अन्तर्वार्ता/विचारशुक्रबार, आषाढ १५, २०६९
‘हामी एक भएमा विदेशी चलखेल हुन सक्दैन’
अहिले राजनीतिक शून्यता देखिएको हो ?
हो नि ! हिजोसम्म दलहरूबीच सहमतिका आधारमा कुराकानी भइरहेको थियो, १४ जेठ राति माओवादीबाट भएको अप्रत्याशित निर्णयले त्यसमा ब्रेक लगायो । माओवादीको ध्यान जहिले पनि सहमतिका आधारमा अघि बढ्ने भन्दा पनि अन्योल सृजना गर्ने र सत्ता कब्जा गर्नेमै केन्द्रित भयो । अन्तरिम संविधानमा सहमतिका आधारमा अघि बढ्ने उल्लेख छ, तर माओवादीले एकलौटी रूपमा चुनाव घोषणा ग¥यो । निर्वाचनमा जान संविधान संशोधन गर्नुपर्छ । संसद् नभएको अवस्थामा सहमति विना यो काम हुन सक्दैन । यस्ता कुराले दलहरूबीच विश्वासको संकट सृजना भएको छ ।
१४ जेठको स्थिति कसरी आयो ?
हाम्रो तर्फबाट सहमतिको लागि अन्तिम समयसम्म प्रयास भएको हो । तर जुन ढंगबाट घनीभूत छलफल हुनुपर्ने थियो, माओवादीका कारण हुनसकेन । माओवादीले १४ जेठको राति अबेरसम्म पनि आलटाल गरेर समय टार्ने काम ग¥यो । कांग्रेसले विगतमा सहमति भएका विषयलाई टुंग्याऔं र सहमति हुन बाँकी विषयबारे केही समय अन्तरिम संसद् लम्ब्याएर भए पनि निर्णय गरौं भनेको हो । तर माओवादीले सभामुखले ल्याएका कुरा पनि नमानेर कसैको सहमति विना रातारात चुनाव घोषणा गर्नुले संविधान बनाउने माओवादीको नियत नभएको प्रष्ट हुन्छ ।
अब चुनाव स्वीकारेर अघि बढ्न सकिंदैन र ? कांग्रेस चुनावबाट भाग्ने पार्टी त होइन !
कांग्रेस चुनावबाट डराउँदैन । हिजो त्यस्तो अवस्थामा पनि संविधानसभाको चुनाव कांग्रेसले नै गराएको हो । तर अहिले चुनाव हुने अवस्था छैन । निर्वाचन आयोगले नै अहिलेको अवस्थामा निर्वाचन सम्भव नहुने बताइसकेको छ ।
पाँचबुँदे सहमति अनुसार अघि बढ्न तयार नभएको माओवादी नेतृत्वको सरकारबाट समस्याको हल हुन्छ भन्ने हामीलाई विश्वास छैन । संविधानसभा चुनावपछि एमाले र माओवादीले दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उहाँहरू गम्भीर भएको भए समस्याको समाधान भइसक्थ्यो । तर न शान्ति प्रक्रिया टुंगिएको छ न संविधानमै सहमति । त्यसैले अब कांग्रेसको नेतृत्वमा बन्ने सरकारले यी विषयलाई गम्भीरतापूर्वक निष्कर्षमा पुरयाउनेछ ।
कांग्रेस शान्ति प्रक्रियामा जति संविधानलेखनमा गम्भीर नभएकोले माओवादी यो हदसम्म गएको पनि भनिन्छ नि ?
लडाकू समायोजन र हतियार नटुंगिएसम्म शान्ति प्रक्रिया अघि बढ्न सक्दैनथ्यो, तर माओवादी संविधानलेखनलाई प्रभावित पार्न हतियार, सेना र शिविर आफ्नो नियन्त्रणमै राख्न चाहन्थ्यो । त्यही भएर शान्ति प्रक्रिया पहिले टुंग्याउनुपर्छ भनेर कांग्रेसले अडान राखेको हो । शान्ति प्रक्रियामा मात्र होइन, संविधानमा पनि माओवादीले आफ्ना कुरा जबर्जस्ती थोपर्ने प्रयास गरेको छ । हामी बहुलवाद भन्छौं, माओवादी नेताहरू कम्युनिष्टको शब्दकोशमै बहुलवाद छैन भन्छन् । यसरी माओवादीले जहाँ पनि बाधा, अड्काउ गरेर शान्ति प्रक्रिया लम्ब्याउने खेल खेलेको छ ।
संविधानसभा विघटनपछि प्रधानमन्त्री भट्टराई पनि संसद् सदस्य हुनुहुन्न । यो अवस्थामा सहमतिका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिनुपथ्र्यो । उल्टो राष्ट्रपतिले बोलाएर ‘तपाईं कामचलाउ सरकार हो’ भन्नुपर्ने अवस्था आयो । माओवादीले जहाँ पनि जोरजबर्जस्ती गरेर पेल्ने काम गरेको छ । जिम्मेवार दलको नाताले कांग्रेस वार्ता, सहमति र सहकार्य अघि बढाउने कामको नेतृत्व गर्न तत्पर छ । मुलुकलाई द्वन्द्वमा जान दिनुहँुदैन । मुलुक इतिहासमै कमजोर भएको छ । यो अवस्थामा नयाँ ढंगबाट हिंड्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ, जसको नेतृत्व सहमतिकै आधारमा कांग्रेसले गर्नेछ ।
संविधानसभाको विघटनपछि कांग्रेसकै पहलमा दलहरूबीच संवाद शुरू भयो । कत्तिको आशावादी हुनुहुन्छ ?
