Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालमा फलाम खानी:माल छ, चाल छैन - Himalkhabar.com

रिपोर्टशुक्रबार, आश्विन ११, २०७०

नेपालमा फलाम खानी:माल छ, चाल छैन

हिमालखबर

नेपालमा फलाम खानी भेटिएका स्थान ।

– रमेश कुमार
चार वर्षअघि नवलपरासीको धौबाडी पुगेका खानी तथा भूगर्भ विभागका अधिकारीहरू त्यहाँ अहिलेसम्मकै ठूलो फलाम भण्डार रहेको थाहा पाउँदा आश्चर्यमा परेका थिए । नपरुन् पनि किन, कोइला लगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा (औसत मूल्य प्रति किलो रु.११) यो रु.२३ खर्बभन्दा बढीको भण्डार हो ।

विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि चालु आर्थिक वर्षभित्रै प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको छ । दुई वर्षभित्र विस्तृत अन्वेषण सकेर उत्खनन अनुमति दिने विभागको सोच छ । धौबडीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूर्ति हुने बताउने विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झा २० मीटर चौडाइको फलाम भण्डार करीब १४ किलोमीटरसम्म फैलिएको बताउँछन् ।

प्रचूर सम्भावना

धौबाडीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने इन्जिनियर झा बताउँछन् । विभागको यसअघिको अध्ययनले रामेछापको ठोसे र ललितपुरको फुल्चोकीमा एक–एक करोड टनको फलाम खानी पत्ता लगाएको थियो । कच्चा फलामको भारतीय बजारको हिसाबमा दुई करोड कच्चा फलामको मूल्य रु.२ खर्ब २० अर्ब हुन्छ ।

निजी क्षेत्रको कम्पनी नवलपरासी–पर्वत खनिज उद्योगको अध्ययनले पनि पर्वतको फलाम खानी गाविसमा २० लाख टनको खानी भेट्टाएको छ । ठोसे, फुल्चोकी र पर्वतको सम्भाव्यता परीक्षण सकिएको छ । विभागले फुल्चोकी फलाम खानी उत्खननको लागि प्रस्ताव बुझएका दुईमध्ये एक नेपाली कम्पनीलाई लाइसेन्स दिएर छिट्टै काम शुरू गराउने तयारी थालेको छ । विभागले ५० लाख टनभन्दा बढी फलामको सम्भावना देखिएको तनहुँको लब्धीखोलामा पनि विस्तृत अध्ययन गर्न लगानीकर्ता छनोट गरिरहेको छ । यसमा दुइटा स्वदेशी कम्पनीले प्रस्ताव बुझएका छन् ।

हालसम्म विभिन्न जिल्लाका ८९ स्थानमा फलाम खानीको सम्भावना देखिएको छ भने देशको आधा भूभागमा अध्ययन हुनै बाँकी छ । सम्भावना देखिएका ठाउँहरूमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुन सकेको छैन । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टील, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै शुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।

फलाम विकास र औद्योगिक विस्तारको आधार हो । पूर्वाधार निर्माण र औद्योगिकदेखि घरायसी सरसामानसम्ममा फलाम प्रयोग हुन्छ । गत आर्थिक वर्षमा नेपालले करीब रु.६० अर्बको फलाम (स्टील) र फलामजन्य वस्तु आयात गरेको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाउँछ । आव २०६९÷७० मा रु.५७ अर्ब २८ करोडको फलाम र स्टील आयात भएको थियो । पुल र व्यावसायिक भवनहरूको निर्माणमा आएको तीव्रताका कारण गत केही वर्षदेखि फलाम (स्टील) र यसका उत्पादनहरूले नेपालमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थपछि ठाउँ लिएको छ । गत वर्ष ९१ करोड ६२ लाख ९३ हजार किलो फलाम–स्टील आयात भएको थियो ।

रामेछापको ठोसेस्थित फलाम खानीमै राणाकालमा बन्दूक बनाउन स्थापना गरिएको कारखाना । तस्वीरः कृष्णप्रसाद काफ्ले

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् १९६० को दशकमा मध्य हिमाली क्षेत्रको ३९ हजार वर्ग किमीमा गरेको प्रारम्भिक भू–रासायनिक अध्ययनले फलाम सहितका दर्जनौं खानी पत्ता लगाए पनि सरकारले न त्यसको विस्तृत अध्ययन गर्न सकेको छ, न उत्खनन ।

