टिप्पणीशुक्रबार, आषाढ १५, २०६९
माओवादी फुट : कारण र परिणाम
‘वैचारिक रूपले यान्त्रिक, संकीर्ण र जडसूत्रवादी, राजनीतिक रूपले विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी’, एकीकृत नेकपा (माओवादी) फुटेर ‘नेकपा–माओवादी’ बनेकोमा संस्थापनका तर्फबाट पुष्पकमल दाहालले मोहन वैद्यको पक्षप्रति जनाएको प्रतिक्रिया यस्तो थियो । कतिपयले त रिमको उक्साहटमा राजावादीसँग मिलेर मोहन वैद्यहरूले पार्टी फुटाएकोसम्म पनि भने । तर, वैद्य पक्षको भनाइ ‘प्रचण्डहरूले पार्टीलाई नवसंशोधनवादी धार र संसदीय भासमा जाकेर क्रान्तिप्रति गद्दारी गरेकाले अलग्गिएको र अब जनविद्रोहमार्फत जनक्रान्ति गर्ने’ भन्ने छ ।
२०६१ को चुनवाङ विस्तारित बैठकद्वारा पारित मूलधारका राजनीतिक दलसँग सहकार्य गर्ने कार्यदिशा अनुसार सात संसद्वादी दलसँग भारतमा भएको १२ बुँदे सहमति, त्यसपछि भएका विस्तृत शान्ति सम्झैता लगायत शान्ति र संविधान पक्षका सबै सहमतिप्रति वैद्य खेमा कहिल्यै सकारात्मक थिएन । १२ बुँदेताका भारतीय जेलमा रहेका वैद्य र उनका सहयोगीले शुरूमा अल्मलिएर घटनाक्रमको सही आकलन गर्न सकेनन् । त्यसपछि १२ बुँदेका एक सूत्रधार बाबुराम भट्टराईलाई पाखा लगाएर अध्यक्ष पुष्पकमल दाहाललाई आफूतिर ल्याउने करीब पाँच वर्ष लामो प्रयास सफल नभएकोले अन्ततः अलग्गिएका छन् ।
माओवादी फुटमा गूटगत द्वन्द्व र व्यक्तिगत मनोमालिन्यसँगै वैद्यको जडसूत्रवादी सोच तथा दाहालको कार्यशैलीको खास भूमिका छ । आफ्नै राजनीतिक कार्यदिशा नभएका दाहाल कहिले बहुदलीयता, शान्ति र संविधानको भट्टराईको त कहिले जनविद्रोह र परिआए जनयुद्धको वैद्यको परस्पर विरोधी कार्यदिशामा यताउता गर्दै दुवैलार्र्ई एकअर्का विरुद्ध उपयोग गरेर पार्टीभित्र सर्वशक्तिमान भइरहे । तर, दाहालको खुुला छलफलबाट सर्वस्वीकार्य समाधान निकाल्नुको साटो व्यक्ति वा समूह हेरेर आश्वासन बाँड्ने कपटी शैली र पार्टीको सम्पूर्ण स्रोतसाधनमाथि एकलौटी नियन्त्रण गर्ने व्यवहारबाट वाक्कदिक्क भएपछि वैद्यहरूले नयाँ पार्टी जन्माउने उपक्रम थाले । दाहालले भट्टराईलाई साइजमा राख्न लामो समयसम्म वैद्यको कार्यदिशामा सहमति जनाइरहे । यता संगठनमा कमजोर भए पनि भारतले मन पराएका र तुलनात्मक रूपमा लोकप्रिय भट्टराई प्रधानमन्त्रीमा दाहालका ठूला प्रतिद्वन्द्वी थिए ।
वैद्यको जनविद्रोहमा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिकूलता र प्रधानमन्त्री बन्ने आफ्नो प्रयत्नमा असफलता हात लागेपछि दाहाल भट्टराईको लाइनमा ढल्किए । यसैको परिणाम थियो, २८ चैतमा माओवादी लडाकू शिविर नेपाली सेनाको नियन्त्रणमा आउनु । माओवादीले सोचेजस्तो लाभकारी हुन नसकेको सेना समायोजनलाई दाहाल र भट्टराईको गद्दारीको रूपमा अथ्र्याउँदै क्षुब्ध बनेका वैद्यहरू त्यही विन्दुबाट छुट्टै पार्टी बनाउने निष्कर्षमा पुगेका हुन् ।
