रमझममंगलबार, कार्तिक १२, २०७०

फर्माइसका वादशाह

हिमालखबर

‘वीरगञ्ज गहवाटोलका कुर्बान हवारी तथा उनका साथीहरू… ।’  एक दशक अघिसम्म विभिन्न देशी–विदेशी रेडियो स्टेशनको फर्माइसी गीत कार्यक्रममा सबैभन्दा बढी यो वाक्य बज्थ्यो । कुर्बान हवारीले यसरी लगातार ४० वर्षसम्म नेपाल, भारत, पाकिस्तान र श्रीलंकाका रेडियो स्टेशनहरूमा फर्माइसी गीत पठाएर इतिहास रचे ।

अहिले वीरगञ्जको ठाकुरराम वहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख रहेका ५३ वर्षीय हवारीको फर्माइसी सोख निकै चाखलाग्दो छ । दाजु सुलेमानले रेडियोका गीति कार्यक्रहरूमा फर्माइस पठाउन थाल्दा १२ वर्षका हवारी कक्षा ७ मा पढ्थे । दाजुले फर्माइस गर्दा भाइको पनि नाम हालिदिन्थे । यसरी रेडियोमा आफ्नो नाम सुन्न थालेका हवारीले अलि पछि छुट्टै पोष्टकार्ड र हवाइपत्र पठाउन थाले । त्यसरी अगाडि बढेको उनको फर्माइसी सोख कालान्तरमा नशा बन्न पुग्यो ।

उनले कुनै बेला रेडियो नेपाल, रेडियो खर्साङ, आकाशवाणी पटना, आकाशवाणी गोरखपुर, आकाशवाणी लखनउ, विविध भारती, अल इण्डिया रेडियो, रेडियो पाकिस्तान र रेडियो सिलोनमा दैनिक ५० वटासम्म गीतको फर्माइस पठाए । यस क्रममा उनले एक लाख भन्दा बढी पोष्टकार्ड पठाए, दुई दर्जनभन्दा बढी कलम खियाए । धेरै लेख्दा हात दुख्न थालेपछि हवारीले आफ्नो नामको पोष्टकार्ड नै छपाए, जसमा मिति र गीतको शीर्षक लेख्दा पुग्ने भयो । त्यो समयमा उनी एकैपटक तीन वटा रेडियो सुन्थे । अहिलेसम्म उनले २० वटा भन्दा बढी रेडियो किने ।

गीत–संगीत प्रतिको लगावका कारण हवारीले नेपाली र हिन्दीका प्रख्यात गायक–गायिकासँग भेटघाटको अवसर पाए । गायक–गायिकाहरू हवारीले नयाँ गीतलाई हिट बनाउन मद्दत गर्ने भएकोले उनीप्रति सद्भाव राख्थे । वीरगञ्जमै जन्मिएका प्रकाश श्रेष्ठ र मधु क्षेत्रीका गीतहरूलाई हिट बनाउने उद्देश्यले पनि बढी फर्माइस गरेको कुरा उनी लुकाउँदैनन् । रेडियो जगतको कहलिएको स्रोता भएकोले उनलाई जुनसुकै स्रोता सम्मेलनमा बोलाइन्थ्यो । गीत–संगीत र फर्माइसको चस्कामा हवारीले कतिसम्म गरे भने ३२ वर्षअघि आमाको निधन हुँदा पूरै परिवार शोकमा डुब्दा पनि उनले कोठाको एउटा कुनामा बसेर रेडियो सुनिरहे । “त्यो नै मेरा शोखको सबभन्दा नराम्रो क्षण रह्यो”, हवारी भन्छन् ।

हुन पनि, ४० वर्षको फर्माइसी यात्रामा उनले थुप्रै प्रशंसक र सम्मान पाए । उनको कोठामा विभिन्न स्टेशनहरूले उपहार दिएका रेडियो, गीतका सीडी र किताबहरू छन् । “पछाडि फर्केर हेर्दा मलाई सन्तोष केमा लाग्छ भने”, हवारी भन्छन्, “वीरगञ्जको वडा नम्बर– ११ मा पर्ने एउटा सानो गहवाटोललाई प्रशिद्ध बनाउनु मेरो उपलब्धि हो ।”

– बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>