ब्लगशनिबार, आश्विन २६, २०७०
एकल ट्रेकर !
न अध्यात्ममा विश्वास गर्छु म, न ‘रिलिजन’ अर्थ लाग्ने आजभोलिको धर्ममा, जबकि आस्थावान सबैको स्वभावतः कदर गर्छु नै । धेरैले खुशी खोज्दछन् अलौकिक शक्तिको आशा, पहिचान या ‘निकटस्थता’ मा तर ‘नन–बिलिभर’ को लागि त्यो बाटो बन्दछ । ‘र्याशनलिजम्’ ले कतै छहारी दिंदैन, न मन्दिरमा, न ध्यान केन्द्र, प्रवचन वा शक्तिपीठमा ।
पूर्वजन्म र पुनर्जन्ममा विश्वास नगर्नेले परिवार, साथीभाइ, प्रकृति तथा आफ्नै मनमस्तिष्कमाझ् खुशी खोज्नुपर्ने छ ।
विभिन्न खुशीको स्रोत छन् यो पंक्तिकारको आफ्नो जिन्दगीमा, तीमध्ये एउटा हो एक्लो हिंडाइ, अथवा एकल ट्रेकिङ ।
खुशीको अनुसन्धानमा लाग्नुअघि ‘ट्रेकिङ’ शब्दको उत्पत्तिमाथि नै चर्चा गरौं । यो शब्दको २०औं शताब्दीयताको प्रयोग नेपालमै शुरू भएको कुरा धेरैलाई थाहा नहोला । यस हिसाबले यो शब्द आधुनिक अंग्रेजीलाई नेपालको सौगात हो । ‘ट्रेक’ शब्द डच भाषा हुँदै दक्षिण अफ्रिकाको बोअर जातिको अफ्रिकान्स् भाषाको अंग भयो । बेलायती उपनिवेश विरुद्धको संग्राममा घोडा, पैदल र गोरुगाडामा लामो बसाइँसराइ गर्नु परेको थियो त्यहाँका अफ्रिकान्स् बासिन्दालाई जुन पछि ‘द ग्रेट ट्रेक’ नामले प्रख्यात भयो । त्यो थियो सन् १८३०–४० को कुरा ।
यता नेपालमा राणाकालको अन्त्य पश्चात् १९६० को दशकमा भूपू ब्रिटिश–गुर्खा अफिसरको अगुवाइमा एउटा नयाँ खालको पर्यटन शुरू भयो । र, यसलाई के नाम दिने भन्ने प्रश्न उठ्यो । किनकि, हिमश्रृंखलामुनिका गोरेटोहरूमा हप्तौं हिंड्ने कार्यलाई ‘वाकिङ’ भन्न मिलेन, न त ‘क्याम्पिङ’ या ‘हाइकिङ’ नै भन्न सकियो । त्यही वेला हो बेलायती ‘साहेब’ हरूले नेपाली डाँडाकाँडामा शुरू भएको यो अनुपम यात्राको तरीकालाई अफ्रिकान्स् भाषाबाट सापट लिएर ‘टे«किङ’ संज्ञा दिएका । यसरी नेपालमा शुरू भएको यो प्रयोग आज संसारभर प्रचलनमा छ, दक्षिण अमेरिकाको एन्डिजमा होस् वा यूरोपको आल्पस्मा वा अलास्का या अष्ट्रेलियाको ‘आउटव्याक्’ मा, पदयात्रीहरू ‘ट्रेकिंग’ गर्छन् ।
