रिपोर्टसोमबार, आश्विन २१, २०७०

भययुक्त निर्वाचन

हिमालखबर

रामेश्वर बोहरा

महमुद आलममाथि भएको गोली प्रहारको विरोधमा २० असोजमा परवानीपुरमा भएको विरोध प्रदर्शन ।

चुनावी छलफलका लागि बारा परवानीपुरको लिपनीमाल—८ मा रहेको चावोसती खाद्य उद्योगमा १८ असोज बिहान पुगेका बारा ४ का नेकपा एमालेका उम्मेदवार महमुद आलममाथि करीब साढे ११ बजे गोली प्रहार भयो । डेढ किमी टाढा पर्साको लिपनीविर्ता–४ मा रहेको घरबाट सरासर आएका उनलाई एमाओवादीको मुस्लिम मोर्चासम्बद्ध समसुद्दीन अन्सारीसँग कुराकानी गरिरहेको वेला मोबाइलमा फोन आएपछि बाहिर निस्कँदा मोटरसाइकलमा आएका दुई जनामध्ये एकले ‘नेताजी नमस्कार’ भन्दै गोली हानेको थियो ।

छेउमा रहेका कार्यकर्ताले सामान्य प्रतिकार गरे पनि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर उनीहरू दक्षिणतर्फ भाग्न सफल भएका थिए । आलमलाई त्यहाँबाट मोटरमा वीरगञ्ज र हेलिकप्टरमा राजधानी ल्याइएको थियो ।

२०५६ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा बारा ४ बाटै एमालेको उम्मेदवार रहेर पराजित आलमलाई यो पटक बलियो उम्मेदवार मानिएको थियो । विद्यार्थी राजनीति हुँदै २०५४ मा एमाले सम्बद्ध नेपाल मुस्लिम इत्तेहाद संगठनको संस्थापक महासचिव, अहिले अध्यक्ष र एमालेको केन्द्रीय सदस्य बनेका आलममाथिको आक्रमणले निर्वाचनको माहोल बिथोलिने खतरा बढाएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा आलमको उपचार हुँदै ।

आलममाथि सांघातिक आक्रमण भएपछि एमालेले निर्वाचन सुरक्षामा गम्भीर प्रश्न खडा भएको बताएको छ भने निर्वाचन आयोगले सबै उम्मेदवारको सुरक्षाको भरपर्दो प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री माधवप्रसाद घिमिरेले उम्मेदवारको विशेष सुरक्षा प्रबन्ध गरिने बताएको लगत्तै प्रहरी प्रधान कार्यालयले पनि पार्टी कार्यालय, नेता र उम्मेदवारहरूको ‘थ्रेट’ विश्लेषण गरी व्यक्तिगत सुरक्षा उपलब्ध गराउन र गस्ती बढाउन सबै प्रहरी एकाइलाई निर्देशन दिएको छ ।

आलममाथि आक्रमण हुँदा नेपाल प्रहरीका अधिकांश अधिकारी प्रहरी दिवसको औपचारिक समारोहमा व्यस्त थिए । त्यो कारण पनि हुनसक्छ, आक्रमणकारीबारे प्रहरीले सुराक फेला पार्न सकेको छैन । एमालेको राम्रो भोटब्याङ्क मानिएको मुस्लिम समुदायका अगुवा आलमलाई भारतीय प्रहरीले पक्राउ गरेका आतंकवादी संगठन ‘लस्कर–ए–तोयबा’ का अब्दुल करिम टुण्डा र ‘इन्डियन मुजाहिद्दीन’ का संस्थापक यासिन भट्कलसँग भारतीय संचारमाध्यमले केही अघि जोड्ने प्रयत्न गरेका थिए । जुन, यो आक्रमणसँग पनि जोडिन सक्छ । भलै, यो आक्रमण कसले र किन गर्‍यो भन्ने कारण अझै खुलेको छैन ।

