Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सीमापार अपराधको चुनौती - Himalkhabar.com

रिपोर्टशुक्रबार, आश्विन १८, २०७०

सीमापार अपराधको चुनौती

हिमालखबर

– तुफान न्यौपाने

३० भदौमा जाजरकोटको रानीवनमा बरामद भएको थ्रीनटथ्री राइफल र टु इन्च मोर्टार । तस्वीर: राजेन्द्र कार्की

हुम्लाका प्रहरी नायव उपरीक्षक डा. मेखबहादुर खत्रीले चीनको तिब्बत र नेपालका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक पहिलो पटक नेपालमा डाक्दैछन् । यस्तो बैठक सधैं चीनले आयोजना गर्दै आएकोमा निर्वाचन सुरक्षा चुनौतीलाई प्रमुख विषय बनाउन यो पटक प्रहरीले हुम्लामा बैठक गर्न लागेको हो ।

पछिल्लो समय हुम्लाका गाउँमा चाइनिज पेस्तोल भित्रिएको सूचना पाएकाले ती हतियार दलका युवा संगठनले दुरुपयोग गर्ने सम्भावना देखिएको बताउँदै खत्री भन्छन्, “गृह मन्त्रालयको अनुमति पाउनासाथ बैठक हुनेछ ।”

खतरनाक विगत

२०६४ को संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका कमलप्रसाद अधिकारीलाई गोली हानी हत्या गरियो । निर्वाचनपछि बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अधिकारी हत्यामा पक्राउ परेका तीन अभियुक्तलाई ‘आस्थाका बन्दी’ भन्दै मुद्दा फिर्ता लियो । बाँके जनमोर्चाका सचिव कृष्णराज पाण्डे संघीयता विरोधी नीतिका साथ चुनावमा लागेकाले आफ्नो पार्टीका उम्मेदवारहरू अहिले पनि निशानामा रहेको बताउँछन् ।

बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारको सिफारिशमा परेका एमाले केन्द्रीय सदस्य देवराज भार अदालतमा विचाराधीन ज्यान मुद्दा फिर्ता लिंदा अपराधीको मनोबल बढेको बताउँछन् । उनको भनाइमा, उम्मेदवारको मात्र होइन, मतदान स्थल, कर्मचारी, मतदाता, मतपत्र/मतपेटिका सबैको सुरक्षाको कुनै सुनिश्चितता छैन र खुल्ला सीमा भएका जिल्लामा सुरक्षा संवेदनशीलता अरू बढेको छ ।

गत फागुनमा भएको बाँके उद्योग वाणिज्य संघको अधिवेशनताका आफूलाई ‘जनतान्त्रिक पार्टी’को अध्यक्ष अर्जुन सिंह बताउने मुकेश चौधरीले भारत बहराइचस्थित नानपाराका प्रतापसिंह पल्लु र नबाबगञ्जका विशाल सिंह नामका ‘सार्पसूटर’ परिचालन भएको भन्दै उम्मेदवारहरूसँग जनही रु.५० लाख चन्दा मागेका थिए । आतंक सिर्जना गरेर पैसा असुल्न आएका चौधरीको आपराधिक समूहले १० फागुनको साँझ साढे सात बजे इलाका प्रहरी कार्यालय खजुराखुर्द नजिकै खजुराखुर्द—५ का दलबहादुर थापामगर (३५) लाई गोली हानी हत्या गर्यो ।

सो घटनापछि यूपी ४०एम८९० नम्बरको मोटरसाइकल, ९ एमएम अमेरिकी पेस्तोल, कटुवा पेस्तोल र म्यागजिन सहित पक्राउ परेका प्रतापसिंह पल्लु र विशाल सिंहले मुकेश चौधरीबाट एक व्यक्ति बराबर भारु २० हजार लिने शर्तमा गोली चलाएको बयान दिएका थिए । बाँके जिल्ला प्रहरी प्रमुख भूपालसिंह भण्डारीका अनुसार, चौधरीको निर्देशनमा ११ माघ २०६९ मा रामनगरका गौरव मल्ललाई गोली हान्ने पनि पल्लु र सिंह नै थिए ।

अघिल्लो संविधानसभा निर्वाचनको दुई दिनअघि २६ चैत २०६४ मा सुर्खेत क्षेत्र नम्बर १ का एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई पनि गोली हानेर हत्या गरियो । अर्को दिन बिहान विरोधमा उत्रिएका प्रदर्शनकारीको भीड मेहलकुना चौकीमा पस्न खोज्दा प्रहरीको गोली लागेर मेहलकुना—३ का गोपाल नेपाली (४०) को मृत्यु भयो । त्यसरी स्थगित भएको त्यस क्षेत्रको चुनाव एक वर्षपछि ७ वैशाख २०६५ मा गरियो ।

त्यस्तै, संविधानसभा चुनाव प्रचारकै क्रममा उवा—७ रोल्पामा माओवादी कार्यकर्ता भक्तबहादुर बिक (३९) लाई टाउको, हात र कम्मरमा गोली हानी हत्या गरियो भने गाम—५ का माओवादी कार्यकर्ता टेकबहादुर बुढाको ज्यान पनि गोलीबाटै लिइएको थियो । दाङमा चुनाव प्रचारका क्रममा ७ जना माओवादी कार्यकर्ता एकै ठाउँमा मारिए, गोलीबाटै ।

