Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खुशीका इन्द्रेणी - Himalkhabar.com

टिप्पणीमंगलबार, आश्विन २९, २०७०

खुशीका इन्द्रेणी

केदार शर्मा

‘पूअर, बट ह्याप्पी !’
पश्चिमाहरू नेपालीलाई देखेर ‘गरीब भइकन पनि कति खुशी !’ भन्छन्, छक्क पर्छन् । आफैंलाई पनि थाहा छ, हामी सुखी हुन नसकेका अवस्थामा पनि मजाले खुशी हुन्छौं । हामीलाई खुशी हुन सानै निहुँ भए पनि पुग्छ । दिनभर वनतरुल खनेर हिंड्दाको आनन्दलाई कसैले पनि आफ्नो ज्यालासित हिसाब गरेर घटाउँदैन । अर्काका घरका कार्जेमा सघाउपघाउ गर्दा खेतीको काम सघाउन पर्म गए जस्तो कसैले गर्दैन । ‘टाइम इज मनी’ भनेर पश्चिमले समयमा टाँसेको मूल्यका अंक पढ्ने जाँगर चलाउने अहिलेसम्म पनि धेरै छैनन् । रीसारीसमा काटाकाट गरेका मान्छे पनि सामान्य शिरउठाउनी पछि सँगै बसेर कोदाको रसले मनको मयल पखाल्न सक्छन् । हामी वास्तवमै सजिलोसित खुशी हुन सक्छौं ।

तर हिजोआज यो आनन्दी र ‘गरीब भए पनि खुशी’ भनेर नाम कमाएको जातिमा ‘खुशी छु’ भन्न रुचाउने व्यक्ति घट्दै गए जस्तो देखिन थालेको छ । ‘के छ ?’ सामान्य हालचाल सोध्ने प्रश्न भुईंमा झ्र्न पाएको हुँदैन, जवाफ आउँछ, ‘खत्तम छ !’ अलि राम्रो जवाफ आयो भने त्यो यस्तो हुन्छ– ‘बाँचिएकै छ’ वा हदै राम्रो जवाफ आयो भने, ‘ठीक ठीकै छ ।’ त्यसो भए, हामी साँच्चै खुशी हौं कि दुःख मान्न नजानेर मात्र खुशी देखिएका हौं ? के हाम्रो खुशी अज्ञानता र अबोधपनको परिणाम मात्र हो ? महŒवाकांक्षी हुन नजानेर मात्र त खुशी देखिएका हैनौं हामी ?

वैदेशिक रोजगारीबाट फर्कंदै एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

‘खुशी’ का बारेमा लेख्न तम्सिएदेखि नै मेरो मनमा आफू गए–पुगेका नेपालभित्रका ठाउँ र देखे–भेटेका मान्छेहरूका चित्रका रीलहरू फन्फनी घुम्न थालेका छन् । भोगेका, थाहा पाएका घटनाहरू याद आउन थालेका छन् । कहिले हाम्रो जीवनदर्शनका प्रतिबिम्बका रूपमा रहेका गीत, कविता, कथा, उखान र कथनहरूको सम्झ्ना हुन्छ । कहिले हाम्रा धार्मिक विश्वास र प्रचलनमा लुकेका खुशीले शिर उठाएर अनेक विरोधाभासका बीचमा बाँचिरहेका, म लगायतका व्यक्तिलाई आफ्नो अस्तित्व देखाए झैँ लाग्छ ।

म कहिले बजारले बेच्न राखेका खुशीयालीका थाक र लस्करबाट केही किनेर अनि कहिले त्यसको रमझ्म मात्र हेरेर रमाएको छु । म कहिले दोहोरीमा, मेलापातमा र मन्दिरहरूमा खुशी भएको छु । लोकगीतहरूमा खाँदिएको विरह, सारङ्गीको विलौना, हाम्रा लोककथाका नायक–नायिकाको सुख–दुःख, हर्क–बिस्मात्, हाम्रा उखान र कथनहरूका विभिन्न रस र रङहरूमा पनि खुशी अनुभव गरेको छु । कहिले भाग्यवादी भएर ‘लेखेको पो पाइन्छ, देखेको कहाँ पाइन्छ र ?’ भन्दै खुशी भएको छु ।