चुनावी हिंसाको शृंखला
समय र प्रकृति फरक भए पनि २०६४ को संविधानसभा निर्वाचनअघि पनि यस्तै रक्तपातपूर्ण घटना भएका थिए । २८ चैतको संविधानसभा निर्वाचनभन्दा दुई दिनअघि २६ चैत साँझ् सुर्खेत १ का एमाले उम्मेदवार ऋषिप्रसाद शर्मालाई गोली हानी हत्या गरिएको थियो । दाङ १ अन्तर्गत लमही क्षेत्रमा चुनावी प्रचारमा रहेका सात जना माओवादी कार्यकर्तालाई पनि त्यही दिन गोली हानी हत्या गरिएको थियो । शर्माको हत्यामा उनकै अंगरक्षक प्रहरी हवल्दारको बन्दूक प्रयोग भएको भेटिए पनि प्रहरी हवल्दारबाहेक अरूको संलग्नता पनि रहेको हुनसक्ने मानिन्छ । माओवादी कार्यकर्ताहरूको हत्या चाहिं कांग्रेस उम्मेदवार एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई जोगाउन प्रहरीले गोली चलाउँदा भएको थियो । त्यसअघि जनमोर्चाका बाँके ३ का उम्मेदवार कमलप्रसाद अधिकारीको पनि हत्या भएको थियो ।

१७ असोजमा कञ्चनपुरमा कडा सुरक्षाबीच मनोनयन दर्ता गरिंदै ।

आलममाथिको आक्रमणले निर्वाचनको वातावरण र परिणाममा कस्तो असर पार्नेछ भनेर केलाउन बाँकी छ । ४ मंसीरको निर्वाचन बिथोल्न अप्रिय घटना पनि हुनसक्ने अनुमान गरिएको वेला यो घटना त्यसैको कडी र शुरुआत पनि हुन सक्छ । प्रहरी अधिकारीहरू चाहिं अनुसन्धान जारी रहेकाले घटनाको कारण र उद्देश्यबारे अहिल्यै भन्न नसकिने बताउँछन् ।
यो घटनाले निर्वाचन बिथोल्न सम्पूर्ण शक्ति लगाउने घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमाथि दबाब पर्ने सम्भावना पनि छ । माओवादीका नेताहरूले निर्वाचन बिथोल्न ‘बूथमा बम खसाल्ने’ देखि ‘उम्मेदवारहरू घर फर्कने÷नफर्कने टुंगो नहुने’ भन्दै आएका थिए ।

घटनाको प्रकृति, घटनामा संलग्न भनिएकाको हुलिया, उनीहरूले भारतीय नम्बरको मोटरसाइकल प्रयोग गर्नु र घटनापछि उनीहरू भारतीय सीमातर्फ भाग्नुले माओवादीतर्फ औंला तेर्सिने सम्भावना निकै कम भए पनि उसलाई रक्षात्मक भने बनाउन सक्छ । जसले, निर्वाचन बहिष्कारको आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने प्रतिबद्धता सार्वजनिक गर्न उसलाई बाध्य पार्न सक्छ । यही घटनापछि पूर्वी पहाड–तराईमा निर्वाचन बिथोल्ने घोषणा गरेको ‘संघीय लिम्बूवान राज्यपरिषद्’ ले आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको छ ।

आलमको पृष्ठभूमि र जीवनशैलीलाई आधार बनाएर उनीमाथिको आक्रमणलाई सामान्य बनाउन मिल्ने देखिंदैन । निर्वाचन बिथोल्ने, कुनै शक्तिलाई बलियो वा कमजोर बनाउने वा कुनै दल वा समुदायलाई भयभीत बनाउने योजना अन्तर्गत यो आक्रमण भएको हो भने यस्ता अरू आक्रमण दोहोरिन सक्छन् । जसले, भारतीय सीमा नजिक रहेको तराई मधेशमा त्रास बढाउनेछ र निर्वाचनको वातावरण अरू बिथोल्नेछ ।

काठमाडौंमा उम्मेदवारी दर्ता गरेर फर्कंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ।

