Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हातमा पैसा मुहारमा खुशी - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, आश्विन २५, २०७०

हातमा पैसा मुहारमा खुशी

हिमालखबर

– प्रभात भट्टराई

किसानले वर्षभरिको बचत जोगाएर राख्ने, सरकार तथा निजी क्षेत्रका कर्मचारीले एक महीनाको अतिरिक्त तलब पाउने र विदेशमा काम गर्नेहरूले पनि घरपरिवारलाई साविकभन्दा बढी खर्च पठाउने हुनाले दशैंमा नेपालीसँग खर्च गर्ने क्षमता अरू वेलाभन्दा बढी हुन्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा लिंदै सर्वसाधारण ।

निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीका बहालवाला तथा पेन्सनवाला गरी करीब ६ लाखले झ्ण्डै साढे ११ अर्ब रुपैयाँ दशैं पेश्की थाप्छन् । सरकारी कर्मचारी बराबर तलब र पेश्की पाउने औपचारिक निजी क्षेत्रमा काम गर्ने १२ लाख जनाले झ्ण्डै रु.२३ अर्ब दशैं खर्च बुझछन् । विदेशमा काम गर्ने २० लाख नेपालीले पनि घरपरिवारलाई करीब रु.४० अर्ब रकम पठाउने मान्दा किसान, व्यवसायी र अनौपचारिक क्षेत्रका मजदूर बाहेकबाटै यो दशैंमा रु.७५ अर्ब खर्च हुने देखिन्छ ।

खर्च गर्ने चाड
बालीनाली, हाँस/कुखुरा, खसी/बोका र राँगा/सुँगुर बेचेर जम्मा गरेको नगद किसानहरूले दशैंमा मासु, मसला, कपडा किन्न, घर रंग्याउन र पाहुनालाई खुवाउन खर्च गर्छन् । जागीर/व्यवसाय गर्नेहरू पनि पेश्की र जम्मा गरेको रकम दशैंमा खर्च गर्न हिचकिचाउँदैनन् । पूर्व अर्थ सचिव रामेश्वर खनालका अनुसार, लामो विदा र अतिरिक्त पैसा हात पर्ने दशैंमा स्वदेश र विदेश भ्रमण गर्ने प्रवृत्ति पनि नेपालीहरूमा बढेको देखिन्छ ।

सरकारी कर्मचारीलाई एक महीना बराबरको अतिरिक्त तलब दिन २०३० देखि थालिए पनि ६ महीनाभित्र फिर्ता गर्नुपर्दथ्यो । तर, २०४२ को बजेटबाट सरकारले दशैं पेश्की फिर्ता गर्नु नपर्ने घोषणा गर्यो । २०४६ को राजनीतिक परिवर्तनपछि सार्वजनिक संस्थान र निजी क्षेत्रले पनि कर्मचारीलाई दशैंमा एक महीना बराबरको अतिरिक्त भत्ता दिन थाले । सरकारबाट पेन्सन पाउनेले पनि २०४२ देखि नै फिर्ता गर्नु नपर्ने गरी एक महीना बराबरको अतिरिक्त पैसा पाउन थाले ।

कर्मचारीले पाउने भत्ता, विदेशबाट आउने रकम र किसान/व्यवसायीले गर्ने खर्च हेर्दा दशैंमा कम्तीमा रु.१ खर्बभन्दा बढी खर्च हुने पूर्व अर्थसचिव खनालको अनुमान छ । त्यसले नेपाली बजार चलायमान बनाउने उनी बताउँछन् । त्यही भएर सानादेखि ठूला व्यापारी वर्षभरि खर्च धान्ने गरी दशैंमा व्यापार र कमाइ हुने आशामा हुन्छन् ।

दशैंअघि झ्न्डै डेढ दर्जन पब्लिक लिमिटेड कम्पनीहरूले साधारणसभा बोलाएका छन् । पुससम्म साधारणसभा गर्न पाइने भए पनि दशैंको वेला लाभांश वितरण गर्न उनीहरूले साधारणसभा बोलाएको देखिन्छ । अर्थमन्त्रालयका वरिष्ठ सल्लाहकार चिरञ्जीवी नेपाल भन्छन्, “सरकार र निजी क्षेत्रले अतिरिक्त तलब दिनु र बजारमा पैसा जाने गरी अरू क्षेत्रले पनि गतिविधि गर्नुले दशैंलाई खुशीयाली पार्न सघाउँछ ।” नेपाल राष्ट्र ब्याङ्कले पनि दशैंमा रु.३० अर्ब बराबर नयाँ नोट निकाल्ने गर्छ । नयाँ नोट दक्षिणा दिन प्रयोग गर्ने चलन छ ।

