टिप्पणीशनिबार, आश्विन १२, २०७०
जाइलाग्न थाले जनता
काठमाडौं, महाराजगंजको एउटा रेस्टुरेन्टमा चिया पिइरहेका केही युवा एकाएक देशको राजनीतिक अवस्था र भविष्यको बाटो सम्बन्धी बहसमा थिए । उनीहरूको अभिव्यक्तिमा असन्तुष्टि र आक्रोश त थियो तर निराशा थिएन । उनीहरू आफैं केही गर्ने पक्षमा थिए । कुरा गर्दैगर्दै नेकपा–माओवादीले २७ भदौका लागि आह्वान गरेको नेपाल बन्दको विषयमा प्रवेश गरेका उनीहरूले त्यसको प्रतिकार गर्ने स्वस्फूर्त योजना पनि बनाए– बिहान एघार बजे माइतीघरमा भेला भएर रत्नपार्कसम्म पुग्ने ।
ट्वीटर र फेसबूक जस्ता सामाजिक संजालको उपयोगले हुन सक्छ, २७ भदौको १२ बजेसम्म माइतीघरमा युवाको ठूलै समूह देखियो । उनीहरू चर्को घाममा टाढा–टाढाबाट आएका थिए । कोही–कोही त दुई घण्टा हिंडेर भक्तपुरबाट समेत आएका रहेछन् । युवाको भीड नारा लेखिएका प्लेकार्ड बोकेर रत्नपार्कतिर लाग्यो ।
त्यो भीड बन्द सफल पार्न बिहानैदेखि खटिएका माओवादी कार्यकर्ताहरूसँग शहीदगेट अगाडि आमने–सामने हुँदा भनाभनका बीच अप्रिय घटना हुने आशंका बढेपछि सुरक्षार्थ (कसको ?) खटिएको प्रहरीले हस्तक्षेप गरेर बन्द विरोधी समूहलाई फर्कायो । यसरी भीडको आक्रोश हिंसामा परिणत हुनबाट जोगियो ।
त्यही दिन उदयपुरको बेलटार बजारमा पनि स्थानीयवासीले माओवादी बन्दको खुलेर प्रतिकार गरे । त्यसको केही दिनपछि चरिकोटमा स्थानीय जनताले बन्दको विरोध गर्दै माओवादी कार्यकर्ताहरूलाई भगाएका थिए । तिजको दिन बन्द गर्ने एमाओवादी कार्यकर्ताहरूलाई कलंकीमा महिलाहरूले लखेटेका थिए । उल्लिखित घटनाहरूले बन्द विरोधी जनभावना बिस्फोट हुन लागेको संकेत गर्छन् ।
जनताको मूड
जनतालाई सधैंभरि हिंसाले तर्साएर राख्न सकिंदैन । सैद्धान्तिक उपयुक्तताले लेपन गरिएका दलहरूका जायज–नाजायज मागहरूसँगै जोडिएर आउने बन्द–हडतालबाट जनता आजित भइसकेका छन् । देशको इतिहासमा दस–पन्ध्र वर्ष धेरै अवधि नहोला, तर एउटा व्यक्तिको जीवनमा यो ज्यादै ठूलो र महŒवपूर्ण समय हुन्छ । उत्पादनशीलताले परिपूर्ण जीवनको यो समय अवसरविहीनतामा बिताउन बाध्य आम नेपाली युवा राजनीतिक अन्योलप्रति आक्रोशित छन् । उनीहरू सकारात्मक परिवर्तन ल्याउन चाहन्छन् ।
विदेशतिर नेपालमा जस्तो जैले पायो त्यैले बन्द गर्न पाइँदैन । निश्चित समय र ठाउँमा भेला भएर प्रदर्शन वा र्याली गर्न पनि पूर्व स्वीकृति लिनुपर्छ । राज्यविहीनताको अवस्था, राजनीतिक संस्कारको अभाव र गुण्डागर्दीलाई शक्तिको आधार ठान्ने हिंसाप्रेमीहरूबाट त्यस्तो संयमको आशा राख्न सकिन्न ।
बन्दले खर्बौं रुपैयाँको आर्थिक घाटा र मुलुकको पर्यटन ‘ब्राण्डिङ’मा नकारात्मक असर पारिरहेको अवस्थामा आम जनताले के मुद्दामा र किन बन्द गरिएको हो भन्नेमा चासो लिनै छोडिसके । अहिले त जनता सोझै विरोधमा उत्रन थालेका छन् । यसरी बन्दको अराजनीतिक संस्कारले राजनीतिक सन्देश नै दिन छाडेकाले अब यसलाई सधैंको लागि त्याग्नु ठीक हुन्छ ।
नेपालमा बन्दले आफ्नो सान्दर्भिकता र उपयुक्तता नै गुमाइसक्यो । जनआवाज बुझने कोशिश गर्नुको साटो जनताले नचाहेको कुरा थोपर्न खोज्दा बन्दको लोकतान्त्रिक अर्थ पतीत भएको छ । त्यसैले, अब लोकतन्त्रको बाटो हिंड्ने र जनताबाट भोटको आशा राख्ने राजनीतिक शक्तिहरूले दबाब सिर्जनाको रचनात्मक विकल्पहरू खोज्नुपर्छ ।
अमेरिकाका प्रोफेसर तथा व्यवस्थापन गुरु पिटर ड्रूकरले आजका सबभन्दा अप्ठेरा समस्याहरूलाई विगतका सफलताहरूको परिणति भनेका छन् । प्रोफेसर ड्रूकर लेख्छन्, “आजका प्रभावकारिताका ठूला बाधाहरू हिजो निकै सफल मानिएका मुद्दा, नारा र अठोटहरू हुन्, जुन आजको चेतनामा व्याप्त भएर दृष्टिकोण धमिल्याउन सफल हुन्छन् ।”
नेपालमा पनि हिजोका मुद्दा र साधनहरूप्रति जनताले असहमति जनाइसकेका छन् । समय नचिन्ने राजनीतिक शक्तिहरू अब पाखा लाग्दै जानेछन् र नयाँ ‘मूलधार’ बन्दै जानेछ ।