केहीको भनाइमा अहिले आक्रमणको तारो एमाले बनेको भए पनि ‘मधेश कब्जा’ गर्ने रणनीति लिएर तराई पसेको एमाओवादीमाथि यो खतरा आउने दिनमा बढ्ने सम्भावना छ । माओवादी शान्ति प्रक्रियामा आएपछि तराईमा उसका नेता–कार्यकर्ताको हत्या श्रृंखला चलेको विगतले त्यो नहोला भन्न पनि सकिंदैन । जसलाई पुष्टि गर्दै तराईमा कार्यरत एक जना उच्च प्रहरी अधिकारी भन्छन्, “सबैलाई खतरा भए पनि एमाओवादीका उम्मेदवारलाई अरूलाई भन्दा बढी खतरा छ ।”

राजनीतिमा अराजनीति
निर्वाचनका लागि शान्ति सुरक्षा प्रमुख मुद्दा बन्न लागेको वेला राजनीतिक दलहरू विश्रृंखलित देखिएका छन्, त्यसले पनि अराजकता बढाउन सहयोग पुगेको छ । दलका शीर्ष नेतृत्व विरुद्ध कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् भने उम्मेदवारी मनोनयनको केही घण्टा अघिसम्म दलबदल श्रृंखला चलेको थियो । ती घटनाक्रमले नेपाली राजनीति अराजनीतिक बन्दै गरेको देखाउँछ ।

नेपाली कांग्रेसको मोरङ जिल्ला सचिव बाबुराजा ओझलाई प्रवेश गरेलगत्तै एमाओवादीले मोरङ ६ मा प्रत्यक्षको उम्मेदवार बनायो । कांग्रेसको क्रियाशील सदस्य विराटनगरका उद्योगी दिलीप बगडियालाई एमाओवादी मोरङले समानुपातिक सूचीमा सिफारिश गर्‍यो । शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका विराटनगरका धनाढ्य गोपाल कटुवाललाई पनि एमाओवादीले मोरङ ७ बाट टिकट दियो ।

रुपन्देही २ बाट उम्मेदवारी दिएका नेपाल युवा किसान पार्टीका नूर मोहम्मद प्रस्तावक र समर्थकसँगै ।

यसले द्वन्द्वकालदेखि माओवादीमा रहेका नेता–कार्यकर्तालाई रुष्ट पारेको छ । कैयौं रुष्टले बागी उम्मेदवारी दिएका छन् भने कैयौंले पार्टी समिति बैठकबाटै आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने निर्णय गरेका छन् । मोरङ ७ मा उम्मेदवारी पाउने आशामा रहेका कोचिला राज्यसमिति सदस्य तथा थारू राष्ट्रिय मुक्ति मोर्चाका कोचिला अध्यक्ष अमनलाल मोदी थारू ‘पार्टीले कदर नगरे पनि जनता र इतिहासले मूल्याङ्कन गर्ने’ भन्दै असन्तुष्टि व्यक्त गर्छन् भने मोरङ २ मा उम्मेदवारी पाउने आशामा रहेका राज्य समितिका सचिवालय सदस्य देवराज भण्डारी चित्त नबुझे पनि पार्टी विरुद्ध नगएको बताउँछन् ।

एमाओवादीबाट धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेमा ७ मध्ये ५ नवप्रवेशी छन् । धनुषा १ मा तीन महीनाअघि एमालेबाट एमाओवादी बनेका रामचन्द्र झ र ३ मा हरिदेव मण्डल उम्मेदवार बने भने धनुषा ५ मा पाँच महीनाअघि कांग्रेसबाट एमाओवादी बनेका विजयकुमार यादव उठे । ६ मा गत संविधानसभामा निर्वाचित (हाल दिवंगत) रामकुमारी यादवकी छोरी बोधमाया यादव उठेकी छिन् । एमाओवादीमा एकताकेन्द्रबाट आएका बलराम सुवेदीले टिकट नपाएपछि त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । धनुषा ७ मा पनि एकताकेन्द्रबाट एमाओवादीमा आएका रामकुमार महतो उठेका छन्, उनी गत संविधानसभा निर्वाचनमा जनमोर्चाबाट त्यहीं उम्मेदवार थिए ।

