ब्लगबुधबार, आश्विन १६, २०७०

बिखालु सरकार

मिलन बगाले

गत भदौ अन्तिम साता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँदिल्लीमा आयोजना गरेको क्षेत्रीय बैठकमा भाग लिन गएका स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले भारतीय समकक्षी गुलाब नदी आजादसँग मानिसलाई सर्पले डस्दा नभई नहुने एन्टी स्नेक भेनम उपलब्ध गराउन अनुरोध गरेको खबर आएको थियो । त्यसभन्दा केही अघिका खबरकागजहरू पल्टाउँदा यस्ता समाचारहरू पढ्न पाइयोः

रुकुमको नौबस्तामा भदौ तेस्रो साता अपार शाहलाई सर्पले डस्यो । उनलाई नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्याइँदा भेनम नभएको नमीठो जानकारी गराउँदै ३४ किलोमिटर पश्चिमको गुलरिया अस्पतालतिर दौडाउने सुझाव दिइयो । अपारलाई गुलरिया अस्पतालमा पुर्याउँदा नपुर्याउँदै शरीरभरि फैलिएको विषले आफ्नो काम गरिसकेको थियो ।
३० साउनको साँझ् सर्पले टोकेकी रूपन्देहीकी १५ वर्षीया सुमित्रा चौधरीलाई आफन्तहरूले भोलिपल्ट बिहान लुम्बिनी अञ्चल अस्पताल पुर्याए, तर एन्टी स्नेक भेनम छैन भन्दै गेटबाटै फर्काइयो । भरतपुरमा छ भनेपछि सुमित्रालाई त्यतै दौडाए, तर उनलाई अस्पताल पुर्याउन सकिएन ।

यी अखबारमा आएका प्रतिनिधि घटना हुन् । समाचार नबनेका घटना र देख्न नसकिएका कष्टको पहाड निकै अग्लो होला÷छ । यो पक्षमा घोत्लिंदा नागरिकलाई सिंहदरबारमाथि जाइलागूँ जस्तो लाग्न सक्छ । तर, त्यसको पर्खाल निकै अग्लो र बलियो छ । जनता जस्तै सर्प पनि सिंहदरबारभित्र हत्पती छिर्न सक्दैन । सिंहदरबारमा सर्पदंशको समस्या छैन, बरु त्यो आफैं एकफाले बिखवाला सर्प बनेको छ । सिंहदरबार बाहिरको नेपालमा वर्षेनि लगभग पाँच हजार नेपाली सर्पले डसेर मर्छन् । मुलुकका राष्ट्रपति, मन्त्री र नेताहरूलाई आवश्यक पर्दा विदेशमा लगेर महँगो उपचार गराउन सक्नु आफैंमा राम्रो कुरा हो, तर अस्पताल पुगेका सर्वसाधारण औषधि नपाएर मर्नु भनेको राज्यको अपराध हो ।

गर्मी सिजनमा सर्पले टोक्छ । यस्तो वेला अस्पताल छ, एन्टी स्नेक भेनम छ र बचाउने डाक्टर छन् भन्ने मान्यता भत्केको छ । सम्झँदै आक्रोशभाव पैदा हुने कुरा के छ भने, सरकारले एन्टी स्नेक भेनमको जोहो नगरेकै डेढ वर्ष भएछ । डेढ वर्षअघि भारतसँग ३० हजार भायल किनेको रहेछ भने डब्लुएचओले केही महीनाअघि २२ हजार भायल दिएको रहेछ । त्यति भायल देशभरि छरेर थकाइ मारिरहेको रहेछ, स्वास्थ्य मन्त्रालय । बाढी पीडितलाई दिने चिउरा र चाउचाउ जस्तो हो एन्टी स्नेक भेनम ? ठूलाको उपचारमा करोडौं खर्च गर्न सक्ने राज्यले जनतालाई केही लाख खर्चेर सर्पदंशबाट बचाउने जोहो गर्नुपर्दैन ?

यो वर्ष कति भेनम चाहिन्छ, जिल्ला र अञ्चल अस्पतालका डाक्टरहरूलाई सोधे पत्ता लागिहाल्छ । तर, सरकारले निकै मान्छे मरेपछि र सर्पदंश घटेपछि औषधिको जोहो गर्दैछ । चरम ढिलासुस्तीको समस्या त छँदैछ ।

त्यसमाथि, सरकारले आव २०५७/५८ देखि सर्पदंशको निःशुल्क उपचार ‘थालेको’ रहेछ । ‘निःशुल्क’ को हल्ला चलेपछि पहिला बजारमा छ्याप्छ्याप्ती पाइने भेनम औषधि पसलेहरूले बेच्न छाडेछन् । यसरी पैसा भएर पनि उपचार अवस्था आइलाग्यो । औषधि जोहो गर्न नसक्ने सरकारको सस्तो प्रचारबाजीले नकाम गर्‍यो । देश चलाउनेहरू सर्पभन्दा बिखालु देखिए । भेनमको आपतकालीन जोहो गरेर सर्पदंशबाट मान्छे बचाउनेहरूको जय होस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...