माओवादी र यसका नेताहरू मुलुकप्रति साँच्चै चिन्तित छन् भने प्रक्रिया निश्चित रूपमा अघि बढ्छ । बेरोजगारी समस्या हल गरेर मुलुकको विकास निर्माण गर्न माओवादी साँच्चै प्रतिबद्ध हो भने यसको कुनै विकल्प छैन । मलाई विश्वास छ, माओवादीले अब छिट्टै यो कुरा महसूस गर्नेछ ।
ब्राजिल जानुअघि प्रधानमन्त्री भट्टराईले सहमतिपछि राजीनामा दिने भन्नुभएको थियो, त्यहाँबाट फर्केपछि त निर्वाचित सरकारलाई मात्र सत्ता हस्तान्तरण गर्ने भन्नुभयो !
सबै सत्ता लम्ब्याउने खेल मात्र हो । माओवादीको भनाइ र गराइमा धेरै अन्तर छ । विस्तृत शान्ति सम्झैतादेखि हालसम्म भएका सहमतिको माओवादीले कहाँ पालना गरेको छ ? भनाइमा क्रान्ति र नयाँ नेपाल भन्ने अनि नेपाल र नेपालीप्रति प्रतिबद्ध नरहने त भएन नि !
वार्ताबाट समस्याको हल निस्कने लक्षण त देखिएन ।
मलाई विश्वास छ, समाधानको बाटो निस्कन्छ । वार्ताको विकल्प छैन । देशलाई समाप्त पार्ने हो भने एउटा कुरा, होइन माया छ भने बाटो निकाल्नुपर्छ ।
बाटो कहाँबाट निस्कन्छ त ? कांग्रेसको पहलबाट कि राष्ट्रपतिबाट ?
विना सहमति चुनाव घोषणा हुनासाथ हामीले राष्ट्रपतिकहाँ गएर यो काम संविधान विपरीत भयो, गम्भीरतासाथ हेर्नुपर्छ भनेर ध्यानाकर्षण गरायौं । राष्ट्रपतिले विधिविधान अनुसार जान्छु भन्नुभयो । नागरिक समाजदेखि विभिन्न पेशागत समूहका व्यक्तिहरूसँग पनि राष्ट्रपतिले त्यही कुरा दोहो¥याउनुभएको छ । मुलुकको समस्याप्रति राष्ट्रपति कति चिन्तित हुनुहुन्छ भन्ने कुरा दलहरूलाई पटक–पटक बोलाएर परामर्श गरेबाटै प्रष्ट हुन्छ । राष्ट्रपति सहमतिबाटै समस्याको निकास खोज्नुपर्ने पक्षमा हुनुहुन्छ ।
कांग्रेस, एमाले प्रधानमन्त्रीलाई राजीनामा दिएर ढोका खोल्नुस् भन्छन् । सहमति अनि राजीनामा भन्ने प्रधानमन्त्री निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणको कुरा गर्नुहुन्छ । यस्तो अवस्थामा राष्ट्रपतिले के गर्नुपर्छ भन्ने लाग्छ ?
संविधानको संरक्षकका नाताले राष्ट्रपति विधि अनुसार हिंड्नुहुन्छ, उहाँले देश र जनताप्रति न्याय गर्नुहुन्छ । राष्ट्रिय सहमतिको वातावरण बनाउनुस् भन्न सक्नुहुन्छ ।
गतिरोध लम्बिएला कि छोटिएला ?
