खेलकुदसोमबार, कार्तिक ४, २०७०

महिला फुटबल– सुर्खेतले उदयपुरलाई १० गोल हान्यो

हिमालखबर

नवलपरासीमा जारी एनसेल १५ औं राष्ट्रिय महिला फुटवल च्याम्पियनसिप २०१३ अन्तर्गत   सुनवलको किर्तिपुर खेलमैदानमा सुर्खेतले उदयपुरलाई १०–० को अन्तरले हराएको छ ।

४ कात्तिक दिउँसो भएको खेलमा सुर्खेतका तर्फबाट  गीता रानामगरले ६ गोल गरिन् । उनले खेलको शुरुको पाँच मिनेटमा पहिलो गोल गर्दै सुर्खेतलाई अग्रता दिलाएकी थिइन् ।

त्यस्तै सुर्खेतकी  बिमला राना, पुनम थापा,  ममता राई, सृजना सिंहले एक एक गोल गरे । खेललाई निरन्तर दबाबमा राखेको सुर्खेतले कमजोर टोली उदयपुरमाथि गोलको वर्षा गरिरह्यो ।

दोस्रो खेलमा कास्की जिल्ला सहभागी नभएपछि ताप्लेजुङ वाकओभर पाएर विजयी भएको छ । ५ कात्तिकमा बर्दीया र मोरङ बीच खेल हुँदैछ ।

काठमाडौंको फराकिलो जित
यस्तै हेटौंडामा भएको खेलमा एलिना शाहको ह्याट्रिकसँगै काठमाडौंले बिजयी शुरुवात गरेको छ ।

४ कात्तिकमा हेटौंडा–६ स्थित गौरीटार खेल मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले सप्तरीलाई  १२–० को भारी गोलअन्तरले पराजित गरेको छ ।

एलिनाले खेलको ७, २४, ६७ र ७० औं मिनेटमा गरी चार गोल गरिन् । त्यसैगरी बेबी गुरुङ र रबिना महर्जनले २÷२ गोल गरेका थिए । मुना तामाङ, लक्ष्मी लामा, अमृता राई र राधिका शाक्यले एक एक गोल आफ्नो नाममा लेखाए । शुरुदेखि नै काठमाडौंको दबाबमा रहेको सप्तरीले उत्कृष्ट प्रहारसम्म गर्न सकेन ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा मकवानपुर र दोलखाले २–२ गोलको बराबरी खेलेका छन् ।
आठौं मिनेटमै रश्मी तामाङको गोलबाट दोलखाले अग्रता लिएको थियो । खेलको ३३ औं मिनेटमा पाएको फ्रिकिकलाई सोझै गोलमा परिणत गर्दै मकवानपुरकी सुशीला अर्यालले खेल बराबरीमा पु¥याइन् ।

निकै प्रतिष्पर्धात्मक खेलको ५५ औं मिनेटमा बिनिता तामाङको गोलबाट दोलखाले फेरि अग्रता बनाएको थियो । ७६ औं मिनेटमा सुजिता भोम्जनले गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो

समय अभावका कारण खेल स्थगित गरिएको र भोली विहान पुनः खेलाइने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष ले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भोलीपनि दुईवटा खेलहरु हुने भएका छन् । पहिलो खेलमा बाँके र सुनसरी भिड्नेछन् भने दोस्रो खेलमा झापा र धनुषाबीच प्रतिष्पर्धा हुने बताइएको छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले उद्घाटन गरेका थिए ।

१५ औं राष्ट्रिय महिला फूटबल च्याम्पियनसिप नवलपरासी र हेटौंडा गरी दुई ठाउँमा भैरहेको छ ।

हेटौँडाबाट अशोकसुजन श्रेष्ठ र नवलपरासीबाट विद्रोही गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...