रमझममंगलबार, कार्तिक १२, २०७०

दुःखसँग नडराउ

हिमालखबर

लेखिका शीन क्युङ–सुक

दक्षिण कोरियाकी सेलेब्रेटी लेखिका शीन क्युङ–सुक (५१) को जीवनको १६ वर्ष युद्वग्रस्त मुलुकको अभावमा बित्यो ।
“दुःखसँग डराउनु हुँदैन”, युनिसेफको सदभावना दूत बनेर नेपाल आएकी शीनले भनिन्, “अहिले जुम्लाबासीले भोगिरहेको गरीबी र बेरोजगारी हामीले सन् १९५३ पछि भोग्यौं ।”

जुम्लाको २४ घण्टा खुला रहने प्रसूति केन्द्र र लैंगिक हिंसा विरुद्ध कार्यरत निगरानी समूहको कार्यले भने शीनलाई फरक किसिमले प्रभावित पार्यो । उनी नेपालगञ्जको एउटा बाल क्लवका सदस्यहरूबाट पनि निकै प्रभावित भइन् ।

“यहाँका मानिसले आफ्नो परम्परालाई जोगाइराखेको देख्दा औधी खुशी लाग्यो”, आफ्नो नेपाल यात्रा अनुभवबाट समृद्ध बनेको बताउँदै शीनले भनिन्, “तर, अर्कोतिर उनीहरू आधारभूत सुविधाबाट समेत वञ्चित भएको देख्दा दुःख लाग्यो ।”
असुविधाको सामना गर्दा मानवीय शाहस चाहिने बताउने शीन गरीबीका कारण बाबुआमाले हाइस्कूल पढाउन नसक्ने भएपछि १६ वर्षको उमेरमा दाजुहरूको पछि लागेर जेओल्ला प्रान्तबाट राजधानी सोल पुगेकी थिइन् । त्यहाँ उनी रात्रि स्कूल भर्ना भएर दिनभर कारखानमा काम गरिन् ।

बहिनी भएको हुनाले खाना बनाउनेदेखि डेराको सरसफाइसम्मका काम स्वतः उनकै भागमा पर्थ्यो । यस्तो दुःखको बीचमा पनि उनले लेखक बन्ने चाहनालाई पालिरहिन् । नभन्दै, २२ वर्षको उमेरमा पहिलो उपन्यास प्रकाशित गर्न सफल भइन् उनी । शीनको उपन्यास ‘प्लिज लुक आफ्टर मम’ ले गत वर्षको मार्चमा ‘म्यान एशिया प्राइज’ जितेपछि उनको प्रसिद्धी कोरियाको चौघेरो नाघेर विश्वभर फैलियो । यो उपन्यास ३२ भाषामा अनुवाद भइसकेको छ ।

लेखनमा सधैं सीमान्तकृत आवाजहरूको प्रतिनिधित्व गराउन प्रयासरत रहने बताउने शीनले नेपाल बसाइका क्रममा देखेका र सुनेका कुराहरूबाट भविष्यको आफ्नो लेखन प्रभावित हुने बताइन् । अहिलेसम्म विरलै टेलिभिजन अन्तर्वार्ता दिएकी यी लजालु लेखिकाले अब कोरियाको लोकप्रिय टिभी कार्यक्रममा ‘हिलिङ क्याम्प’ मा नेपाल अनुभव सुनाउने छिन् । उनी भन्छिन्, “नेपालबारे धेरै मानिसले थाहा पाउनुपर्छ भन्ने मलाई लागेको छ ।”
छिरिङ डोल्कर गुरुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>