मैले पैदल यात्रा शुरू गरेको कक्षा ९ मा पढ्दा हो । त्यस वेला काठमाडौं उपत्यकाको कुनाकाप्चा एक्लै हिंडेर रोमाञ्चक सफर (एड्भेन्चर) को स्वाद लिएँ । सन् १९७१ मा १६ वर्षको उमेरमा स्कूले पढाइ सकेर एक्कासि सोलुखुम्बू पुगें, जहाँ भर्खर ट्रेकिङ पर्यटनको शुरुआत हुँदैथियो । त्यो पदयात्रामा सोलुको दौरा–सुरुवालमा सुसज्जित शेर्पा दाइले सास नियन्त्रण गरेर उकालो लाग्ने र छरितो गरी ओरालो झ्र्ने ‘विज्ञान’ सिकाइदिए, र म पूरै हिमाल–पहाड–तराई चिर्न सफल भएँ । माथि तेङ्गबोचे गुम्बाबाट खुन्दे–खुमजुङ–नाम्चे हुँदै लुक्ला–चौरीखर्क, खार्ताको उकालो/ओरालो, टाकशिन्दु, सल्लेरी र ओखलढुंगा, टोक्सेलघाट, कटारी हुँदै पुरानो गोदार निस्किएँ म ।
एक्लै पार गरेको त्यो यात्राले मलाई पदयात्री मात्र होइन, ‘एकल ट्रेकर’ नै बनाइदियो । त्यसपछि ठाउँठाउँ पुगियो आफूसँगको यात्रामा, र कहिलेकाहीं साथीभाइसित । डडेल्धुराबाट मंगलसेन छिचोल्दा जंगलमै रात बिताइयो । अनकन्टारका भीरपाखा विना सहयात्री आफ्नो आत्तिएको मनलाई सम्हाल्दै पार गरियो । जतिवेला लोमान्थाङ पुगेथें पहिलो पटक सन् १९७८ मा त्यतिवेला मध्य पहाडकालाई विदेशी नै जस्तो गरी ‘रोंगवा’ भन्थे मुस्ताङ्गे लोमान्थाङ बासिन्दाले । मोटरबाटो पुग्नुअगावै हिमाल–पहाडका धेरै ठाउँ पुगियो ।
पदयात्राले मलाई फोटोग्राफर, पत्रकार बनायो । र, शायद सबभन्दा महत्वपूर्ण कुरा दिमागलाई (मैले जानेसम्म, शायद !) सिर्जनशील बनायो । यो कसरी ?
आफैं भारी बोकेर एक्लो पदयात्रा गर्दा एक त अगाडिको गोरेटो र वरिपरिको दृश्य हेर्ने, हिंड्ने बाहेक अरू कुरामा ध्यान दिन परेन । अन्तरमनको यात्रा शुरू हुन्छ, र दिमाग यसै चलायमान हुन्छ । फेरि भारी बोक्नु र हिंड्नुको कसरतबाट मुटुले ठूलै मात्रामा रगत सञ्चार गरेको हुन्छ । गिदीभित्रका न्यूरन्का तन्तुहरू तेजिला हुन पुग्छन्– विचार, स्मरण र तर्कको रफ्तारले मन आकाशिन्छ । ट्रेकिङको गति धिमा हुन्छ, जसले गर्दा साइकल चढ्दा या जगिङ गर्दा जतिको सतर्क हुनुपर्दैन र दिमागले आफैंसँग मग्न हुने मौका पाउँछ ।
एक्लो हुनु, तीव्र रक्तसञ्चार र बाटोमा धेरै ध्यान दिनु नपर्र्ने अवस्थाले एकल पैदलयात्रा अरू कुनै शारीरिक क्रियाकलापभन्दा मस्तिष्कलाई बढी क्रियाशील र सिर्जनशील बनाउँछ भन्ने ‘हाइपोथेसिस’ हो मेरो । जब दिमाग यसरी दौडन्छ, नयाँ–नयाँ कुरा सोच्दछ । विसंगतिहरूलाई संगतिमा ल्याउन खोज्दछ, खुल्दुली मेटाउने बाटो पहिल्याउँछ, आफन्त तथा नजिककाहरूतर्फको मायालाई तीव्र पार्दछ र सह–अनुभूति (एम्पेथी) ले नकारात्मक प्रतिस्पर्धी भावनाहरूलाई जित्दछ । शहरी कामकाज र दैनिकीको दौरानमा उब्जने दबाबपूर्ण सोच र अरूलाई होच्याउने गिराउने प्रवृत्तिबाट ‘डिटोक्सिफाई’ हुन पनि एक्लो हिंडाइको दिमाग धुलाइ उचित छ । त्यसैले, खुशी खोज्न ‘एकल पैदल’ नै सर्वोत्तम भन्ने मेरो दाबी हो यहाँ ।