विभागले गत वर्ष पूर्वी पहाडको पाँचथर, संखुवासभा र धनकुटा सहितका जिल्लाका १ हजार ३०० वर्ग किमी क्षेत्रमा गरेको अध्ययनले फलाम सहित अन्य महŒवपूर्ण खनिजहरूको खानी फेला पारेको थियो । यो वर्ष थप १ हजार ३०० वर्ग किमी क्षेत्रमा अध्ययन गर्ने तयारीमा छ विभाग । वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्ले भन्छन्, “उचित पहल हुनसकेको खण्डमा नेपाल खानीबाट आत्मनिर्भर हुने दिन धेरै टाढा छैन ।”

ओझेलमा उत्खनन

नेपालमा फलाम खानीको परम्परागत उपयोग सयौं वर्षदेखि भए पनि व्यवस्थित उत्खनन हुनसकेको छैन । राणाकालमा दैनिक ९ नाल बन्दूक बन्ने गरेको ठोसेको फलाम तिब्बत निर्यात हुने गरेको इतिहास छ । धाउ बनाउँदा वरिपरिको वन सखाप भएपछि पर्वतको फलाम खानी बन्द भएको थियो । बाग्लुङ, पाल्पा, तनहुँ, रोल्पा, चितवन, सिन्धुपाल्चोक, बैतडी, बझाङ, रामेछाप, जाजरकोट, काठमाडौं (फुल्चोकी) लगायतका जिल्लामा पनि उहिल्यैदेखि स्थानीय तवरमा फलाम खानी चलेका थिए ।

अहिले खानी विभागले देशभरका ४० स्थानमा फलाम खोजतलास र दुई स्थानमा उत्खनन अनुमति दिएको छ । तर, ठोसेको जिम्मा पाएको नेपाल एण्ड चाइना मिनरल्स प्रालिका लगानीकर्ता वाङ्चु शेर्पा पूर्वाधारको कठिनाइ र आर्थिक सम्भावनाका दृष्टिले कम प्रतिफल दिने भएकोले उत्खननमा जान नसकेको बताउँछन् । उनी यसका लागि चिनियाँ लगानीकर्ता भित्र्याउने प्रयासमा छन् । उता, पर्वतको खानीका लगानीकर्ता अर्जुन पोखरेल भन्छन्, “स्थानीयबाट सित्तैंमा ५० प्रतिशत शेयर, सबैको बीमा, हरेकलाई रोजगारी वा बेरोजगारी भत्ताको माग भएपछि अन्योलमा परेका छौं ।”

भारतबाट बिलेट ल्याएर फलामे छडको उत्पादन गरिरहेको साखः समूहका उपाध्यक्ष किरण साखः नेपाली उद्योगहरू नेपाली फलामको प्रतीक्षामा रहेको बताउँछन् । तर, खानी उत्खननका लागि गतिलो सरकारी नीति नै नभएको अनुभव गरेका साखः भन्छन्, “सरकारले विद्युत्, सडक लगायतका पूर्वाधार निर्माण र औद्योगिक वातावरण नबनाई खनिजमा लगानीको अपेक्षा गरेको देखिन्छ ।”

अहिलेसम्म प्राविधिक कठिनाइका कारण पनि नेपालमा फलाम उत्खननको आर्थिक सम्भाव्यता कम थियो । अर्थात्, नेपाली फलाम खानीका प्रशोधनअघिको ढुङ्गामा फलामको मात्रा ६० प्रतिशतभन्दा कमै भेटिएको थियो । फुल्चोकी र ठोसेमा त फलामको मात्रा ५५ प्रतिशत हाराहारी मात्र छ । फलामको मात्रा ६० प्रतिशतभन्दा बढी हुने खानीलाई आर्थिक सम्भाव्यताको हिसाबले राम्रो मानिन्थ्यो । तर, अहिलेको प्राविधिक तौरतरीकामा कम ग्रेडका खानीको पनि आर्थिक सम्भाव्यता राम्रो हुने इन्जिनियर झा बताउँछन् । “भारत लगायतका देशहरूमा अहिले कमसल ग्रेडको खानीबाट पनि उच्च गुणस्तरीय फलाम उत्पादन भइरहेको छ”, इन्जिनियर झा भन्छन् ।

६ असोजको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>