रमझमशुक्रबार, आश्विन २५, २०७०

सीमान्तकृतका लेखक

हिमालखबर

-सन्त गाहा मगर

२०३१ सालमा भोजपुरको दिल्पामा जन्मेका राजन मुकारुङ २०५१ सालतिर खोटाङको लामाखुमा शिक्षक हुन पुगे । मावली गाउँमा करीब दुई साल पढाएपछि फुत्त उठेर हिंडेका उनी त्यसपछि न दिल्पामा अडिए, न त सदरमुकाम भोजपुर र धरानमा ।

साहित्यिक लगाव र सिर्जनाको हुटहुटीले अँचेट्दै–घचेट्दै उनलाई काठमाडौं ‘केन्द्र’ मै ल्याइपु¥यायो । त्यसरी राजधानीमा बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएका राजन अहिले सफलताको एउटा तहमा चर्चित र आनन्दित छन् । उनको यो चर्चा र आनन्द मदन पुरस्कारले लिएर आएको हो ।

५ असोजमा मदन पुरस्कार गुठीले राजनको दोस्रो उपन्यास दमिनी भीर लाई २०६९ सालको मदन पुरस्कार दिने निर्णय गरेयता उनी रमाइलोसँग ‘डिस्टर्व’ पनि भएका छन् । त्यसयता फोन, इमेल र अन्तर्वार्तामा व्यस्त उनले साहित्य सिर्जनामा एक हरफ पनि लेख्न नपाएको बताए । “दशैं अगाडि नै निकाल्ने भनेको उपन्यास ‘अयोग्य’ पनि अब एक वर्षपछि आउने भयो”, राजनले भने, “ठूलो पुरस्कार पाएपछि थपिएको जिम्मेवारीका कारण हतारमा कीर्ति ननिकाल्ने भएँ ।”

२०६० देखि पूर्णकालीन लेखक बनेका राजन शुरूमा कविका रूपमा चिनिए । उनका सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता संग्रह प्रकाशित छन् । उनको संस्कृति सम्बन्धी किरात संस्कार पुस्तक पनि प्रकाशित छ ।

निबन्ध र नाटक विधामा पनि कलम चलाउने उनी पाँच वर्षअघि हेत्छाकुप्पा मार्फत आख्यानमा उदाएका हुन् । नेपालको जातीय सीमान्तीकरण राजनको लेखनको आधारभूमि हो । उनको दमिनी भीर ले पनि ‘सीमान्तकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याएबापत’ मदन पुरस्कार पाएको हो ।

‘सिर्जनशील अराजकता’ नामको साहित्यिक आन्दोलनमा समेत संलग्न राजनले मदन पुरस्कार पाउनुलाई नेपाली साहित्यमा सीमान्तकृतहरुको सौन्दर्यचेत स्वीकृत भएको रूपमा बुझेको बताए । दमिनी भीर मा नेपाल प्रज्ञा–प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा नअटाएका ३०० वटा ‘सीमान्तकृत’ शब्द रहेको उनी बताउँछन् ।

‘मदन पुरस्कार पाउनेको लेखन ओरालो लाग्छ’ भन्ने बजार हल्लालाई चुनौती दिने तयारीमा जुटेका राजन भन्छन्, “पुरस्कारले थिच्दा जिम्मेवारी बढ्दो रहेछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>