हाम्रा प्राग्–ऐतिहासिक (प्रि–हिस्टोरिक) पूर्वजहरूले धेरै पैदल यात्रा गर्नुपथ्र्यो, उपयुक्त मौसम र शिकार, अनाज, सुरक्षा आदिका कारण । यस क्रममा एक्लै यात्रा गर्ने प्रवृत्ति मानव संस्कृति र मानवशास्त्रीय विकासको बाटो भयो । एक्लै हिंड्ने बानीले ‘ब्रेन एक्टिभिटी’ बढाउनुको कारण मानव मस्तिष्क अन्य म्यामल जनावरभन्दा विकसित हुनपुग्यो । यसैकारण पनि वर्तमान युगका मानवलाई एक्लो हिंड्दा आनन्द आउने हो, किनकि यो क्रियाकलाप उसको उत्पत्तिसँग सम्बन्धित छ । र यो पनि धेरै कारणमध्ये एक होला कि नेपाली नागरिक सन्तुष्ट र सौम्य पाइन्छन्, तुलनात्मक रूपमा यहाँ जीवनयापनका लागि धेरै एकल यात्रा गर्नुपर्छ ।
मानव भनेको मस्तिष्क हो । मस्तिष्क जब दगुर्न थाल्छ, सन्तुष्टि, खुशी, रमाइलो जे भन्नुस् त्यहीवेला प्राप्त हुन्छ । कसैले यो सन्तुष्टि संगीतबाट लिन्छन्, कसैले पुस्तक पढेर । कसैले चित्र कोर्दा यस्तो सन्तुष्टि पाउँछन् त कसैले रमणीय दृश्य एकटक भई हेर्दा । यस्ता सब क्रियाकलापबाट म पनि खुशी लिन्छु । तर, सबैभन्दा बढी खुशी लिन्छु– लामो र एक्लो पैदल यात्राबाट ।
या ‘लिने गर्थें’ ! १२ वर्षअघि ‘राउण्ड अन्नपूर्ण’ ट्रेकबाट मनाङ–लमजुङको बाटो झ्र्ने क्रममा म दुर्घटनामा परें । अझ् भनौं मैले दुर्घटना निम्त्याएँ (दुर्घटनालाई के दोष दिनु !) । स्याँगेको झेलुङ्गे पुलबाट मर्स्याङ्दी तरेर भिरालो बाटो बाहुन डाँडातर्फ जाँदैथिएँ । बर्खाको समय, चिप्लो बाटो, हतारे बानी, दिमाग शायद अर्कै ग्रहमा सफर गर्दै थियो— भीरबाट खसिहालियो । तीन रात लिलीभीरमा अड्केर बसें, तर परिवार, आफन्त, शुभचिन्तक, साथीभाइ तथा त्यहीं भारी बोक्दै आइपुगेका लोकबहादुर लामा र अन्यको सहयोगबाट ‘पुनर्जीवन’ पाएँ ।
एक्लो पैदल यात्रा गरेर परिवार र साथीसँगिनीलाई ‘फेरि यो कता गएर लड्ने हो’ भन्ने पीरको भारी बोकाउने कुरै भएन दुर्घटना पश्चात् । तसर्थ एक दशक भयो लामो दूरीको एकल पदयात्रा नगरेको मैले, तर ‘हाइपोथेसिस्’ जहाँको त्यहीं छ । आजै पनि म भन्छु, खुशी खोज्नु छ भने भारी बोक्नुस् र थाल्नुस् हिंड्न । सक्दा त एक्लै राम्रो !