कहिले ‘रोइरहनुभन्दा गाइरहनु जाती’ भन्दै कर्मवादी भएको छु र अर्कालाई अर्ति पनि दिएको छु, ‘भाग्य छ भन्दैमा डोकामा गाई दुहेर हुन्छ र ?’ कहिले परलोकमा विश्वासै नगरे झैँ आफू मरेपछि हुने राजालाई ‘वाल’ दिइनँ, कहिले ठ्याक्कै त्यसको उल्टो, ‘गर्भ र स्वर्गको बात कसलाई थाहा र ?’ भनेको छु । कहिले पीरलाई गीत बनाएर उडाइदिएको छु, ‘कुन दिनमा पोखरा झ्रियो, रुँदारुँदै फेवाताल भरियो !’ म नेपाली, खुशी मेरो स्वभाव हो । म ‘बाँचिएकै छ’ भन्दै भए पनि, ‘सबै खत्तम छ’ भन्दै भए पनि र जसरी भए पनि खुशी हुन प्रयासरत छु ।

राष्ट्रिय खुशी, राष्ट्रिय पीडा

हामी आफ्नो राष्ट्रियतामा अत्यन्त र कहिलेकाहीं त अस्वाभाविक रूपमा गर्व गर्छौं । लाग्छ, राष्ट्र हाम्रो पहिलो प्राथमिकतामा पर्छ र राष्ट्रका खुशी मात्र हाम्रा खुशी हुन् । भगवान् मानिएका गौतम बुद्धमा समेत हामीमध्ये धेरै धार्मिक वा अध्यात्मिक होइन, राष्ट्रवादी अभिरुचि राख्छौं र त्यस्तै कुराबाट खुशी हुन खोज्छौं ।

तर व्यवहारमा हामी कम राष्ट्रवादी, बढी स्वार्थी छौं । साना–ठूला ढुकुटीसम्म पुगेका हाम्रा हातहरू अर्काको भागको अलिकति नलुछी फर्किए भने अचम्म हुन्छ । हामी आफूलाई नेपाली बनाउने र आफ्नो नेपालीपन धान्ने धेरै कुराप्रति सकारात्मक छैनौं । हामी देशको अवस्था आफ्नोभन्दा पनि खत्तम देख्छौं र आफ्ना बारेमा भन्दा बढी देशका बारेमा चिन्ता व्यक्त गर्छौं । हामी नेताजति सबै चोरैचोर र कर्मचारी जति सबै घुस्याहा भन्छौं । आफ्ना अक्षमताका लागि समाजलाई दोष दिन्छौं । ‘यो देशमा केही हुँदैन !’ जस्ता डरलाग्दा स्थायी गुनासा हामीसित धेरै छन् । हामी गुनासो गरेरै आफ्ना खुशी घटाउँछौं, दुःखी हुन्छौं र फेरि सुख खोज्न थाल्छौं ।

सुखकै खोजीमा हरेक दोस्रो नेपाली विदेशिन चाहन्छ । विदेशीहरूलाई स्थायी बसोबास गर्न दिने देशमा पुगेको नेपाली सितिमिति फर्किन चाहँदैन । कोही फर्किइहाल्यो भने पनि अरूले उसलाई उल्लू सावित गर्छन् । देशमा केही विपरीत नभई, निधारभरि टीका लगाएर विदेशिएको नेपाली ‘असाइलम’ का लागि प्रयास गर्छ र शरणार्थी हैसियत पायो भने फेसबूकका भित्तामा सार्वजनिक बधाई ग्रहण गर्न अग्रसर हुन्छ । कहिलेकाहीं लाग्छ, खुशीका लागि संसारभर दौडिने नेपाली जति असन्तुष्ट र दुःखी संसारमा अर्को जात छैन ।