गतिरोध जति लम्बियो त्यति मुलुक र जनताका लागि घातक हुन्छ । त्यसैले हामीले सबै दलहरूबीच छलफल शुरू गरेका हौं । कांग्रेसले दलहरूबीच बढ्दो अविश्वास चिर्दै त्यसलाई विश्वासमा परिणत गरेर समस्या समाधानको बाटो तय गर्नेछ । इतिहासमा कहिल्यै राष्ट्रियता र प्रजातान्त्रिक मूल्यमान्यताप्रति कसैसँग सम्झैता नगरेको कांग्रेसको राष्ट्रियताप्रतिको नीतिका विषयमा माओवादी स्पष्ट हुनुपर्छ ।
यो अवस्थाको पछाडि इतिहासमै नभएको वैदेशिक चलखेल भइरहेको छ भनिन्छ नि ?
हामी कमजोर भयौं भने हाम्रो कमजोरीबाट विदेशीले फाइदा उठाउन खोज्ने हुन् । त्यसबाट सचेत हुनुपर्छ । विदेशी चलखेल हुन सक्दैन हामी एक भएमा ।
हिजो बीपी र जवाहरलाल नेहरूको सीधा कुरा हुन्थ्यो । तपाईंले बीपीसँगै युरोप गएर अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुभयो । तर आज त नेपाली राजनीति लैनचौरको गेटमा सीमित छ भन्छन् नि ?
यो गलत कुरा हो । आज पनि हामीलाई भेट्न विभिन्न देशका राजदूतहरू आउने गर्नुहुन्छ । नेपालको शान्ति र संविधानबारे चिन्ता र चासो व्यक्त गर्नुहुन्छ ।
राज्य पुनर्संरचनाबारे मुद्दा चर्किनुमा पनि वैदेशिक चलखेलले काम गरेको हो ?
धेरै प्रदेश मुलुकले धान्नै सक्दैन आर्थिक रूपमा । अहिलेका लागि प्रदेशको संख्या सानो बनाऊँ बरु पछि बढाउन सकिन्छ । दक्षिण अफ्रिकामा पहिला धेरै प्रदेश थिए, अहिले घटाएका छन् । नेपाल जस्तो देश जहाँ कहीं कसैको बाहुल्य छैन एकल जातीय राज्यमा जाँदा द्वन्द्व पनि हुनसक्छ । जातीय द्वन्द्वले विभाजित भएको सुडानबाट हामीले शिक्षा लिनुपर्छ ।
एक पटक सांसद् हुनुभयो, त्यसपछि सरकारी ओहोदामा कहिल्यै बस्नु भएन, किन ?
बीपीले देखाउनुभएको बाटो राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवाद हो । नेपालको भविष्य र समृद्धि यसैमा छ । त्यसैले सत्तामा जानुभन्दा बीपीका विचार लिएर जनतामा जानु महŒवपूर्ण ठानेर सत्ताको आकर्षण नभएको हो । पार्टीलाई संस्थागत बनाउन अनि अनुशासन र आन्तरिक मूल्यांकन प्रणाली विकास गर्न प्रतिबद्ध छु ।
तपाईं सिद्धान्तनिष्ठ, इमानदार र त्यागी हुनुहुन्छ रे ! तर तपाईंको त्यो शैलीलाई पार्टी पंक्तिले आत्मसात् गरेको देखिंदैन । यसरी हेर्दा आफूलाई असफल भएजस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । के राम्रो बाटो अवलम्बन गर्नु अनि आदर्शमा विचलित नहुनु मेरो कमजोरी हो ? त्यसो भए मसँग न पैसा छ, न केही । पार्टीका साथीले के देखेर मलाई सभापतिमा विजयी गराए त ? आजसम्म म सत्तामा गएको छैन । साथीहरूलाई केही दिएको छैन । तैपनि साथीहरूको माया पाएको छु । म असफल भएको होइन ।
तपाईं विकास निर्माणका कुरामा कार्यकर्तामा घुलमिल हुन सक्नुहुन्न र अव्यावहारिक हुनुहुन्छ हो ?
झ्ूठो आश्वासन मैले कहिल्यै दिएको छैन । कार्यकर्ताका जायज काम गरिदिनु भन्दै आएको छु । तर तर्साएर म फलानो हुँ, मैले भनेको काम जसरी पनि गर्नै पर्छ भनेको चाहिं छैन ।
कार्यकर्ताको व्यावहारिक समस्या पनि बुझन नसकेको गुनासो छ त ?
हो, व्यावहारिक हुन नसकेको भन्ने भनाइ केही हदसम्म सही होला । मैले बिहे गरेको छैन । परिवार पाल्नु परेको छैन । आटा, दालको भाउ पनि थाहा छैन । त्यसकारण अव्यावहारिक भन्नेमा केही सत्यता होला ।
विवाह नगर्दा अहिले पछुतो छैन ?