नेपालका कम्युनिष्टहरू अन्तर्कलह र टुटफुटमा अरूभन्दा अगाडि छन्, राजनीतिक सुधार कि शास्त्रीय साम्यवाद भन्नेदेखि गूटगत र व्यक्तिगत विवादमा फुट्छन् । एमाओवादीको फुटमा पनि दाहालबाट पूरा हुन नसकेको नेत्रविक्रम चन्दको महŒवाकांक्षा, रामबहादुर थापा र सीपी गजुरेलका इखदेखि देव गुरुङले नपाएको अर्थ मन्त्रालयसम्म जोडिएको छ । ‘जनयुद्ध’ पछि एकता केन्द्रबाट आएका नारायणकाजी श्रेष्ठहरूको हालीमुहाली पनि वैद्यहरूको असन्तुष्टिको कारण रह्यो ।
कुनै जमानामा विश्वभरका कम्युनिष्ट सोभियत र चिनियाँ खेमामा बाँडिन्थे, सोभियत संघको पतन र चिनियाँ कम्युनिष्ट पार्टीको पूँजीवादीकरणपछि त्यो स्थिति रहेन । नेपालका कम्युनिष्ट ‘भारतलाई हेर्ने दृष्टिकोण’ मा पनि विभाजित हुँदैआएका छन् । आफैंले भारतीय दलाल भन्ने गरेको बाबुराम पक्षसँग कहिले भारतविरोधी त कहिले भारतनिकट हुन खोजेका दाहालले पछिल्लो समय भारतसँग स्थायी गठबन्धन गरेर राष्ट्रघात गरेको आरोप वैद्य समूहको छ र यही ‘राष्ट्रिय आत्मसमर्पणवाद’ को विरोधमा उसले भारत विरोधी सडक संघर्षको सहारा लिने लगभग पक्का छ । तर, नेपालमा बिकाउ भए पनि अत्यधिक प्रयोग भएको यो राजनीति असफल हुनसक्छ । जहाँसम्म शहरी विद्रोह छ, अढाई वर्ष अगाडि माओवादी एकीकृत छँदै जनताबाट अस्वीकृत भइसकेको हो । यसबीच माओवादीसँग क्रूद्ध जनसंख्या थपिएको छ । त्यही बुझ्ेर होला, वैद्यले अहिलेलाई ‘जनयुद्ध’ संभव नदेखेका !
वैद्यको पार्टी अब आफ्ना समर्थक र आमजनताको असन्तुुष्टिलाई भजाएर समाज, सडक र राष्ट्रिय राजनीति तताउँदै कि शक्तिशाली भएर आउनेछ, कि एमाले फुटेर बनेको माले झ्ैं अस्वीकृत भएर बिलाउनेछ । यो फुटबाट भट्टराईलाई खासै असर नपर्ने हुनाले उनी लगभग प्रतिक्रियाविहीन छन् । दाहाल–भट्टराई खेमामा रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझ्ी लगायतका नेताको एकल जातीय राज्यप्रतिको विरोध र वैद्य समूहमा ठूलो संख्यामा एकल जातीय राज्य पक्षधरको उपस्थितिले पनि माओवादीभित्रको धु्रवीकरणमा केही तलमाथि पार्न सक्छन् । तत्काल भने दुवै पक्षले अनिर्णित कार्यकर्ता तान्दै पार्टीका साधनस्रोत कब्जा गर्नेछन्, जसको रिहर्सल भृकुटीमण्डपमा भइसकेको छ । वैद्य पक्षले पुराना नेता–कार्यकर्ताको ऐयासी जीवनशैलीको भण्डाफोर गर्दा दाहाल–भट्टराई पक्षलाई रक्षात्मक हुन कर लाग्छ । दाहालको लाजिम्पाट दरबारले धेरै पत्रिकाका पृष्ठ ढाकिइरहनेछन्, २०५५ सालतिर एमाले र माले नेताका महलका फोटाले झ्ैं ।
-१६–३१ असार २०६९ को हिमाल खबरपत्रिकामा प्रकाशीत टिप्पणीको सम्पादित अंश
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
