टिप्पणीआइतबार, कार्तिक १०, २०७०

माओवादी शहर पसेपछि आफै घेरियो

chaitanya

राजधानीमा आयोजित एनसेल नेपाल लिटरेचर फेस्टिबलमा (दाँयाबाट) पूर्व मूख्यसचिव डा. विमल कोइराला, समाजशास्त्री डा.चैतन्य मिश्र र युग पाठक । तस्वीरः विक्रम राई/हिमालखबर

शहर भर्सेस गाउँ वा गाउँ भर्सेस शहर भन्ने अब रहेन । ५० वा ३० वर्ष पहिले जेलाई गाउँ भनिन्थ्यो त्यो अहिले गाउँ नै रहेन । तथ्याँक विभागले १७ प्रतिशत नेपालीलाई शहरीय भनेको छ । मेरो विचारमा यो फजुल तथ्याँक हो । शहर र गाउँ भनेको थलोको कुरा हो कि मान्छेको कुरा हो ? यदि मान्छेको कुरा हो भने १७ प्रतिशत भन्दा धेरै मान्छे शहरीय भइसकेका छन् । गाउँमा भएको युवाहरूको सपना पनि शहरउन्मुख छन् । गाउँलाई शहरसँग नजोडी गाउँको भविष्य छैन, गाउँ अब आफै उभिन सक्दैन ।

वामपन्थी राजनीतिज्ञहरूलाई नीजि लगानीप्रति ठूलो समस्या भएको थियो । तर ठूलो मात्रामा लगानी गर्न सक्ने भनेकै नीजि क्षेत्रले हो । हिजो कुनै पनि नीजि उद्योग स्थापना गर्ने बेलामा दरबारले कति प्रतिशत शेयर दिन्छस् भनेको कुरा त उद्योगीहरूले आफ्नै किताबमार्फत सार्वजनिक गरेका छन । तर अहिलेको अवस्था पनि त्यो भन्दा फरक छैन । अधिकाँश राजनीतिकर्मीले अहिले पनि हप्ता उठाउँछन्, ब्याज खान्छन् ।

गाउँहरु शहरको आकर्षण र आफ्नै बोझ थाम्न नसकेर कमजोर बन्दैछन् । शहरले शोषण गरेर गाउँ यस्तो भयो भन्नेको सुनिन्छ तर गाउँ आफ्नै बोझ थाम्न नसक्ने अवस्थामा रहेको कुरा कसैले गर्दैनन् ।

भर्खरै सार्वजनिक एउटा पार्टीको घोषणापत्रमा २४० क्षेत्रमा आदर्श गाउँ स्थापना गर्ने भनिएको छ । यो हावादारी कुरा हो । किनभने आदर्श गाउँ भनेकै शहर हो । जस्तो रोल्पा, भोजपुरमा बलियो शहर बन्ने हो काठमाडौं आउनै पर्दैन्थ्यो । राम्रो कलेज खुलेको भए पढ्न शहर धाउनु पर्ने थिएन ।

काँठ वा गाउँबाट शहर घेरेर विजय प्राप्त गरेको धेरै राजनीतिक इतिहास छ । विश्व इतिहासमै यस घट्ना धेरै छन् । मुगलहरूले गरेको घेराउ वा पृथ्वीनारायण शाहले गरेको घेराउ यसका उदाहरण हुन । तर एनेकपा माओवादी शहरमा आएपछि आफू पनि घेरियो । शहरमा आएपछि माओवादीको माओवाद चिलिम खायो । त्यस कारण शहरले घे¥यो माओवादीलाई । यो कुरा हामीले प्रत्यक्ष देख्यौं ।

शहरले माओवादीलाई कति घेरेछ भन्ने कुरा गत वर्ष हेटौंडामा सम्पन्न उसको महाधिवेशनको दस्तावेजमा मात्रै हेर्दा पनि पुग्छ । शहरले माओवादीलाई कति खाएछ भन्ने कुरा त्यहि दस्तावेजमा छ ।

माओवादीले शहर प्रेरित युवाको साथ पाएको हो । आफ्नो गाउँ छाडेर हात पाखुरा बजारेर खाने युवाको साथ पाए माओवादीले । उनीहरू नौलो जनवाद हासिल गर्न माओवादीमा लागेका होइनन् । घर छोडेर पाखुरा बजारेर खान्छु भन्ने युवाको साथ पाएको छ । कुनै सामुहिकताको वकालत गर्ने युवाको साथ पाएको होइन माओवादीले ।

माओवादी पनि पृथ्वीनारायण शाह जस्तै गाउँबाटै शहरमा पसेका हुन । तर माओवादीले बोकेर ल्याएको नौलोजनवादको सिद्धान्त नितान्त ग्रामिण सिद्धान्त होइन । कम्युनिष्टहरुले जे सिद्धान्त बोकेका छन् त्यसलाई ग्रामीण सिद्धान्त भन्ने हो भने गलत हुन्छ । यो नै विश्व इतिहासको निचोड हो ।

इन्नोभेसनको केन्द्र शहर मात्रै हो त भन्न सकिदैन तर शहर चाहिँ हो । गाउँमा नविनता हुँदै हुँदैन भन्ने त होइन तर त्यसको केन्द्र शहर नै हो । शहर विनीमयको केन्द्र हो । वस्तु विनीमयदेखि वित्तीय, शैक्षिक सबै कुराको केन्द्र शहर नै हो । राम्रा कलेज पनि शहर मै हुन्छन । जातपात छोडेर विवाह गर्ने चलन पनि शहरमा देखिन्छ । विभिन्न जाति, पेशामा छरिएका मान्छे पनि शहरमै बसेका हुन्छन् ।

गाउँलाई प्राकृतिक मात्रै नभएर आदर्शको केन्द्र हो भनेर कल्पना गर्ने साहित्य अझै पनि छ । सबै त होइन तर धेरै साहित्यकारहरू यस्तो कल्पना गर्नुहुन्छ । तर शहरमा विचार समेत एक्सचेन्ज हुन्छ । यो बहुलताको केन्द्र पनि हो । लोकतन्त्रको केन्द्र हो । व्यक्ति निर्माण हुने केन्द्र हो । त्यसकारण स्वाभाविक रुपमा यसले नविनतालाई पश्रय दिन्छ । विविध जातीको भार पनि शहर मै हुन्छ । गाउँ छाडेर शहरमा बसेको दलित र गाउँको दलितको अवस्था पक्कै फरक छ ।

शहरमा पनि पुरातनता छ । तर त्यो शहर नै हो जसले पुरातनताको विरोध गर्न सक्दछ । पुरातनताको विरोध जाइलाग्ने पनि शहरकै युवाहरू हुन । गाउँमा यसको औषधी छैन । शहर नै हो यसको औषधी ।

(राजधानीमा आयोजित एनसेल नेपाल लिटरेचर फेस्टिबलमा शहर र समृद्धि शीर्षकमा व्यक्त समाजशास्त्री मिश्रको मन्तब्यमा आधारित ।)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>