छैन नि के को पछुतो हुनु ? बरु विवाह गरेका साथीभाइले दाइ तपाईंले विवाह नगरेर ठीक गर्नुभयो भन्छन् । यस्तो सुन्दा चाहिं ठीकै गरेछु जस्तो पनि लाग्छ ।
मन्त्री बन्न तपाईंलाई पटक पटक प्रस्ताव आएको थियो, बन्नु भएन । अब एकैचोटि प्रधानमन्त्री बन्ने हो ?
मैले म प्रधानमन्त्री हुन्छु भनेको छैन, तर साथीहरूले एक पटक तपाईं हुनुपरयो भनेका छन् । हाम्रो पार्टीमा प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल पनि हुनुहुन्छ । पार्टी र साथीहरूबीच कलह गराएर मलाई प्रधानमन्त्री हुनु छैन । अरू पार्टीले पनि कांग्रेसको नेतृत्व चाहेका छन् । कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेद्वार जो भए पनि हामी कार्यसमितिको बैठकबाटै संस्थागत निर्णय गर्नेछौं ।
भनेपछि साथीहरूले कर गरे भने प्रधानमन्त्री तपाईं नै, हैन त ?
त्यो अवस्था आए तयार छु । तर पनि यसबारे आधिकारिक निर्णय पार्टीले नै गर्छ ।
त्यस्तो अवस्थामा पार्टी नेतृत्वमा पनि आफैं बस्नुहुन्छ ?
सबै ठाउँमा मै हुनुपर्छ भन्ने छैन, कार्यवाहक तोक्न सकिन्छ ।
तपाईं पद धारण गर्नै चाहनु हुन्न भन्ने पनि छन् नि ?
हो, २०४८ देखि जति अवसर आए पनि त्यसले मलाई आकर्षण गरेन । गणेशमान, किसुनजी र गिरिजाबाबुले मलाई परराष्ट्र मन्त्री बन्न भन्नुभएकै हो ।
तर २०५८ मा संसदीय दलको नेताको लागि चुनाव लड्नुभयो । प्रधानमन्त्री बन्नकै लागि होइन र ?
त्यतिबेला म साथीहरूकै आग्रहमा लडेको हुँ । राजनीतिमा हारजित स्वाभाविक कुरा हो । त्यतिबेला हार्दा खत्तम भएँ भन्ने भएन । अहिले सभापतिमा विजयी हुँदा पनि के के न भयो भन्ने छैन ।
गिरिजाप्रसाद कोइरालाको सहयोगी रहनुभयो । तपाईंको काँधमा बन्दूक राखेर उहाँले धेरै पटक पड्काउनुभयो भन्छन् नि ?
त्यस्तो होइन । उहाँ आफैं निर्णय लिने व्यक्ति हुनुहुन्थ्यो । मैले मन्त्री नभएर पनि उहाँलाई निकै सहयोग गरेको थिएँ ।
कांग्रेसमा धेरै गुट–उपगुट किन होला ?
यो दुर्भाग्य हो । कांग्रेसमा सिद्धान्तगत विभेद छैन, तैपनि गुट–उपगुट छन् । हुँदाहुँदा पार्टी नै विभाजित भयो । अहिले पार्टी एक भए पनि विभाजनको तुष अझ्ै बाँकी छ ।
विभाग गठन हुनसकेका छैनन्, केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । कांग्रेस नेता विमलेन्द्र निधि विजयीले पराजितलाई समेटेर जाने प्रणाली प्रजातन्त्र हो, तर तपाईंले सबैलाई समेट्न सक्नुभएन भन्नुहुन्छ ।
मैले कहाँ समेटिन ? शेरबहादुर, विमलेन्द्रजीलाई मनोनीत गरेर ल्याएको हुँ । साथीहरूको सहयोग र विश्वास शुरूमै पाउन नसक्नु दुर्भाग्य हो । विमलेन्द्रजीले किन त्यसो भन्नुभयो मैले बुझन सकिनँ ।
पार्टी चुस्त हुन नसक्नुको मूल कारण के हो ?
यसको मूल कारण भागबण्डा नै हो । १२औं महाधिवेशन एकताको महाधिवेशन भन्यौं, त्यसअनुरुप हुन सकेन । तर पनि आपसी विश्वास, सद्भावमा पहिले भन्दा धेरै सुधार आएको छ ।
त्यसो भए कांग्रेस मिलेको हो त ?
माओवादीसँग त मिल्नु परेको छ भने आफ्नै पार्टीका साथीहरूसँग नमिलेर हुन्छ ?
-१६–३१ असार २०६९ को हिमाल खबरपत्रिकाबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