बाध्यताको चाड
गरीबीको रेखामुनि रहेका झन्डै २५ प्रतिशत नेपालीका लागि भने अहिले पनि दशैं बाध्यताले मान्नुपर्ने चाड बन्ने गरेको छ । ऋणको भारी बोकाउन आउने यो चाडमा मासु र एक जोर नयाँ कपडा किन्ने खर्च जुटाउन उनीहरूलाई धौ–धौ पर्छ । शहर/बजारका र सम्पन्न मानिसहरूलाई जस्तो उनीहरूका लागि दशैं धेरै उल्लासको चाड बन्न सकेको छैन ।

तर, परम्परागत चाड भएकाले आर्थिक हिसाबले कमजोरले पनि ऋण खोजेर दशैं मनाउने गर्छन् । पूर्व अर्थसचिव खनाल भन्छन्, “गरीब तथा न्यून आय भएकालाई दशैं बाध्यता बन्ने र ऋण खोज्न पिरोलिनुपर्ने अवस्था अझ्ै हट्न सकेको छैन ।”

कृषकका लागि दशैं फुर्सदिलो वेला भए पनि बालीनाली बेचेर पैसा हात पार्ने समय होइन । मकै पहिले नै पाकिसकेको हुन्छ भने धान काट्ने वेला भएको हुँदैन । पछिल्लो समय नगदेबाली लगाउने र व्यावसायिक कुखुरा, खसी÷सुँगुर पालन गर्ने चलन बढेकाले आम कृषकहरू दशैंका लागि खर्च जोहो गर्न सक्ने भएका छन् । बचत नहुनेहरू दशैंका लागि ऋण गरेर भए पनि खर्च जुटाउने गर्छन् ।

खुशी नेपाली
नेपाल आउने विदेशीहरू नेपालीको हँसिलो मुहार देखेर प्रभावित हुन्छन् । दुःखका बीच पनि खुशी हुनसक्ने क्षमता नेपालीमा रहेको उनीहरूको भनाइ हुन्छ । तर, अन्तर्राष्ट्रिय संघसंस्थाका सर्वेक्षणहरूले भने नेपालीलाई खुशी नागरिकको सूचीमा अग्रस्थानमा राखेका छैनन् । सन् १९७२ मा भूटानका तात्कालीन युवराज जिग्मे सिङ्गे वाङचुङले ‘कुल राष्ट्रिय खुशी कुल राष्ट्रिय उत्पादन भन्दा महत्वपूर्ण हुन्छ’ भनेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेपछि संयुक्त राष्ट्रसंघ मातहतका संस्थाले मानिसको खुशी मापन गर्न थालेका हुन् ।

युनाइटेड नेसन्स सस्टेनेवल डेभलपमेन्ट सोलुसन नेटवर्कले सन् २०१३ मा गरेको सर्वेक्षणले डेनमार्क, नर्वे र स्वीट्जरल्याण्डलाई सबैभन्दा बढी खुशी मुलुक देखाएको छ । १५६ मुलुकमध्ये नेपालको स्थान ४.१४६ अंक सहित १३५ औं स्थानमा छ । प्रतिव्यक्ति आय, स्वस्थ जीवन सहितको औसत आयु, चाहे अनुसारको जीवनशैली, सामाजिक सुरक्षा, भ्रष्टाचार मुक्त राज्य र समाज, सहयोगी भावना र हार्दिकता लगायत मापदण्डको आधारमा गरिएको सर्वेक्षणले क्यानडा, मेक्सिको र अमेरिकालाई क्रमशः छैटौं, सोह्रौं र सत्रौं स्थानमा राखेको छ । मानिसले दिएको उत्तरको आधारमा शून्यदेखि १० नम्बर दिंदा डेनमार्कले सबैभन्दा बढी ७.६९३ र टोगोले सबैभन्दा कम २.९३६ अंक पाएका थिए । एशियाली मुलुकहरूमा इजरायल ७.३०१ अंक पाएर ११औं र दक्षिण कोरिया ६.२६७ अंक पाएर ४१औं स्थानमा रहेका थिए ।

नेपाल खुशी मुलुकको अग्रस्थानमा नपर्नुमा प्रतिव्यक्ति आय, भ्रष्टाचार, सामाजिक असुरक्षा जस्ता विश्वस्तरीय मापदण्डमा पछिपर्नुलाई कारण मानिएको छ । तर, १० वर्षको द्वन्द्व, कमजोर आर्थिक वृद्धि, रोजगारीको अवसरमा कमि, लम्बिंदो राजनीतिक संक्रमण जस्ता प्रतिकूलतामा पनि मुस्कुराउन र हाँस्न सक्ने नेपालीको स्वभाव र क्षमताको प्रशंसा गर्ने प्रशस्तै छन् ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>