ब्लगबुधबार, कार्तिक ६, २०७०
शक्तिखोरमा शिक्षा शक्ति
उहिल्यैको कुरो, सौराहाको जङ्गलबाट निस्केको एउटा मत्ता हात्तीले वस्तीमा उत्पात मच्चाउन थालेछ । गाउँलेहरूले हात्तीलाई छेक्दै छेक्दै डरलाग्दो खोचमा पुर्याएछन् । खोचबाट उक्लन नसकेपछि समातिएको हात्तीले पहरोमा जोडले खुट्टा बजारेछ । त्यसरी हात्तीलाई बाँध्न सफल स्थानीयले त्यो ठाउँको नाम शक्तिखोर राखेछन् ।
हात्तीले बजारेको पाइलाको छाप शक्तिखोरको पहरोमा अझै छ भन्छन्– शक्तिखोर स्रोत केन्द्रका स्रोतव्यक्ति उद्धवप्रसाद आचार्य । स्थानीय विद्यालयका प्रधानाध्यापक र पछि स्रोतव्यक्तिको रूपमा शक्तिखोरमा २० वर्ष बिताइसकेका आचार्यले भने, “माओवादीले समेत आफ्नो सैन्यशक्ति यहींको खोरमा ल्याएर थुन्यो ।”
हात्तीको उन्माददेखि माओवादीको सैन्यशक्ति समेत थन्क्याउन सफल शक्तिखोरमा शिक्षाको शक्ति पनि विस्तारै फैलंदो छ । यसमा २०५८ सालमा खोलिएको चेपाङ (प्रजा) विकास छात्रावासको ठूलो भूमिका छ । त्यसअघि चितवनमा ‘प्रजा विकास कार्यक्रम’ को नाममा वर्षेनि रु.४ करोड आउँथ्यो ।
खेतीपाती, पशुपालन र आय–आर्जनका अरु इलमका लागि दिइएको पैसा विना उपलब्धि सकिन थालेपछि स्थानीय अगुवाहरूले सदुपयोगको आवाज उठाए । खाने अन्न र पढ्ने माहोल नभएकाले चेपाङ केटाकेटीको भविष्य सखाप भएको देखेका चर्तुमाला माविका प्रधानाध्यापक आचार्य, शक्तिखोर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमनारायण श्रेष्ठ लगायतले चेपाङको विकासका लागि शिक्षामा लगानी गर्ने प्रस्ताव जिविसमा पुर्याए ।
व्यवस्थित होस्टेल बनाएर निःशुल्क पढाउन सकेमात्रै चेपाङको भविष्य उज्यालो हुन्छ भन्ने उनीहरूको प्रस्ताव सदर भयो र चर्तुमाला उच्च मावि परिसरमै भवन बन्यो । त्यसरी स्थापना भएको छात्रावासमा अहिले ४० विद्यार्थीले निःशुल्क बस्ने र पढ्ने मौका पाइरहेका छन् ।
यो छात्रावासमा ५ कक्षा उत्तीर्ण गरेका जिल्लाभरका चेपाङ विद्यार्थी मध्येबाट छानेर राखिन्छ । टुहुरा, अपाङ्ग र अति विपन्न परिवारका केटाकेटी पहिलो प्राथमिकतामा पर्छन् । होस्टेलमा बसेर ६ देखि १० कक्षासम्म पढेका अधिकांश विद्यार्थीले राम्रो प्रगति गरेको होस्टेल इन्चार्ज खगेश्वरी चालिसेले बताइन् ।
होस्टेलमा मैले भेटेका धेरैजसो भाइबहिनीले भविष्यमा शिक्षक बन्ने सपना सुनाए । छात्रावासबाट अहिलेसम्म १२५ जनाले एसएलसी उत्तीर्ण गरेका रहेछन् । तीमध्ये धेरैजसो आ–आफ्नै गाउँमा शिक्षक बनेर शिक्षाको उज्यालो बाँडिरहेका छन् । केहीचाहिं वन विज्ञान पढेर रेन्जर र फरेस्टर भएका रहेछन् । जन्मजात वनका जानकार चेपाङहरू रेन्जर र फरेस्टर हुनु कति राम्रो कुरा !
शक्तिखोरका शिक्षाप्रेमी अगुवाहरूको पहलमा खोलिएको छात्रावास चेपाङ बालबालिकाको सुनौलो भविष्यको ढोका बनेको आँखाभरि देख्न पाइयो । घरको कमजोर आर्थिक अवस्थाले पढ्न नपाउने भाइबहिनी देशैभर छन् । विपन्न परिवार र समुदायका भाइबहिनीलाई शिक्षा बाँड्न शक्तिखोरको जस्तो छात्रावास देशभर खोल्नुपर्छ । त्यस्तो पहल गरेर लाखौं भाइबहिनीको भविष्य उज्यालो बनाउने शिक्षाप्रेमी अगुवाहरूको जय होस् !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
