रिपोर्टशनिबार, आश्विन २६, २०७०

टुरिष्ट उम्मेदवार

हिमालखबर

– सन्त गाहा मगर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १७ असोजमा काठमाडौं क्षेत्र नम्बर १० बाट संविधानसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न जाँदा पीडा र जिम्मेवारी बोध भएको प्रतिक्रिया दिए । दाहालले आफूलाई जिताए मतदाताको अभिमत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरिरहँदा अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौं १० मा भन्दा ११ हजार बढी मत दिने रोल्पा २ का मतदातालाई भने चटक्कै बिर्सिए ।

यसपटक दाहालले युद्धकालमा आफैंले माओवादीको राजधानी भनेर प्रचार गरेको दुर्गम रोल्पा होइन, मध्य तराईको सिरहा ५ रोजे । चितवनको भरतपुर–८ स्थायी ठेगाना भएका दाहालले यसपटक सिरहा ५ बाट पनि उम्मेदवारी दिएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अघिल्लो संविधानसभामा कञ्चनपुर ४ र डडेल्धुराका मतदाताले विजयी बनाएका थिए, तर यस पटक उनी डडेल्धुरा र कैलाली ६ बाट उम्मेदवार भएका छन् । यसैगरी, अघिल्लो निर्वाचनमा गोरखा २ का जनताले भारी मत दिएर सभासद् बनाएका एमाओवादी नेता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई यस पटक रूपन्देही ४ र गोरखा १ तिर लागेका छन् । उम्मेदवारी दिएको दिन उनले यसअघि जस्तै मतदाताको भावनाको कदर गर्ने बताउन बिर्सेनन् ।

दाङ ३ बाट सभासद् बनेका एमाओवादीका अर्का नेता कृष्णबहादुर महरा पनि यसपटक रोल्पा १ बाट उठेका छन् भने वर्षमान पुन ललितपुर ३ छाडेर मोरङ ९ र गोपाल किराँती सोलुखुम्बुबाट झपा ७ पुगेका छन् । एमाओवादीकै धर्मशिला चापागाई झपा ४ बाट ३ मा सरेकी छन् ।

खोलो तर्यो लौरो बिर्स्यो
एमाओवादी अध्यक्ष दाहाल रोल्पालीको भोटबाट सभासद् मात्रै होइन गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री नै बने । तर, संविधानसभाबाट संविधान जारी गर्न नसकेको माथि चुनावताका मतदातालाई दिएको आश्वासनको पिरलोले गर्दा उनी दोस्रो संविधानसभा चुनावमा ‘टुरिष्ट’ उम्मेदवार बन्न बाध्य भएका छन् । रोल्पावासीलाई उनले वृद्धवृद्धालाई रु.६ हजार मासिक भत्ता, प्रत्येक घरमा रोजगारी वा बेरोजगार भत्ता दिने प्रतिबद्धता जनाएर निर्वाचन जितेका थिए ।

त्यसवेला रोल्पाका अग्ला पहाडहरूलाई सम्म बनाउने र त्यो सम्भव नभए केबुलकार लैजाने दाहालको आश्वासनमा मतदाताले विश्वास गरेका थिए । २०६५ को उपनिर्वाचनमा एमाओवादीका उम्मेदवार सन्तोष बुढा मगरले दाहालको भन्दा १५ हजार कम मत पाएका थिए । एमाओवादीले अहिले त्यस क्षेत्रमा ओनसरी घर्ती मगरलाई उम्मेदवार बनाएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले भोट माग्दा आफूले डडेल्धुरामा विकास गरिसकेकाले अब कञ्चनपुरमा योजनाहरू ल्याउने बताएका थिए । गैर–सरकारी संस्थाहरूलाई समेत कञ्चनपुर केन्द्रित बनाउने प्रतिबद्धता जनाएपछि देउवाले त्यहाँबाट चुनाव जितेका थिए ।

२०६५ मा भएको उपनिर्वाचनमा कञ्चनपुर ४ बाट लडेकी एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निरु पाल २०६६ मा महाकालीको बाढीले सताउँदा पनि देउवाले सहयोग नगरेको बताउँछिन् । उपनिर्वाचनमा एमाओवादीबाट चुनाव जितेका कमल क्षेत्री पनि बाढी पीडितलाई सहयोग गर्न गएनन् । क्षेत्री कञ्चनपुर २ का स्थायी बासिन्दा हुन् ।

