खेलकुदबुधबार, आश्विन ३०, २०७०

जहाँ सिंगो देश खुशी हुन्छ

हिमालखबर

– रामेश्वर बोहरा

दक्षिण एशियाको सर्वाधिक ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसीप– २०१३ को २० भदौ २०७० मा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २–१ गोलले पराजित गर्‍यो । दक्षिण एशियाको फूटबल शक्ति भारतलाई नेपालले पराजित गर्दा काठमाडौंको दशरथ रंगशालामा उपस्थित २० हजार दर्शकसँगै टेलिभिजनमा खेल हेर्ने लाखौं नेपालीको खुशी एकै पटक प्रकट भयो ।

नेपाललाई समूह विजेता बनाउँदै सेमिफाइनल पुर्याएको त्यो विजयमा सामाजिक सञ्जालबाट पनि नेपालीले खुशी पोखे । त्यसको दुई दिनअघि समूह चरणको दोस्रो खेलमा पाकिस्तान १–० ले अघि रहेको वेला अन्तिम दुई मिनेट बाँकी छँदा विमल घर्तीमगरले बराबरी गोल गर्दा पनि नेपालीमा त्यस्तै खुशी प्रकट भएको थियो ।

२० वैशाख २०७० मा एसीसी टी–२० कप क्रिकेटको सेमिफाइनल जित्दै टी–२० वल्र्डकप क्वालिफायरका लागि छानिएपछि नेपाली खेलाडी र समर्थक ।

२२ वैशाख २०७० मा बर्मुडामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ को उपाधि जितेर नेपाल डिभिजन–२ मा प्रवेश गरेको समाचार सुनेपछि हजारौं नेपाली खुशी बने । त्यो जितले नेपाललाई टेस्ट नखेल्ने एसोसियट राष्ट्रमध्येबाट वान–डे विश्वकप खेल्ने ढोकामा पुर्‍याएको थियो, जनवरी २०१४ मा न्युजिल्याण्डमा हुने विश्वकप छनोट चरण पार गरेमा । २१ चैत २०६९ मा काठमाडौंमा भएको एसीसी टी–२० कपको फाइनल पुग्दा पनि नेपालीमा त्यस्तै खुशी देखिएको थियो । त्यो सफलताले नेपाललाई टी–२० क्रिकेट वल्र्डकपमा पु¥याउन सक्छ, युएईमा कात्तिकमा हुने छनोट चरण पार गर्न सक्दा ।

खेलको व्यापकता

लम्बिंदो राजनीतिक संक्रमण, बढ्दो दण्डहीनता, महँगी, असुरक्षा र अन्योलले निराश नेपालीलाई खेलमा पाएको सफलताले थोरै भए पनि त्राण र उत्साह दिने गर्छन् । राष्ट्रिय झ्ण्डा अनुहारमा रंग्याएर सबै क्षेत्र, जाति, धर्म र भाषी नेपालीको खेलमा उर्लेको भीडले सामाजिक सद्भाव र राष्ट्रिय एकता पनि बढाएको देखिन्छ । फूटबल–क्रिकेट वा जुनसुकै खेलमा मैदानमा खेलाडी उत्रिने भए पनि उनीहरूको जित र हारसँग राष्ट्रको भावना जोडिने गर्छ । खेलाडीले जित्दा आम मानिस खुशी हुनु र हार्दा दुःखी बन्नु त्यही कारण हो ।

२० भदौ २०७० मा साफ च्याम्पियनसीपको समूह चरणको खेलमा भारत विरुद्ध गोल गरेपछि नेपाली खेलाडी र दशरथ रंगशालामा उर्लिएका समर्थक ।

मानवशास्त्री सुरेश ढकालको विचारमा खेलाडीहरूले समाज र राष्ट्रलाई प्रतिनिधित्व गर्ने हुनाले उनीहरूको जित र हारमा राष्ट्रले नै खुशी वा दुःख मनाएको देखिएको हो । अरू विषयले भन्दा खेलले धेरै मानिसको भावना बोक्ने हुनाले पनि खेलको सफलता वा असफलतामा राष्ट्र प्रभावित हुने उनको विचार छ ।

खुशी अभिव्यक्तिको माध्यम

१८–२६ भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसीप फूटबलमा नेपालले खेलेका समूह चरणका तीन तथा सेमिफाइनलमा दशरथ रंगशाला भरिभराउ हुनु र एउटै खेलको टिकट बिक्रीबाट रु.५० लाखभन्दा बढी उठ्नुले देखाउँछ, खेलसँग जोडिएको भावना । रु.५००–१००० दरका टिकट सकिएर हजारौं दर्शक फर्किएका थिए भने टिकट लिने भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । कालोबजारीमा रु.४००० तिरेर कैयौंले फूटबल हेरे ।

