टिप्पणीबिहीबार, आश्विन १०, २०७०

हुँदैन गठबन्धन

रघु पन्त

नेपालमा गठबन्धनको राजनीतिले कहिल्यै सैद्धान्तिक आधार पाएन । विगतमा नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा जाने एकल उद्देश्यबाट पञ्चहरूको समूहसँग पटक–पटक मिलेका थिए, तर त्यो अवसरवादी राजनीतिले दुवै दललाई गाल मात्र पार्यो । तात्कालिक रूपमा केही नेतालाई मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री आदि पद हातलागी भए पनि दीर्घकालीन रूपमा दुवै पार्टीले जनताको आलोचना भोग्नु पर्यो ।

विगतका निर्वाचनमा एमालेले साना वामपन्थी समूहहरूलाई एक–दुई ठाउँ छोडिदिए पनि समग्रमा एक्लै चुनाव लडेर आयो । कांग्रेसले पनि त्यही गर्यो । उनीहरू आगामी संविधानसभा निर्वाचनमा पनि एक्लाएक्लै चुनाव लड्ने तयारीमा छन् । कांग्रेस आगामी निर्वाचनमा परिणाम सुधारेर गत निर्वाचनको पराजय बिर्सने कोशिशमा छ । एमाले पनि तेस्रो हुनुपरेको पीडा समाप्त पार्न पहिलो हुने प्रयत्नमा छ । अघिल्लो निर्वाचनताकाको भन्दा फेरिएको परिदृश्यले उनीहरूलाई उत्साहित पनि बनाएको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुने धेरैको अनुमान थियो, तर नसोचेको परिणाम आयो । प्रत्यक्ष निर्वाचनमा माओवादीले एमाले–कांग्रेसलाई निकै पछाडि पार्यो । र पनि, ६०१ सदस्यीय संविधानसभामा उसले बहुमत पाएन । समानुपातिकतर्फको परिणामले कांग्रेस र एमालेलाई एक हदसम्म सान्त्वना दियो । संख्या फेरि पनि ६०१ नै छ र निर्वाचन प्रणाली पनि पुरानै मिश्रित छ भने एनेकपा माओवादी विभाजित भएको छ । उसको लोकप्रियता पनि निकै खस्केको छ । यो अवस्थामा एमाले र कांग्रेस आफ्नै बलबुतामा सके बहुमत ल्याउने नसके ठूलो दल बन्ने प्रयत्नमा छन् ।

चुनावी गठबन्धन गर्नेमा कांगे्रस इच्छुकसम्म देखिएको छैन भने एमालेले पनि आफ्नै संगठनको बलमा एक नम्बर हुने दावा गरिरहेको छ । साना वामपन्थी समूहहरूलाई एक–दुई ठाउँ छोडिदिने बाहेक अरूसँग उसको तालमेल हुने सम्भावना देखिन्न । देशका दुई महŒवपूर्ण राजनीतिक शक्ति यसरी आफ्नै बुतामा चुनाव लड्ने तयारी गरिरहेको वेला संविधानसभाको सबभन्दा ठूलो दल एमाओवादी भने गठबन्धनको भगीरथ प्रयत्नमा छ ।

दाहालको दाउ

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग चुनावी तालमेल वा पार्टी एकता गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रयत्न माओवादीले निर्वाचनमा भाग नलिने भएपछि तुहिएको छ । एमाले र कांग्रेससँग एमाओवादीको चुनावी गठबन्धन हुने कुनै गुन्जाइस छैन । त्यसैले, मधेशवादी दल र अशोक राईको संघीय समाजवादी पार्टीसँग गठबन्धन गर्न दाहालले ‘संघीयता पक्षधर शक्तिहरू एक हुनुपर्ने’ अवसरवादी सूत्र अघि सारेका छन् ।

तर, विभिन्न टुक्रामा विभाजित मधेशी दलहरू सबभन्दा पहिला त आफैंबीचमा तालमेलको प्रयत्नमा छन् । आफैंबीच त सीटको तालमेल अप्ठ्यारो परिरहेको वेला एमाओवादीसँग के आधारमा मिल्ने ? उनीहरूबीच तालमेल भएन भने मात्र ती मध्येका कुनै दल र एमाओवादीबीच मधेशका केही ठाउँमा गठजोड हुन सक्छ । जातिवादी संघीय समाजवादीसँग पनि तालमेलको प्रयास खासै परिणाममुखी हुने देखिंदैन । एक त त्यो पार्टी देशभरि उम्मेदवार उठाएर समानुपातिकतर्फ केही सीट जित्ने दाउमा छ । प्रमुख नेताहरू उठेको एक–दुई ठाउँमा एमाओवादी–संघीय तालमेल भयो भने पनि त्यो उल्लेख्य हुने छैन । यसरी हेर्दा आगामी संविधानसभा निर्वाचनमा गठबन्धन बन्ने सम्भावना देखिंदैन, जुन मुलुकको राजनीतिक स्वास्थ्यका लागि फाइदाजनक नै हुनेछ ।

६ असोजको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>