुलमा पढ्छन् र तिनको घरको दैनिक खर्च कुनै सम्भ्रान्तको भन्दा कम हुँदैन । ती सबैका पैसा आउने अवैध प्वाल छन् । ठूला अपराधी, हत्यारा, डाँका, तस्कर एवं बलात्कारी आफ्नो बचाउका लागि पैसाका बिटा बोकेर तिनै दुलामार्फत नेताका घर पुग्छन् र हाम्रा आदर्श नेता आफूले मानौँ त्यो कुरा थाहै पाएका छैनन् जसरी श्रीमती कामरेडमार्फत अवैध सञ्जाल चलाइरहन्छन् । त्यसैले उनीहरू सर्वहाराका नेता भन्ने कुरा बकवास मात्रै हो, ती दुनियाँका सबैभन्दा पाखण्डी हुन् । जहिलेसम्म जनतालाई बेवकुफ बनाइरहन सक्छन्, तिनको पाखण्ड राजनीति चलिरहन्छ । मानिस स्वभावैले सान्त्वनामा रमाउँछ । जवसम्म पाखण्डलाई सान्त्वना ठानिरहन्छ नेपाली समाजले, राजनीतिको नाममा लुटको संसार चलिरहन्छ ।

मैले यही कुरा भनेबापत, लेखेबापत ३–४ वर्षसम्म पार्टीको पसम्म पनि छुन पाइनँ । भ्रष्टाचारीले कसरी घेरेर राखेका छन्, पार्टीलाई सर्पले मणि घेरेझैं । एमाओवादी पूरै लुटेराहरूको पार्टी भइसक्यो । राम्रा मान्छेको कुनै लेखो पाखो छैन त्यहाँ । म ठोकेरै भन्न सक्छु, अख्तियारले छानबिन गर्ने हो भने १०० मा ९८ जना नेता जेलको चिसो खान पुग्छन् । यो कुनै उत्तेजना उत्पन्न गर्ने खालको नभई आफनो समाज, समय र राजनीतिसँगको जीवन्त संवाद मात्रै हो । मैले आफ्ना यी धारणा निरन्तर राख्दै, लेख्दै आइरहेको छु । यसमा कुनै नयाँ कुरा छैन । बरु अचम्म त के छ भने भ्रष्टाचारी नेतालाई भ्रष्टाचारी भनेका कारण, व्यभिचारी नेतालाई व्यभिचारी भनेका कारण जिल्ला नेता झलकपाणी तिवारीले सार्वजनिक रूपमै मलाई प्रतिक्रियावादीको एजेन्ट भनेर आरोप लगाए ।

पार्टीभित्र वनमाराझैँ मौलाएको अनाचार र भ्रष्टाचारको विरोध गरेका कारण पार्टीबाट अपमानित भइरहने हो भने किन यस्तो पार्टीमा बसिरहने भनेर मैले एमाओवादीसँगको बीस वर्ष लामो सम्बन्धलाई सधैँका लागि टुटाउने निर्णय गरेँ । यो कुनै आवेग एवं निराशाको उपज होइन, पूर्ण विवेक एवं पूर्ण संयमतासाथ मैले पार्टीबाट अलग हुने निर्णय गरें । एमाओवादीले नै नदीको बगरमा लगेर पछारिदिएपछि म यही पार्टीमा छु भनिरहनुको के अर्थ ? म हारेको एक सिपाहीको अवस्थामा रहँदा, लाग्छ अब कहिल्यै पछाडि फर्किने छैन | (साभार: जनआस्था साप्ताहिक)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...