समाचारसोमबार, आषाढ १८, २०६९

सत्तारुढ दलको संयुक्त बैठकमा बजेटबारे छलफल

रासस

प्रधानमन्त्री निवास बालुवाटारमा १८ असारमा बसेको बैठकले संविधान निर्माण, आर्थिक वर्ष २०६९/०७० को बजेट, निर्वाचनलगायतका विषयमा प्रतिपक्षी दलहरुलाई सहमतिमा आएर प्याकेजकै निकास निकाल्न तयार भए मात्रै समस्याको समाधान हुने निष्कर्षनिकालेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसी जनअधिकार फोरमका नेता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले विवादित सबै विषयमा प्याकेजमा सहमति खोज्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिए । संविधानसभाको स्वतः विघटन भएपछिको अवस्थामा सरकारले आगामी मङ्सिर ७ गते घोषणा गरेको निर्वाचनलाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिइएको थियो ।

संविधान निर्माणमा जहाँबाट असहमति भएको त्यहीँबाट सहमति खोजेर अगाडि बढ्नुपर्ने, पहिचानसहितको सङ्घीयतामा नेपाली काँग्रेस र नेकपा एमाले तयार भएमात्रै संविधानसभाको पुनः स्थापनाको विषयमा चलेको कुराकानीलाई पनि सकारात्मकरुपमा लिन सकिने अन्यथा निर्वाचन नै उत्तम विकल्प भएकोमा दुवै पक्ष सहमत भएको जानकारी मन्त्री यादवले दिए ।

बजेट राज्यको अभिन्न विषय भएकाले त्यसमा कोही कसैबाट अवरोध उत्पन्न गर्न नहुनेमा जोड दिँदै बैठकमा सरकारले बजेट निर्माणको प्रक्रियालाई अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको मन्त्री यादवको भनाइ थियो । छलफलमा समसामयिक राजनीतिक विषय र बजेट निर्माणको विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।

छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, सञ्चार मन्त्री यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सहअध्यक्ष एवम् भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महत्तोको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>