फूटबल, क्रिकेट र भलिबलका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न मैदानमा पुग्ने कलाकार, पेशाकर्मी, राजनीतिज्ञको संख्या ठूलो छ । दौरा सुरुवालमा ठाँटिंदै नेपाली झ्ण्डा बोकेर त्यस्ता खेल हेर्न पुग्ने गायक बद्री पंगेनी राष्ट्रियताको भावना र खुशी व्यक्त गर्न खेल हेर्ने गरेको बताउँछन् । “कलाकार भए पनि १० हजार मानिस अघि गीत गाउनभन्दा मलाई फूटबल खेल्न र अरू खेल हेर्न बढी मन लाग्छ” पंगेनी भन्छन्, “मेरो लागि खेल जस्तो मन रम्ने अर्को ठाउँ छैन ।”

विकसित मुलुकहरूले खेलमा लगानी बढाउनुमा राष्ट्रिय भावना जोड्न र खुशी दिन सक्ने भएकाले नै हो । यूरोपेली मुलुकहरूले फूटबल, भारतले क्रिकेट र चीनले सबै खेलमा धक फुकाएर लगानी गरेका छन् । मानवशास्त्री ढकाल खेलको लगानीले आर्थिक लाभ नदिए पनि राष्ट्रको प्रतिष्ठा र नागरिकको खुशी बढाउन सहयोग गर्ने बताउँछन् । खेलको महŒव खेलमा मात्र नभएर व्यापक र ठूलो मूल्यको हुने उनको भनाइ छ ।

आम मानिसलाई खुशी दिने खेलाडीहरू चाहिं मैदानमा उत्रिंदा मानसिक दबाबमा रहन्छन् । आफ्नो खेल र विजय÷पराजयले राष्ट्र प्रभावित हुने भएकाले खेलाडीको मानसिक अवस्था त्यस्तो भएको हो । नेपाली फूटबल टीमका कप्तान सागर थापा खेलसँग समर्थकहरूको भावना जोडिने हुनाले खेलाडी दबाबमा पर्नु स्वाभाविक भएको बताउँछन् ।

गृहयुद्धले जर्जर बनेको मुलुकलाई खेलले आशा र खुशी दिन सक्छ भन्ने पछिल्लो उदाहरण अफगानिस्तान हो । साफ फूटबलमा विजयी हुँदा अफगानिस्तानको सबै क्षेत्रमा खुशी प्रकट भएको थियो । खेलमा सफलता पाउँदा ओरालो लागेको अर्थतन्त्रले सकारात्मक बाटो समातेको उदाहरण पनि संसारका अनेकौं मुलुकमा देखिएका छन् । नेपाली खेल क्षेत्रमा सरकार र निजी क्षेत्रले पनि ठूलो स्तरको लगानी नगरेकाले अहिले यो बामे मात्र सर्दैछ । नेपाली खेलले अहिलेसम्म हात पारेको सफलतामा केही संस्था, व्यक्ति र खेलाडीको योगदान बढी रहेको देखिन्छ । खेलले नेपालीलाई आक्कलझुक्कल मात्र खुशी दिनुको कारण त्यही हो ।

मानवशास्त्री ढकाल खेलले निरन्तर सफलता पाउँदा मात्र नेपालीलाई दिगो खुशी दिन सक्ने बताउँछन् । त्यसका लागि राज्यले खेलमा लगानी बढाउनुपर्ने र व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको सुझव छ । राम्रो खेल्यौ भने राष्ट्रले गर्व गर्छ र सम्मान दिन्छ भनेर खेलाडीलाई बुझउन सक्दा राम्रो नतीजा आउने पनि उनको धारणा छ ।

नेपालले क्रिकेटमा टेस्ट मान्यताप्राप्त राष्ट्रहरूसँग र विश्वकप खेल्न शुरू गर्दा, फूटबलमा एशियाली स्तरको प्रतिस्पर्धा गर्न पाउँदा, आफ्नै देशमा त्यस्ता प्रतियोगिता आयोजना गर्दा र जित्दा नेपालीले कसरी खुशी मनाउलान् ? यो कल्पनाले नै सबैलाई खुशी बनाउँछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...