द्वन्द्वकालका माओवादी लडाकू श्रवण यादवले धनुषा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्, नवप्रवेशीले ‘माओवादी कब्जा’ गर्न थालेको आक्रोश पोख्दै । गत संविधानसभा निर्वाचनमा उनी झसँगै पराजित भएका थिए । पर्सामा एमाओवादीबाट उम्मेदवार हुनेमा पनि नवप्रवेशीकै बाहुल्य छ । त्यहाँका पाँच क्षेत्रमा १ का बलिराम साहबाहेक सबै नवप्रवेशी हुन् । ५ मा एमालेबाट केही महीनाअघि प्रवेश गरेकी उर्मिला अर्याल उम्मेदवार बनेकी छिन् भने २ मा केही दिनअघि एमाओवादी पसेका नेशनल मेडिकल कलेजका बसरुद्दीन अन्सारी र ४ मा सशस्त्र समूहबाट प्रवेश गरेका प्रल्हाद गिरी उम्मेदवार बनेका छन् ।

जसको विरोधमा द्वन्द्वकालदेखि माओवादी रहेकाले १५ असोजमा वीरगञ्जको होटल सम्झ्नामा पत्रकार सम्मेलन गरेर ‘अनुहार र पैसाको आधारमा टिकट दिएर पार्टीका पुराना कार्यकर्ताहरूको अपमान गरेको’ बताएका थिए । पर्सा २ का आधिकारिक उम्मेदवार अन्सारी विरुद्ध एमाओवादीको अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य पारस ठाकुर बागी बनेका छन् ।

धनुषा १ मा बागी उम्मेदवारी दिएका एमाओवादी केन्द्रीय सदस्य श्रवण यादव ।

सुनसरी ४ मा पनि २०६४ मा एमाओवादी प्रवेश गरेकी लीलादेवी शाहलाई उम्मेदवार बनाइएको छ । ५ मा दुई महीनाअघि मधेशवादी दलबाट प्रवेश गरेका नन्दनकुमार दत्तलाई एमाओवादीले उम्मेदवार बनाएको छ । उनी त्यही क्षेत्रबाट संविधानसभाको गत निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए ।

पार्टीको गुटगत लडाईंले युद्धकालीन नेता–कार्यकर्ताको राजनीति समाप्त पारेको बताउँदै एमाओवादी केन्द्रीय सदस्य तथा पूर्वसभासद् शिवचन्द्र कुशवाह उम्मेदवारी दर्ता गर्ने दिन सद्भावना पार्टी प्रवेश गरे र सद्भावनाबाट बारा २ मा उम्मेदवार बने । बाराबाट गत संविधानसभामा निर्वाचित कुशवाह ‘माओवादीबाट मधेशको मुक्ति सम्भव नभएको’ र ‘अवसरवादीहरूको पार्टी रहेको’ बताउँछन् । एमाओवादी भोजपुरा राज्यसमिति सदस्य रामराज चौधरीले पनि पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै बारा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस, एमाले र मधेशवादी दलमा पनि बागी उम्मेदवारी दिने प्रवृत्ति देखिए पनि एमाओवादीमा यो प्रवृत्ति निकै बढी देखिएको छ । जसले, त्यो पार्टीमा नेतृत्वको पकड कमजोर बनेको देखाउँछ । एमाओवादीले काठमाडौं ३, ललितपुर २ र काभ्रे १ मा पनि विद्रोही उम्मेदवार सामना गर्नुपरेको छ । सशस्त्र द्वन्द्वमा सहभागी नेता कार्यकर्तामा देखिएको असन्तुष्टि र आक्रोश एमाओवादी र समग्र निर्वाचनकै लागि चुनौती बन्न सक्छ ।

