रमझमशुक्रबार, आश्विन १८, २०७०
डकुमेन्ट्री हेर्नेको घुइँचो, ठूला फिल्मका दर्शक छैनन्
दक्षिण एशियामै चर्चित डकुमेन्ट्री फिल्महरुको मेला ‘फिल्म साउथ एशिया’ मा कुमारीले ठूलो हलमा दैनिक ९ शो उपलब्ध गराएको छ र सबै शोमा दर्शकहरु उत्तिकै छन् ।
१८ असोजमा रिलिज भएका नेपाली फिल्म ‘एके फोर्टी सेभेन’ र ‘पापी रात’ मा दर्शकहरुले उत्साह देखाएका छैनन् । मुलधारका नेपाली फिल्मले दर्शक नपाइरहेका बेला डकुमेन्ट्री फिल्महरुले भने नेपाली बजारमा ठूलै संख्यामा दर्शकहरु पाउने गरेका छन् ।
यसअघि मल्टिप्लेक्समै चलेको डकुमेन्ट्री ‘राजतन्त्रको उत्थान र पतन’ ले चार साता लगातार हल भरिभराउ बनायो । ‘को बन्छ लाहुरे’ का दर्शकहरु पनि उत्तिकै थिए । नेपाली बाहेक विदेशी डकुमेन्ट्री हेर्न आउनेहरुको भीडभाड पनि उत्तिकै हुन्छ ।
मुलधारका फिल्मले समेटन नसकेका कथाहरुलाई डकुमेन्ट्रीले समेटेको, कथा भन्ने फरक तरिका, बढी यथार्थवादी हुनुले डकुमेन्ट्रीका दर्शकहरु धेरै हुने गरेको जानकारहरु बताउँछन् । त्यसमाथि यस्ता महोत्सवहरु कमै आयोजना हुनाले पनि दर्शकहरुको त्यसतर्फ रुचि बढेको उनीहरुको भनाई छ ।
फिल्म साउथ एशियामा प्रदर्शन भइरहेका डकुमेन्ट्रीहरुमध्ये धेरैले यसअघि नै विभिन्न पुरस्कार पाइसकेका छन् । दक्षिण एशियामै उत्कृष्ट ठहर भएका, छोटो समयमै सकिने र यथार्थवादी भएकाले डकुमेन्ट्री फिल्म हेर्न नछुटाएको महाराजगञ्जबाट क्युएफएक्स कुमारी आइपुगेका निरोज खत्री बताउँछन् ।
यो डकुमेन्ट्री मेला २० असोजसम्म जारी रहनेछ ।