रमझमशुक्रबार, आश्विन १८, २०७०

खोसिएको खुशी

हिमालखबर

कक्षा ८ मा पढ्दै गर्दा १२ वर्षको उमेरमै विवाह गर्न बाध्य नवलपरासीकी नगिना चौधरी ।

सेभ द चिल्ड्रेनको सहयोगमा एन्टेना फाउन्डेशन नेपालले तयार पारेको टेलिभिजन कार्यक्रम ‘मैले जे भोगें’ को चौथो श्रृंखलामा कलाकार हरिवंश अचार्यले गाउँगाउँमा पुगेर बालविवाह र यसले पारेको असर पहिल्याएका छन् (हे. http://www.youtube.com/antennafoundation) ।

कपिलवस्तुका रुपेश यादवको १४ वर्षमा विवाह भयो । जबकि मानपुर बालक्लबका सदस्य रहेका रुपेश पहिले बालविवाह विरुद्ध जागरण ल्याउन सक्रिय थिए । उनी विवाह नगरे पढ्न नपठाउने परिवारको दबाबको कारण बाल–बेहुला भएका थिए । कपिलवस्तु सबैभन्दा बढी बालविवाह हुने जिल्ला हो ।

बालविवाहको कुप्रथा विरुद्ध सडक नाटक देखाउने रुपेश जस्ता बालबालिकाले नाटकमा अरुका मन जिते पनि व्यवहारमा हार खाएका छन् । परम्पराका नाममा परिवारले नै उनीहरुका पखेटा काटिदिएको बताउँछन्, कलाकार आचार्य । आमाबाबु भने खेल्ने उमेर समेत पूरा नगरेका छोराछोरीको विवाह गरेर जिम्मेवारी पूरा भएको ठानिरहेका छन् ।

पीडा थरीथरीका
कतिपय समुदायका अभिभावकका लागि छोराछोरीको बिहे खर्च टाउकोदुखाइको विषय हुन्छ । उनीहरुका अनुसार, ढिलो विवाह गर्दा खर्च धेरै लाग्छ । परम्पराका नाममा हुने यस्तै गलत सोचको शिकार भएकी छन्, नवलपरासीकी नगिना चौधरी । विवाह हुँदा १२ वर्षकी नगिना ८ कक्षामा पढ्दै थिइन् । गाउँमा यति सानै उमेरमा अरुको विवाह भएको पनि थिएन । नगिना भन्छिन्, “मेरो चाहिं यति सानैमा विवाह हुँदा धेरै दुःख लागेको छ ।”

आमा बेचैनी चौधरीले पछि दुई छोरीको एकैचोटि विवाह गर्दा खर्च जुटाउन नसक्ने भएकोले नगिनाको चाँडै गरिदिएको बताइन् । नगिनालाई आमा, सासू–ससुरा सबैले पढ्न दिने आश्वासन दिएका थिए, तर बिहेपछि वचन पूरा भएन । “गाईभैंसीलाई कसले घाँस काट्छ भन्दै पढ्न दिएनन्”, नगिना कलाकार आचार्यसँग भन्छिन् ।

एक पटक त ‘छिमेकीको बुहारीले बच्चा जन्माइसकी तिमीले पनि जन्माउनुपर्छ’ भनिएपछि उनी भागेर माइत पुगिन् । माइतमा बस्दा श्रीमान्ले पारपाचुकेको धम्की दिएपछि उनले आत्महत्याको प्रयास समेत गरिन् । “दुनियाँमा मेरो कोही नभए जस्तो लाग्छ”, कलाकार आचार्यसँगको वार्तामा उनी भन्छिन्, “साथीसंगीले हौसला दिंदा मेरो जीवन अँध्यारो भइसके जस्तो लाग्छ ।”

१४ वर्षमै विवाह गर्न बाध्य पारिएका कपिलवस्तुका रुपेश यादव ।

५ कक्षामा पढ्दै गर्दा विवाह गर्नुपरेकी राधाका दुई छोरी भइसके । त्यसवेला राधाका श्रीमान्लाई समेत विवाहबारे थाहा थिएन । उनीहरुले विवाहबारे बुझेसँगै शुरु भयो– मनमुटाव । श्रीमान्ले कुटपीट गर्न थालेपछि उनी छोरीहरु लिएर माइतीमा बसेकी छन् । राधा भन्छिन्, “मेरो कर्म यस्तै रहेछ, के गर्ने !”

१४ वर्षमा विवाह गरेकी तुलसा खड्का त्यही साल गर्भवती भइन्, तर उनको बच्चा गर्भमै मर्यो । चिकित्सकको प्रयासले बाँच्न सकेकी उनी कसैको पनि सानै उमेरमा विवाह नहोस् भनिरहेकी छन् ।

इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगले पनि कतिपय बालबालिकाको भविष्य अन्धकार बनाउँदैछ । दैलेखकी १५ वर्षीया मुना गिरी बारम्बार फोन गर्ने नचिनेको मान्छेको प्रेममा परिन् । अन्ततः भागेर सुर्खेत आउन लगाएको त्यो मान्छेले उनलाई एउटा मन्दिरमा लगेर सिन्दुर हालिदियो । त्यो मान्छेले आफूलाई दोस्री श्रीमती बनाएको कुरा मुनाले पछि मात्र थाहा पाइन् । नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारी बालविवाह नियन्त्रणमा प्रहरी एक्लैले खासै केही गर्न नसक्ने बताउँछन् ।

अधिवक्ता मीरा ढुंगाना बालविवाहले पढ्ने उमेरका केटाकेटीको भविष्य बर्बाद गरिरहेको बताउँछिन् । पोषण तथा महिला स्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीका अनुसार बालविवाहले बच्चा र आमाको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ । हुन पनि रक्तअल्पता, कुपोषण, पाठेघरको समस्या बालविवाहकै परिणाम हुन् । उप्रेती भन्छिन्, “कम उमेरका आमाबाट जन्मने बच्चाको तौल कम हुने मात्र हैन, त्यस्ता बच्चामा शारीरिक र मानसिक परिपक्वता नआउन पनि सक्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...