ब्लगबिहीबार, आश्विन २४, २०७०

स्वतन्त्र खुशी

सरला गौतम

फूलबुट्टे सारी लगाएर ठमठम हिंड्नुहुने हजूरआमाको फेरो समाउँदै म हिंड्थे । आफू जसरी नै ठाँटिएका आइमाईहरूको बीचमा रानोमौरी झैं उहाँ हिंड्नुहुन्थ्यो । राति रत्यौली खेल्दा वा दिउँसो तीज र मेलाहरूमा नाच्दा– खुशीले चम्केका उहाँका आँखा अझैं मेरो मनमा छ । क समेत नपढ्नुभएकी उहाँले अक्षरको महत्वबारे बारम्बार सम्झाउँदै भन्नुहुन्थ्यो, “छोरीमान्छेले झन् पढ्नुपर्छ ।” मैले स्पष्ट पढेको सुन्दा उहाँ मेरो तारिफ गरेर थाक्नुहुन्नथ्यो ।

बाजुरा मानकोटकी नन्दी बुढासँग बिडी तान्दै लेखिका ।

अँध्यारोमा पनि नडराई एक्लै हिंड्ने उहाँले मभित्र निर्भयताको यस्तो बत्ती बालिदिनुभयो, जसले गर्दा अहिले म देशको कुना–कुना एक्लै छिचोल्दै हिंड्छु । कुनाकन्दराका हरियो पाटनमा नाँच्दा होस् वा ट्रेकिङका क्रममा टेन्टमा राति निर्धक्क निदाउँदा; काठमाडौंका बाटामा बेपर्वाह हिंड्दा होस् वा चियापसलमा साथीहरूसँग अबेरसम्म टेबल ठोक्दै गफिंदा– कुनै वेला पनि म आफूलाई हजूरआमाभन्दा सुखी र बेजोड आइमाई ठान्दिनँ । बरु लाग्छ, मैले उहाँले बाँच्न बाँकी जीवन बाँचिरहेकी छु ।

निर्भयको आनन्द

बाजुराको विकट मानाकोटमा मैले ५० वर्षीया नन्दी बुढालाई भेटें । पटपट फुटेका हातखुट्टा, जिङरिङ्ग कपाल र अनाकर्षक लवाइ, पोषण नपुगेको शरीरमा उनी सत्तरी वर्षकी जस्ती देखिन्थिन् । लाग्थ्यो, उनीसँग कुरा गर्न अटाई नअटाई विषय तर लखतरान मेरो ज्यानलाई ती सब सुन्ने जाँगर थिएन ।

तर अड्कल विपरीत जंगली च्याउको मीठो तिहुनसँग भात खाएपछि खुलेर उनले शुरू गरेको कुराकानीले त्यहाँको माहोल र मलाई समेत जोशिलो बनाइदियो । भतिजीसँग बिंडी मागेर सल्काएपछि हामीतिर हेर्दै उनले भनिन्, “तिमी जस्ता लम्प्यान (प्याण्ट) भिरेका मन्ठे आउँदा पहिले जंगलतिर कुदिन्थ्यो, अहिले मस्त बात मारिन्छ । पढ्न मात्र पाको भए देखाइदिन्थें, के हो नन्दी बुढा भनेर ।”

रमाइलो त्यो बातचित आधा रातसम्म चलेपछि मैले ठम्याएँ, उनी जस्तो बिन्दास आइमाई मैले भेटेकै थिइनँ । आफ्नै परिवेशमा स्वतन्त्र जीवनयापन गर्न र आफ्ना विचार खुला रूपमा व्यक्त गर्न पाएकाले उनी खुशी थिइन् । बाजुरामा बन्दै गरेको मोटरबाटोको कुरा गर्दा उनको अनुहारमा अरू बढी खुशी देखिन्थ्यो । पतिलाई ‘भोटे बूढा’ भन्ने गरेकी उनले त्यसलाई ‘राजाको पनि नाम लिन पाइने जमाना’ को कुरा भन्न भ्याइन् । त्यसो गर्दा पतिसँग समान रहेको महसूस गरेको मनैदेखि निस्केको उनको हाँसोले देखाउँथ्यो । नयाँ जमानाको मजा आधुनिक र पढे–लेखेका महिलाले मात्र हैन, विकट गाउँकी महिलाले लिएको उदाहरण थिइन्, नन्दी ।

खुशी खोज्न वेलाबखत नेपाली गाउँ चहार्ने जापानी मित्र कियोमी पनि मेरो सम्झ्नामा धेरै आउँछिन् । नेपालीहरूबारे उनी जहिल्यै भन्छिन्, “तिमीहरू किनमेल गर्दा पसलेसँग पनि अकारण हाँस्दै गफिन्छौ, हामीलाई त्यसरी हाँस्न हास्य–कार्यक्रम नै हेर्नुपर्छ ।” उनको भनाइले सुख भौतिक कारणबाट भन्दा मनको कारण बढी मिल्ने देखाउँथ्यो ।