यता दाङ ३ बाट चुनाव जितेका रोल्पा, लिवाङका कृष्णबहादुर महराले सभासद् खरीदका लागि विदेशीसँग रु.५० करोड मागेको विषयले दाङवासीलाई लज्जित तुल्याएको नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य अनिता देवकोटा बताउँछिन् । गाउँ–गाउँमा अस्पताल र टोल–टोलमा विद्यालय स्थापना गर्ने महराको आश्वासन चुनावसँगै हराएको देवकोटाले बताइन् । हुन पनि, दङ्गालीको भोट लिएर पटक–पटक मन्त्री बनेका महराले त्यहाँको विकास निर्माणमा कुनै चासो दिएनन् ।

पावै–९ सोलुखुम्बुका एमाओवादी नेता गोपाल किरातीले अघिल्लो पटक दूधकोशीको तीरैतीर गाडी गुडाउने, प्रत्येक गाविसमा केबुलकार पुर्याउने लगायतका बाचा हावादारी सावित भएपछि यस पटक आफ्नै जिल्लामा गएर चुनाव लड्ने साहस गर्न सकेनन् । वार्ड–वार्डमा विद्यालय र घर–घरमा धारा पु¥याउने आश्वासन बाँडेका किरातीले पटक–पटक मन्त्री हुँदा मन्दिर मर्मतका लागि कुल रु.५ लाख निकासा गराएका थिए । त्यो रकम पनि उनकै कार्यकर्ताले सिध्याएको स्थानीय जनताको गुनासो छ ।

यता, ललितपुर ३ बाट सभासद् भएका वर्षमान पुनले चापागाउँको सिस्ने शहीद स्मृति केन्द्रका लागि ‘मिलाइदिएको’ जम्मा एउटा एम्बुलेन्स पनि चोरीको भन्दै प्रहरीले समातेको थियो । उनी यस पटक मोरङ ९ का मतदाता रिझउन कस्सिएका छन् ।

नयाँ क्षेत्र किन ?
प्रतिबद्धता अनुरूप काम नगर्ने पार्टी वा प्रतिनिधिलाई आवधिक निर्वाचनमा जनताले भोट दिंदैनन् । अहिले नेताहरू ‘टुरिष्ट’ उम्मेदवार हुन लाग्नुको कारण लोकतन्त्रमा जनताले गर्ने यही अभ्याससँग जोडिएको छ । राजनीतिक विश्लेषकहरू यसलाई लोकतन्त्रको सिद्धान्त विपरीतको आचरण भन्छन् । यो प्रवृत्ति विकास निर्माणका काममा मात्र नभई सम्बन्धित क्षेत्रका इमानदार कार्यकर्ताको नेतृत्व विकासमा समेत घातक हुने विश्लेषकहरूको भनाइ छ ।

राजनीतिक विश्लेषक नीलाम्बर आचार्य कानूनतः जुनसुकै क्षेत्रबाट चुनाव लड्न पाइने भए पनि एक ठाउँको मान्छे अर्को क्षेत्रमा जाँदा व्यावहारिक कठिनाइहरू उत्पन्न हुने बताउँछन् । उनका भनाइमा, निर्वाचन क्षेत्र फेर्ने वा दुई ठाउँबाट उम्मेदवारी दिने प्रवृत्तिलाई नेताहरूको व्यक्तिगत लालसासँग जोडेर हेर्नुपर्छ । आचार्य भन्छन्, “बाहिरिया उम्मेदवारकै खातिर लाखौं खर्चेर उपनिर्वाचनहरू गर्नु परेको छ ।”

प्रा. कृष्ण खनालले नेताहरूको राजनीतिक ठालूपन र तुष्टिका लागि देशले अनावश्यक रूपमा ठूलो आर्थिक भार बोक्नुपरेको बताए । अर्का विश्लेषक श्याम श्रेष्ठ ‘टुरिष्ट’ उम्मेदवारहरूले निकै जटिल व्यावहारिक समस्या खडा गरेको ठान्छन् । “बाहिरको मान्छे उम्मेदवार बन्दा सम्बन्धित क्षेत्रको बहुसंख्यक समुदायको प्रतिनिधित्वमा पनि असर परेको छ”, श्रेष्ठ भन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...