त्यो वेला मध्यपश्चिममा एक दर्जन मानिस मारिए, जसमध्ये अधिकांश घटनामा सीमापारिबाट भित्रिएका हतियार र ‘किलर’ प्रयोग भएका थिए । त्यो चुनौती अहिले पनि कम नभएको बताउने बाँकेका एसपी भण्डारीले आगामी निर्वाचनमा सीमापारिबाट भित्रिन सक्ने हतियार, विस्फोटक पदार्थ, कन्ट्रयाक्ट किलर, फरार अपराधी आदिलाई सुरक्षा चुनौतीको रूपमा लिएर काम गरिरहेको बताए ।

खुला सीमा समस्या
सीमापारि ‘राजन मुक्ति’को संयोजकत्वमा १२ वटा भूमिगत समूहले ‘कार्यगत एकता’ गरेका छन् भने नेपाल सरकारसँग वार्तामा बसेर हतियार बुझएका भगत सिंह र कौटिल्य समूहले आन्दोलनको धम्की दिएका छन् । भगत सिंह समूहका कार्यकर्ता केहीअघि बाँके जिल्ला प्रशासनको गेटमा आमरण अनशन समेत बसेका थिए । भगत सिंह ३ भदौमा विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेका छन् । ‘तराई जनतान्त्रिक पार्टी मधेश’ नामको अर्को संगठनले पनि यो क्षेत्रमा आपराधिक गतिविधि चलाइरहेको बाँके प्रहरी बताउँछ ।

बाँके र बर्दियामा संगठित अपराध विरुद्ध विशेष सुरक्षा योजनाका साथ केन्द्रित भएको बताउने मध्यपश्चिम प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीका अनुसार, प्रहरीले सीमाबाट आपराधिक घूसपैठ रोक्न भारतीय समकक्षीहरूसँगको समन्वयमा गस्ती बढाएको छ । “सीमा क्षेत्रमा इन्टेलिजेन्सीलाई सशक्त बनाइएको छ”, डीआईजी भण्डारी भन्छन्, “उत्तरी सीमामा पनि विशेष चौकसी अपनाएका छौं ।”

खास गरेर नेपाल–भारत खुल्ला सीमा भएकोले हतियार ओसारपसार गर्न र एक देशमा अपराध गरेर अर्कोमा लुक्न सजिलो छ । यस क्षेत्रमा सामान्य मनमुटावमा पनि हतियार प्रयोग बढ्दै गएको तथ्यांकले देखाउँछ ।

पूर्वलडाकू र हतियार
३० भदौमा जाजरकोटको खलंगा—८ रानीवनमा लुकाइराखेको ४४ थान थ्रीनटथ्री राइफल र एक थान टु इन्च मोर्टार प्रहरीले बरामद गर्‍यो । यति धेरै थ्रीनटथ्री राइफलसँगै नेपाली सेनासँग मात्र हुने मोर्टार भेटिनुले शान्ति प्रक्रियामा आउँदा माओवादीले हतियार लुकाएको आशंकालाई बलियो बनाएको छ । गत वर्ष दाङ र कैलालीको जंगलमा पनि ठूलो परिमाणमा हतियार र विस्फोटक पदार्थ भेटिएको थियो । पूर्व गृहसचिव श्रीकान्त रेग्मी माओवादीले दाङ आक्रमणमा सेनाबाट लुटेका चार वटा रकेट प्रुफिजिङ गन (आरपीजी) फिर्ता नभएको बताउँछन् । यो अवस्थामा पूर्व लडाकूहरू संगठित हुनुलाई उनी सुरक्षा खतराको रूपमा लिन्छन् ।

क्षेत्र नम्बर ३ मा नेकपा—माओवादीले हतियार सहित प्रशिक्षण थालेको सूचना पाएका नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोइराला सुरक्षा खतरा बढेको अनुभव सुनाउँछन् । आगामी निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिश भएका एमाओवादी सचिवालय सदस्य कृष्ण जिसी भन्छन्, “हामीसँग एक हजार पूर्व लडाकू साथीहरू छन्, चुनावमा उनीहरूको प्रयोग हुने कुरा लुकाउन जरूरी छैन ।”

३३ निर्वाचन क्षेत्र रहेको मध्यपश्चिममा १५७८ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ३३९ वटा अति संवेदनशील, ५६७ संवेदनशील र ५९४ लाई सामान्य भनी वर्गीकरण गरिएको छ । चार निर्वाचन क्षेत्र रहेको बाँकेका १४१ मतदान केन्द्रमध्ये २५ अति संवेदनशील, ६२ संवेदनशील र ४७ वटालाई सामान्य मानिएको छ । अघिल्लो चुनावमा बाँकेमा अति संवेदनशील मतदान केन्द्र ७ वटा मात्र थिए ।

नेकपा–माओवादीको पकड र बहिर्गमित लडाकू चुनौती रहेको निष्कर्ष सहित गृह मन्त्रालयले मध्यपश्चिमका ४ जिल्लालाई अति संवेदनशील र अरू ६ जिल्लालाई संवेदनशील जिल्लाको रूपमा राखेको छ । रोल्पा, दाङ, प्यूठान र कालीकोटलाई अति संवेदनशील तथा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र मुगुलाई संवेदनशील जिल्लाको सूचीमा राखिएको छ ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>