तर यो निष्कर्ष पूरै सही होइन । खुशी खोज्ने यो अलि नयाँ तरीका मात्र हो । उपभोक्तावादले विश्वव्यापी बनाएको असन्तुष्टिको प्रभाव हो । नेपाली जहाँ गए पनि, जहाँको नागरिक भए पनि खुशी हुने प्रयास उसरी नै गरिरहने जाति हो । एउटा नेपाली चाड आओस्, देश विदेशमा बसेका सबै नेपाली भ्याए पाएसम्म मस्त हुन्छन् र हाँसखेल गर्न थाल्छन् । जहाँ बसे पनि नेपालीका फेसबूकका फोटा हेर्दा देखिने स्वभावमा आधारभूत अन्तर छैन ।

रगतको रङ, खुशीको रङ

खुशीका रङहरू खोज्ने क्रममा एक दशकभन्दा बढी समय कटकटिएको रगत पखालेर हेरौं त, कस्तो देखिन्छ ?

सबैलाई थाहा छ, सशस्त्र द्वन्द्वका नाममा नेपाली नेपाली बीच घिनलाग्दो वैरभाव मच्चियो । लडाइँमा लागेका लडाकू र सैनिक त एकअर्काका दुश्मन थिए, तर उनीहरूको चेपुवामा जोगिन खोज्नेहरूका दुवैथरी दुश्मन भइदिए । मेला–पर्व र जात्रा खिइँदै गएर कति ठाउँमा त बन्द नै भए । चाडबाडहरू रित्ता भए, मान्छेहरूको आउजाउ पातलियो । सम्साँझ्ै मध्यरातको नीरवता फैलिन थाल्यो । शंका र त्रास व्याप्त त्यसवेला लाग्थ्यो, नेपालीका हाँस्ने दिन सकिए ।

तर अचम्म भयो । बन्दूक बिसाउने बित्तिकै, थिचिराखेको स्प्रिङ छाडिदिए जस्तै सबै कुरा पुरानै चालढालमा फर्किन थाले । लडाकूका नाइकेहरूले समेत सरकारी सुरक्षाबलका जवानहरूको सुरक्षा सेवा रोजे । बन्दूक बोकेकाहरू आ–आफ्नो कर्तव्यपथमा लागे, कसैले कसैसित साटो फेरेन, ईबी देखाएन । खुशीको यो रङमा पनि हाम्रो आनन्दी संस्कार छ । कसूरदारहरूलाई कारबाही गरेको भए यो रङमा अझ् चमक थपिन्थ्यो र हामी मेलमिलापको उच्चतम अवस्थामा पुगिसकेका हुन्थ्यौं । हामी अहिले नै, झ्ण्डै झ्ण्डै, हाम्रा राष्ट्रकविले कल्पना गरेको अवस्थामा छौं ।

न शत्रु कोही न त राग द्वेष
होस् धर्तिमा प्रीति र शान्ति शेष
नाचौं र गाऔं अनि फेरि यस्तो
बजेन कैल्यै रण–भेरि जस्तो

यो धर्ती नाच्ने अनि गाउने हो
यो पिर्ती मान्छेसित लाउने हो । (धर्तिमाता)

हाम्रा गोडा नेपालको अप्ठ्यारो भूभागमा छन् र आँखा पलकभरमा संसार देखाउने काँचका पर्दाहरूमा । हामी बाँचेको यथार्थ र हामीले टेलिभिजन र कम्प्युटरका पर्दामा देख्ने संसारका बीचमा गहिरो खाडल छ । हामी लोकतन्त्र खज्मजिएको र अर्थतन्त्र अल्मलिएको देशका नागरिक हौं जो विश्वभरका राम्रा, रमाइला र सुखपूर्ण समाज हेरिरहेका छौं । हामीलाई पनि ती सुखहरूको भोग गर्न मन लाग्छ अनि त्यता लाग्छौं । आफ्नो घर, परिवार, समाज छाडेर र कहिलेकाहीं त ज्यान नै जोखिममा पारेर समेत बाहिरिएका मान्छेलाई जान नचाहने वा जान नसक्नेका मापदण्डबाट हेरेर आलोचना गर्नु उचित हुँदैन । खोजेको सुख हो, पाए राम्रो, नपाए ‘कर्मै यस्तो’ भनेर चित्त बुझउन पनि जानेकै छौं ।