मसँगै कुना–कन्दराको विकटतामा रमाउने हुन् या, शहरका पार्टीमा झुम्ने स्वतन्त्र केटीहरू; नन्दी हुन् या मेरी हजूरआमा– कसैको खुशी कोही भन्दा कम पाइनँ मैले । अर्थात्, मानिस जस्तो परिवेशमा पनि खुशी हुन सक्दो रहेछ, मात्र चाहिने भनेको स्वतन्त्रताको अनुभूति नै हो । नन्दी जस्ता सुखी मानिसहरूसँगको भेटले परिस्थिति भन्दा पनि स्वभावले बढी सुख दिन्छ भन्ने टुंगोमा म पुगेकी छु ।

स्वतन्त्रताले खुशी

मेरो यात्राको विवरण सुनेर अनि फोटो हेरेर मेरा भाइहरूको अनुहारमा देखिने उज्यालोले मेरो खुशी दोब्बर पार्छ । तर, उनीहरूसँग ‘हामी केटी पनि के कम छौं र !’ भन्न चाहिं मलाई मन लाग्दैन । गोसाइँकुण्डमा वरिपरिका केटाहरूको वास्तै नगरी मैले तिघ्रा देखाएर नुहाएको सुनाउँदा भाइहरू धक फुकाएर हाँस्छन् । परिवारका पुरुष सदस्यले फराकिलो सोचाइ राख्दा र असल केटा साथीहरूबाट सद्भाव पाउँदा खुशी बनाउँछ । अनि हाम्रा खुशीमा चम्कने उनीहरूका आँखाको तेजले हामीलाई पनि उज्यालो पार्छ ।

केटीहरूका लागि परिवार र समाज खुला हुँदै गएको छ । एक्लो केटी विदेश जानु, अब नौलो रहेन । विभिन्न जिल्लाबाट एक्लै काठमाडौं आएर बस्ने केटीहरूको संख्या पनि धेरै भइसकेको छ । केटीहरूको काँधमा थोपरिएका अनेकौं ‘संस्कारजन्य बोझ्’हरू कम हुँदै गएको छ । महिलाहरूको यौनिकताप्रतिको स्व–स्वामित्वप्रति समाज नबोलिकनै सहिष्णु बन्दै गएको छ । यति भएपछि स्वतन्त्रता केटीहरूको हातमा आइहाल्यो । बढ्दो स्वतन्त्रता नै केटीहरूमा खुशी बढाउने कारण बनेका छन् ।

जबकि यति स्वतन्त्रताका लागि पहिला परिवारभित्रै पनि रातोदिन आन्दोलन गर्नुपथ्र्यो, जुन अहिले पारिवारिक स्नेह सहित पाइएको छ । शैक्षिक र आर्थिक रूपमा प्रगति गर्न सकिएको छ । उपहार लिने महिला, दिनसक्ने बनेका छन् । भनेको ठाउँमा जान होस् वा मन लागेको खान र लाउन– कसैको भर पर्नु परेको छैन । यिनै कुराहरूमा त लुकेका छन् केटीहरूको खुशी । म, आफ्नो जीवनको हरेक पाटामा आफैं निर्णय लिन सक्छु भन्ने बोधले नै खुशी तुल्याउँछ । यसले देखाउँछ, स–साना कुरामा हिजोका दिनमा केटी माथि लाग्ने अकुंशहरू क्रमशः फुक्दै गएका छन् । हिजो ‘ठूलो स्वरले हाँस्न नपाइने’ केटीहरूको मुहारमा देखिने उन्मुक्त हाँसो समाजकै लागि महत्व राख्छ ।

बाहिर जे सुकै भए पनि छोरी निर्धक्क घर आउन पाउनुपर्छ भनेर सिंगो परिवारमाझ् आमाले भनेको आवाज म जहाँ पुग्दा पनि गुन्जिरहन्छ । र, त्यही आवाजले म माथि बलात्कारै भए पनि निर्धक्क घरमा पुग्न सक्छु किनकि म निर्दोष हँु भन्न सक्ने वातावरण आजका मेरा जस्तै परिवारले आफ्ना छोरीहरूलाई दिन थालेका छन् । परिवारका सदस्यहरूको यस्तै भनाइले केटीहरूमा बढाउने साहसको बलमा पाइने खुशी शब्दमा व्यक्त गर्न सकिन्न ।

महिलाको यौनिकतालाई ‘चरित्र’को नाम दिने समाजको सोचमा पनि परिवर्तन आउन थालेको छ । यसले केटीहरूलाई निर्भय बनाएको छ । आत्मनिर्भर, आत्मविश्वासी, स्वतन्त्र र निर्भय महसूस हुँदा नै सुख महसूस हुने हो । आत्मनिर्भर हुँदाहुँदै पनि हामी परस्परमा निर्भर छौं । हामी खुशी हुँदा हामीसँगै रमाउनेहरू भएनन् भने त्यो सुख नभएर अभिमान बन्न पुग्छ ।

हाम्रो समाजमा देखिएको यो परिवर्तन एक दिनमा आएको होइन । स्वतन्त्र र आत्मनिर्भरताको अनुभूति भएसँगै अनेकन बाधा र लाञ्छनाहरू पनि आउँछन् । तर, थकाइ नमारिकन यस्तै स्वतन्त्रताको अनुभूति दिने परिवेश बनाइराख्ने काम गरियो भने जिन्दगी स्वाधीन बन्छ । र, स्वाधीनतामै सम्पूर्ण सुख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...