रमझमसोमबार, आश्विन २८, २०७०
गीतका रत्न
गीतको आफ्नै छन्द हुन्छ
गीतको आफ्नै गन्ध हुन्छ ।’
प्रशिद्ध थापाको गीतप्रतिको अवधारणा हो यो । वि.सं. १९९६ मा काठमाडौंको कमलपोखरीमा जन्मेका थापा त्यस्ता गीतकारमा पर्छन्, जसले अहिलेसम्म तीन हजारजति गीत लेखे, तीन सय जति रेकर्ड गराए अनि कालजयी सर्जकमा दरिए । २०१८ सालमा ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…’, ‘विछोडको पीडा नसकी खप्न…’, ‘स्वर्गकी रानी…’ ‘आँखाको भाका…’ लगायत ६ वटा गीत रेकर्ड भएर रेडियो नेपालबाट बजेपछि उनी गीतकारको रूपमा स्थापित भएका थिए ।
गद्य र पद्य दुवैमा उत्तिकै सशक्त कलम चल्ने थापाको ओभानो सिउँदो (२०२०), रुझेका परेला (२०२६), चकलाभरीको घाम (२०३६) उत्कृष्ट कृति हुन् । यीमध्ये चकलाभरीको घाम कविता संग्रह हो । थापाले २०४२ सालमा गीति अल्बम दोभान र २०६० मा अर्को कविता संग्रह ताराका काँचा रङ प्रकाशित गरे । ‘जाग लम्क चम्क हे नौ जवान हो…’, ‘पन्छीमा राम्रो डाँफे…’ जस्ता राष्ट्रिय गीतका रचनाकार पनि थापा नै हुन् । उनलाई ‘पाँच दशक भन्दा बढी समयदेखि नेपाली गीत–संगीत र कविता लेखनमा निरन्तर लागेर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत’ मदन पुरस्कार गुठीले दुई लाख रुपैयाँ राशीको ‘जगदम्बाश्री पुरस्कार–२०६९’ प्रदान गरेको छ ।
२००९ सालदेखि लेख्न थालेका थापाले २०१४ मा राष्ट्रिय पुस्तकालयले आयोजना गरेको कार्यक्रममा ‘दुनियाँ बैगुनी…’ गीत गाएर स्वर्ण पदक जितेका थिए । कालान्तरमा उनी नारायणगोपाल, नातिकाजी, अम्बर गुरुङ, फत्तेमान, तारादेवी, प्रेमध्वज प्रधान, योगेश वैद्य, दीप श्रेष्ठ जस्ता गायक/संगीतकारहरूको गीतकार बने । बनिसकेको ट्यूनमा गीत लेख्न सक्ने उनी समान शक्तिको शब्द, गला र साज संयोजनबाट कालजयी गीत जन्मने बताउँछन् ।
अंग्रेजी साहित्यका स्नातकोत्तर थापाका अनुसार, गीतको ‘कोहोरेन्स’ मा ध्यान नदिंदा धेरै गीतकारका राम्रा गीतहरू पनि प्रभावहीन बनेका छन् । “अधिकांश युवा गीतकार दोस्रो लाइनमा पुग्दा संगति गुमाएर अर्कै सन्दर्भ भन्न थाल्छन्”, थापा भन्छन्, “तरेली र परेली मिलाए पनि भावभूमि फरक पर्दा गीतको कथा नै टुटिसकेको हुन्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