खुशीका तीन रङ

खुशीलाई केलाउँदै जाँदा यसका तीन वटा मूल रङ देखिन्छन् । खुशीका प्राथमिक रङहरूमध्येको पहिलो दैहिक सुखको रातो रङ हो, जसलाई अहिले बजारमा सबभन्दा सजिलोसित किन्न पाइन्छ । इन्द्रियहरूले राम्रोपन अनुभव गर्न पाउँदा सबैलाई खुशी लाग्छ । राम्रा दृश्य हेर्न पाउँदा रमाइलो लाग्छ, सुगन्ध र स्वादहरूको आस्वादन गर्न पाउँदा आनन्द हुन्छ । छालाले गर्मीमा शीतलता र जाडोमा न्यानोपन अनुभव गरोस्, शरीरले नरम कपडा, सुकोमल हातको स्पर्श पाओस् । इन्द्रिय सुखहरू प्राप्त होऊन्, मान्छे खुशी हुन्छ ।

खुशीको दोस्रो रङ अहम् तुष्टिको रङ हो, यसलाई सुन्तला रङ माने हुन्छ । आफूलाई हेरेर अरूलाई लोभ लागोस्, कताकता आरिस लागोस्, अरू पनि आफू जस्तै बन्न चाहून् तर नसकून् । आफ्नो रूप, योग्यता, क्षमता, सम्पन्नता आदिबाट धेरै मानिस प्रभावित होउन्; आफ्नो विशिष्टता सदैव कायम रहोस् । अरूले आफूलाई, वरिष्ठ, माननीय, सम्माननीय, हिरो र सेलिब्रिटी मानून् । आफ्ना सन्तान आफूभन्दा असल, सफल र सन्तुष्ट होऊन् । आफ्ना सिर्जना, कला–गला र कौशलको सर्वत्र तारिफ होस् । यसबाट मान्छेको अहम्ले चरम सन्तुष्टि पाउँछ । मान्छे खुशी हुन्छ ।

तर समग्र जीवन अर्कालाई लोभ लाग्ने खालको बनाउन गाह्रो छ । त्यसैले यस रङमा पनि बजारले कब्जा जमाउँदै गएको छ । पैसाबाट अर्कालाई लोभलाग्दो घर बनाउन सजिलो हुन्छ । अर्कालाई आरिस लाग्ने गाडी किन्न पनि सकिन्छ । बजारमा पाइने वस्तुहरू जुटाएर अहम्को तुष्टि लिने प्रचलन बलियो हुँदै गएको संसारमा इन्द्रेणीको दोस्रो रङ पनि जुटाउन साह्रै गाह्रो छैन ।

खुशीको तेस्रो रङ पहेंलो हो र यसको स्वभाव आत्मिक छ । यसले आफूबाट अर्काले अलिकति भए पनि खुशी पाओस्, अरूको दुःख मेटाउन आफू कतै न कतै, कुनै न कुनै रूपबाट काम लागियोस् भन्ने ठान्छ । आफ्ना क्षमता अर्कालाई चकित पार्न र इष्र्या जगाउन होइन, सुखी बनाउने काममा आऊन् भन्ने सोच्छ । कतिपय अवस्थामा अहम् तुष्टिका लागि सिर्जना गरिएका सुन्तला रङहरू पनि बिस्तारै पहेंलोमा फेरिन थाल्छन् । आफ्ना गीत अर्काले गुन्गुनाउन् र खुशी होऊन् । आफ्ना कुरा सुनेर अर्काको जीवनमा खुशी र सुख थपियोस् । यसबाट मान्छेको अन्तरात्माले सन्तुष्टि पाउँछ । अनि मान्छे मात्र होइन, मानवता नै रमाउँछ ।

यी तीन रङका खुशीहरू विभिन्न परिमाणमा मिसिन्छन्, विभिन्न तीव्रताका प्रकाशबाट आलोकित हुन्छन् अनि तयार हुन्छ खुशीयालीको मनमोहक इन्द्रेणी । हामी यही इन्द्रेणी निर्माणमा व्यस्त छौं, मस्त छौं र सन्तुष्टि पनि यहीं खोजिरहेका छौं । हामी खुशी छौं र खुशीलाई बढाउँदै, मिलाउँदै सुख निर्माण हुन्छ भन्नेमा विश्वस्त छौं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>