शीर्ष नेताको सकस
यो पटकको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरू नै निर्वाचन जित्नेमा विश्वस्त देखिंदैनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा काठमाडौं १० र रोल्पा १ बाट विजयी भएका उनी रोल्पा र काठमाडौंबाट विजयी हुने निश्चित नभएकाले सिरहा पुगेको देखिन्छ । भलै, उनले त्यहाँ जानुमा ‘मधेशसँग प्रेम बसेको’ भन्ने कारण देखाएका छन् ।

कांग्रेस सभापति सुशील कोइराला बाँके ३ र चितवन ४ बाट उम्मेदवार बनेका छन् । यसअघि बाँके ३ मा तेस्रो नम्बरमा रहँदै पराजित भएका उनी त्यहाँबाट विजयी हुनेमा विश्वस्त नभएर पार्टीको स्थिति केही बलियो रहेको चितवन पुगेको देखिन्छ । तर, त्यहीं पनि पार्टीका पूर्व जिल्ला सभापति विकास कोइरालाले बागी उम्मेदवारी दिएपछि उनले चुनौती बेहोर्नुपर्ने भएको छ । यसअघि इलाम १ बाट मात्र चुनाव लड्दै आएका एमाले अध्यक्ष झ्लनाथ खनालले सर्लाही १ बाट पनि उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा एमाले विजयी भएको सर्लाही १ रोज्नुले खनाल इलाममा ढुक्क नरहेको देखिन्छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं २ र रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । नेपाल गत निर्वाचनमा काठमाडौं २ र रौतहट ६ मा उठेर पराजित भएका थिए ।

एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई पनि गत निर्वाचनमा जितेको गोरखा २ छाडेर गोरखा १ र रुपन्देही ४ मा उम्मेदवार बनेका छन् । पुरानो क्षेत्र परिवर्तन गर्दै दुई क्षेत्र रोज्नुले भट्टराई चुनावी परिणामप्रति ढुक्क हुन नसकेको देखाउँछ । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुरा र कैलाली ६ बाट उम्मेदवार बनेका छन् । यसअघि डडेल्धुरा र कञ्चनपुर ४ बाट विजयी उनी कञ्चनपुर छाडेर कैलाली जानुले विजयप्रति विश्वस्त नरहेको देखिन्छ ।

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङ ५ र सुनसरी ५ तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मोरङ ७ र सुनसरी ३ बाट उम्मेदवारी दिएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले प्युठान १ र बर्दिया १ बाट उम्मेदवारी दिएका छन् भने राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले बैतडी १ र २ बाट ।

यादव र गच्छदार यसअघि एउटै पार्टीमा रहेका र दुवै नेता दुवै क्षेत्रबाट विजयी भए पनि अहिले उनीहरू अलग अलग पार्टीमा छन् भने उनीहरूले अनेकौं पटक विभाजन बेहोरेका छन् । यस्तोमा सम्भावित परिणामप्रति उनीहरू ढुक्क नदेखिएको उदाहरण हो, दुई क्षेत्रबाट उम्मेदवारी । गौतम बर्दियाबाट दुई निर्वाचनमा पराजित भएका थिए भने २०५६ को निर्वाचनमा पराजित र २०६४ मा प्रत्यक्ष निर्वाचन नलडेका चन्द पहिलो पटक गृह जिल्लाका दुई क्षेत्रबाट लड्दैछन् ।

पार्टीका प्रमुख नेताहरू नै सम्भावित चुनावी परिणामप्रति ढुक्क हुन नसकेर दुई क्षेत्रबाट उम्मेदवार बन्नुले पनि निर्वाचन परिणामको अन्योल कुन हदसम्म छ भन्ने देखाउँछ । नेतृत्वमै व्याप्त यस्तो अन्योलले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धाको संकेत गर्दैन, जसले सुरक्षा चुनौती बढाउन सक्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...